ad ad

कारोबार


मेला महोत्सव स्थगित भएपछि व्यवसायी चिन्तित

मेला महोत्सव स्थगित भएपछि व्यवसायी चिन्तित

सुदीप भण्डारी
पुस २९, २०७८ बिहिबार १७:४२, काठमाडौँ

विगतमा कात्तिकदेखि चैत महिनासम्म विभिन्न ठाउँमा मेला महोत्सव आयोजना भइरहन्थे। २ वर्ष अघिसम्म रुपन्देहीमा पनि स्थानिय तह पिच्छे जस्तो मेला महोत्सव हुन्थे।

औद्योगिक उत्पादनको प्रचार प्रसार, व्यापार सँगै पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित मेला महोत्सवमा राष्टिय कलाकारहरुको समेत जमघट हुने गरेको थियो।

तर कोरोना संक्रमणको कारण गतवर्ष कुनै पनि ठाउँमा मेला महोत्सव हुन पाएन। अवस्था केही सहज भएको बेला यो वर्ष बुटवलमा १२ दिन जति औद्योगिक प्रदर्शनी तथा व्यापार मेला भयो। उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगर मैदानमा भएको मेलामा राम्रै सहभागिता थियो।

बुटवलपछि तिलोत्तमा र भैरहवामा पनि मेला आयोजना गर्ने तय भएको थियो। अन्य ठाउँका व्यावसायिक संस्थाहरुले पनि मेला महोत्सव आयोजना गर्ने योजना बनाएका थिए। तर पुनः कोरोना संक्रमण बढेको र सरकारबाट सूचना जारी भएकाले थप मेला महोत्सव नहुने भएको छ।

संक्रमण बढ्दै गएपछि पुस २५ गते कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन नपाउने लगायतका सिफारिस गरेको थियो। त्यसकै आधारमा गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयले पनि आदेश जारी गरे।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा बुधबार जारी सूचनाको बुँदा नम्बर ३ मा धेरै मानिस उपस्थित हुने गरि प्रशासनिक तथा सामाजिक प्रकृतिका कार्यक्रम नगर्ने नगराउने भनिएको छ। बुँदा ४ मा २५ जना भन्दा बढी उपस्थित हुने गरि कुनै किसिमको मेला तथा महोत्सवहरु नगर्ने नगराउने उल्लेख छ।

यो सूचना र बढ्दो कोरोना संक्रमणले मेला महोत्सव आयोजना गर्न ठिक्क परेका यहाँका व्यवसायिक संघ संस्था, तथा स्टलधनी व्यवसायीलाई निराश बनाएको छ।

तिलोत्तमा चेम्बर अफ कमर्सले मणिग्राममा माघ १३ गतेदेखि महोत्सव आयोजना गर्ने तय गरेको थियो। मेलाको लगभग ७० प्रतिशत तयारी सकिएको बेला स्थगित गर्नुपरेको मेला आयोजक तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसालले बताए। 

‘प्रचार प्रसार थालेर फिल्डमा सचिवालय राखिसकेका थियौं। स्टलधनीहरुसँग कुराहरु भइसकेको थियो। अब संरचना बनाउन बाँकी थियो’ उनले भने, ‘तीन सय भन्दा बढी स्टल राख्ने तयारी थियो। स्थगित गर्नुपर्यो।’

भैरहवामा माघ २६ गतेदेखि लुम्बिनी महोत्सवको आयोजना हुने तय भएको थियो। यो मेला पनि नहुने भएको छ।

बुटवलभन्दा माथि पाल्पाको नुवाकोटमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीले आयोजना गर्न लागेको खाना महोत्सव पनि स्थगित भएको छ। विगतमा २ वर्ष संगठनले बुटवलमा खाना महोत्सव गरेको थियो। यसपटक संगठनले ऐतिहासिक पर्यटकीय स्थल नुवाकोटमा माघे संक्रान्तिको अवसरमा एक दिने खाना महोत्सव गर्ने निर्णय गरेको थियो। 

‘हाम्रो सबै आन्तरिक तयारी भइसकेको थियो। १५ देखि २० वटा स्टल राखेर विभिन्न जातजातिका परिकार लगाउने योजना थियो’ संगठनका अध्यक्ष रामप्रसाद गौतमले भने, ‘विभिन्न झाँकी तथा कलाकारहरुको प्रस्तुती गर्ने सोचेका थियौँ गर्न सकिएन।’ 

बुटवलबाट १० किलोमिटर चुरेको माथि नुवाकोटगढी पर्दछ। अवस्था सहज भएमा वैशाख १ गते खाना महोत्सव गर्ने उनले बताए।

नवलपरासी पश्चिमको बर्दघाटमा बिहीबारदेखि सुरु हुने तय भएको मेला अन्तिम समयमा स्थगित भएको छ। कपिलवस्तु लगायतका जिल्लाका मेलाहरु पनि कोरोनाका कारण नहुने भएका छन्।

अवस्था सहज हुँदा कोरोनाका कारण समस्यामा परेका व्यवसायीहरु खुशी भएका थिए। मेला महोत्सव मार्फत आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्ने व्यवसायिक संस्थाको योजना थियो। फेरि संक्रमण बढ्दा उनीहरु चिन्तित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .