ad ad

कारोबार


बुटवलमा प्रतिकिलो २ सयमा बिक्री हुँदै तरुल र सखरखण्ड

बुटवलमा प्रतिकिलो २ सयमा बिक्री हुँदै तरुल र सखरखण्ड

सुदीप भण्डारी
माघ १, २०७८ शनिबार ८:५९, काठमाडौँ

अघिल्लो वर्षको तुलनामा यस वर्ष बुटवलमा तरुल र सखरखण्डको आयात कम हुँदा मूल्य दोब्बरले बढेको छ। माघे संक्रान्तिको मौका छोपेर व्यापारीले तरुल र सखरखण्डको भाउ बढाएका हुन्।

बुटबल बजारको ट्राफिक चोक नजिक सात वर्षदेखि स्थानीय माया रानाले माघे संक्रान्तिको अवसरमा तरुल बेच्दै आएकी छन्। यस वर्ष भाउ बढी हुँदा निकै कम मात्रामा तरुल बिक्री भएको उनले बताइन् । ‘पोहर परार माघे संक्रान्तिको बेला तरुल धेरै नै विक्रि हुन्थ्यो। यस वर्ष निकै कम भयो,’ उनले भनिन्।
 

भारतबाट यस वर्ष तरुल र सखरखण्ड नआएकाले भाउ महंगो हुँदा विक्रि कम भएको रानाको भनाइ छ । ‘गत वर्ष तरुल सय रुपैयाँ किलो बेचिन्थ्यो । अहिले १ सय ८० रुपैयाँ हाम्रो आफ्नै पर्छ। दुई सय रुपैयाँमा बेच्न परिहाल्यो,’ उनले भनिन्, ‘भारतबाट आएको छैन यो यही पाल्पाको उत्पादन हो।’ 

बुटवलको कृषि उपज थोक बजार केन्द्रमा अघिल्ला वर्ष माघे सक्रान्तिको लागि १५ ट्रक जति तरुल र सखरखण्ड भारतबाट आउने गथ्र्यो। विगतका वर्ष जस्तो बुटवलको मण्डीमा शुक्रबार तरुलको थुप्रो देखिएन। 

कृषि उपज केन्द्रका तरकारी तथा फलफूल थोक व्यवसायी मोहम्मद याकुवले यस वर्ष ३ ट्रक मात्र तरुल भित्रिएको बताए । ‘भन्सारमा दोब्बर तेब्बर बढी राजस्व तिर्नुपर्छ। गत वर्ष प्रतिकिलो ३–४ रुपैयाँ तिथ्र्यौ । अहिले १०–१२ रुपैया तिर्नुपरेको छ,’ उनले भने, ‘व्यवसायीले घाटा हुने भएर तरुल ल्याएनन्। विगतका वर्षमा १५ गाडी सम्म तरुल सखरखण्ड झथ्र्यो।’

यस वर्ष दुई गाडी मात्रै तरुल आएको उनले बताए। ‘अरु लोकल मण्डीबाट धेरथोर गरेर ३ गाडी जति तरुल, सखरखण्ड आयो होला,’ उनले भने।

पछिल्लो पटक सरकारले आलु, प्याज, टमाटरसँगै तरुल र सखरखण्डमा पनि भन्सार दर बढाएको छ । जसकार कारण मूल्य महंगो भएको छ। आलु प्याज र टमाटर जस्ता बस्तुको आयात निरन्तर छ । तरुल र सखरखण्ड चाडबाड र विशेष अवसरमा विक्रि हुने भएकाले महंगो हुने गरेको बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुसालले बताए। 

नेपाल सरकारले बढाएको भन्सार शुल्कका कारण भाउ बढेको उनको भनाई छ। ‘यस वर्ष महंगो भएकाले उपभोक्ताले पनि तरुल र सखरखण्डप्रति चाख दिएका छैनन् । माग पनि छैन,’ उनले भने, ‘व्यवसायीले महंगो हुँदा विक्रि हुँदैन कि भनेर पनि धेरै मगाएनन्।’  

त्यस बाहेक कोभिडका कारण उपभोक्तासँग पैसा नहुनु, व्यवसायीमा पनि व्यापारप्रति उत्साह नभएको जस्ता कारणले पनि यस वर्ष तरुलको बिक्री घटेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .