नेपालकै पहिलो यातायात सुरुङमार्गको उद्घाटन गरिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिकोको उपस्थितिमा नागढुंगा सुरुङमार्गको उद्घाटन गरिएको हो।
निर्माण थालिएको झण्डै ७ वर्षमा २६ सय ८८ मिटर लामो सुरुङमार्ग अब आवतजावतका लागि तयार भएको छ। मुख्यसहित इभ्याकुएसन सुरुङ पनि निर्माण गरिएको छ।
उद्घाटन कार्यक्रममा पूर्वाधार विकासमन्त्री लम्सालले कुनै सम्बोधन गरेनन्। कार्यक्रममा जापानी राजदूत माएदा तोरु, जाइका अध्यक्ष अकिहिको र सचिव गोपाल सिग्देलले मात्र सम्बोधन गरेका थिए।
सुरुङमार्ग उद्घाटनसँगै पहिलो चरणमा आपत्कालीन सवारीसाधनहरु दमकल, एम्बुलेन्सलगायतलाई मात्र सञ्चालन अनुमति दिइएको छ।

नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्भारका लागि गत वैशाख १६ गते युसिन एआरटी जेभीसँग सम्झौता भएको थियो। युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हुन्। उक्त जेभीले १ अर्ब १० करोड ४० लाख रुपैयाँमा ५ वर्षसम्म सुरुङमार्ग सञ्चालन र व्यवस्थापन गर्नेछन्।
नागढुंगा उकालो र ट्राफिक जाम घटाउने उद्देश्यले सडक विभागले नागढुंगा सुरुङमार्गको सम्भाव्यता अध्ययन सन् २०१३ को फेब्रुअरीमा गरेको थियो।
वि.सं. २०७६ कात्तिक २८ गते यसको ठेक्का लागेको थियो भने २०८० वैशाख ३० गतेसम्म निर्माण सक्नुपर्ने म्याद थियो। तर कोभिड–१९ महामारी र स्थानीयको अवरोधका कारण पछिल्लो पटक २०८२ कात्तिक ८ गतेसम्म म्याद थपिएको थियो।

त्रिभुवन राजपथको सिस्ने खोला धादिङ–किसिपिडी काठमाडौं (नागढुंगा सुरुङमार्ग)को लम्बाइ २.६८८ किलोमिटर छ।
सुरुङमार्गभित्र सवारी गुड्नका लागि ३.५ मिटर चौडाइका २ लेनका सडक छ। त्यसको बीचमा १.५ मिटरको मेडियन र दुवैतर्फ ढलका लागि ०.५ मिटरको नालीको व्यवस्था छ।
सुरुङमार्ग प्रवेशका लागि पूर्वमा काठमाडौंतर्फ २.३०७ किलोमिटर र पश्चिममा धादिङतर्फ ०.५६५ किलोमिटरको एप्रोच सडक छ।
तस्बिरमा हेर्नुस्




























Shares

प्रतिक्रिया