नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षको समेत साथ पाएको बर्तमान स्थिर सरकारले सीमासम्बन्धी समस्या समाधान गर्नैपर्ने बताए । उनले यो सवैभन्दा समस्या समाधानका लागि उत्तम समय भएकोले यसपटक सरकार चुक्न नहुने बताएका छन् ।
बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाटमा पौडेलले सीमा समस्या पुरानै मुद्दा भएपनि अहिले जस्तो स्थीर सरकार र सवै राजनीतिक शक्तिको साथ कहिल्यै नपाएको बताए । पौडेलले भने– ‘सीमाको समस्या धेरै पहिले देखि हो तर यो पटक हामी चुक्न हुँदैन। हामीले प्रधानमन्त्रीलाई भनेका छौ, तपाईले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ ।
दक्षिणतिर मात्र होइन नेपालको उत्तरी भागमा पनि सीमा विवाद छन् । आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौ । प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो । हामीले हेर्ने बेला आएको छ ।’
पौडेलले निजगढ विमानस्थल र फाष्ट्ट्रयाक सडक निर्माणलाई सरकारले गति दिन नसकेको भन्दै आपत्ती जनाए । उनले विमानस्थल बनाउने क्रममा आवश्यक मात्र रुख कटान गर्नुपर्ने पनि बताए ।
पौडेलले कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताउदै त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय गरेर अगाडि बढ्नुपर्नेमा जाेड दिए।
‘कार्यकर्ताको न्याय निष्पक्ष र पारदर्शी मुल्याङकन आवश्यक छ । यो पक्ष उ पक्ष होइन पार्टीलाई ठुलो मिसनमा अगाडि बढाउन अब कांग्रेसको कार्यकर्ता भएर काम गर्नुपर्ने बेला आएको छ । अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउछ,’ उनले भने ।

प्रतिक्रिया