कारोबार


कात्तिकभित्रै नारायणी नदीमा क्रुजको परीक्षण

कात्तिकभित्रै नारायणी नदीमा क्रुजको परीक्षण

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ५:२६,

सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी पानीजहाज)को परीक्षणयात्रा (टेस्ट ड्राइभ) यही (कात्तिक) महिनामा गरिने भएको छ।

सो क्रुजको नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।

भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा क्रुज निर्माण कार्य भइरहेको छ। क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार क्रुजको बाहिरी भागमा सिसा राख्न मात्र बाँकी रहेको छ। इञ्जिन जडान भइसकेको छ। भित्री भागमा कुर्सी, टेबल, भान्छा, बार बन्ने क्रममा रहेको छ।

शौचालयलगायतका अन्य निर्माणका काम पनि सम्पन्न भएको छ। विदेशी प्राविधिक टोली आउँदै गरेको भन्दै उनले यही महिनाको अन्त्यसम्ममा परीक्षणयात्रा गरी नोभेम्बरभित्र व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी गरेको बताए। क्रुजको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई निमन्त्रणा गरिने पनि उनले बताए।

प्रबन्ध निर्देशक कँडेलका अनुसार, क्रुजको भुइँतलामा ९०, पहिलो तलामा १०० जना बस्न मिल्ने सिट रहनेछन्। पहिलो तलाको अगाडिपट्टि र दोस्रो तलाको खुला ठाउँमा १५ जना उभिन मिल्नेछ भने पहिलो तलामा १० विशिष्ट व्यक्तिका लागि कुर्सी राखिनेछ। क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ।

क्रुजमा बिहानको खाजा खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन्। अपराह्न खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताए। प्रत्येक क्रुजिङ करीब तीन घण्टाको हुनेछ। काभ्रेघाटदेखि शुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भइसकेको छ।

क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताए। क्रुजसीपको सञ्चालनका लागि आवश्यक क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी हुनेछन्। दीर्घकालीनरूपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने कँडेलले बताए।

क्रुज जलप्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनपश्चात नर्वेजियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदी किनारमै निर्माण गरिएको हो। क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरिरहेको छ। क्रुजमा दुई इञ्जिन रहनेछन्। क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ।

क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो। यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ। क्रुजको अघिल्लो भागमा एकसिङ्गे गैँडाको टाउकोको आकृति हुनेछ। क्रुज निर्माणका लागि रु १५ करोड हाराहारी खर्च हुने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad