कारोबार


चालू वर्षमै ४१ जिल्लामा पुर्ण विद्युतीकरणः ऊर्जामन्त्री पुन

चालू वर्षमै ४१ जिल्लामा पुर्ण विद्युतीकरणः ऊर्जामन्त्री पुन

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ८:५८,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमै दाङसहित देशका ४१ जिल्लामा विद्युतीकरण गरिने बताएका छन्। उनले देशमा विद्युत् उत्पादनको मात्रा बढिरहेकाले देशका अधिकांंश जिल्लाका प्रत्येक गाउँबस्तीमा विद्युत् पु-याउने सरकारको लक्ष्य पूरा हुन लागेको बताए। ‘पहिलो चरणमा ४१ जिल्ला पूर्णरुपमा विद्युतीकरण गरिन्छ’, उनले भने, ‘आगामी वर्ष अरु थप जिल्लामा पनि विद्युतीकरण गरिने तयारी छ।’ मन्त्री पुनले विद्युत्सँगै सौर्य, बायोग्यासलगायत वैकल्पिक ऊर्जाका माध्यमबाट देशलाई उज्यालो बनाउने अभियानमा लागिएको बताए।

प्रेस संगठन दाङ शाखले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले हालसम्म केही विद्युत् भारतबाट आयात गरिए पनि आगामी वर्षदेखि भने निर्यातको चरणमा पुगिने जानकारी दिए। चालू आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धिदर पनि विद्युत्को सहज पहुँचकै कारण सम्भव भएको जिकिर गर्दै मन्त्री पुनले आगामी वर्षमा थप एक हजार मेगावाट विद्युत् मुख्य प्रसारण लाइनमा जोडिने हुँदा कृषि, ऊर्जा, पर्यटन र होटेल व्यवसायमा लगानीको थप बाटो खुलेको छ भने।

नेपालले भारत, बंगलादेश र चीनसँग विद्युत् बेच्ने सहमति गरिसकेकाले आउँदो १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरेर यी तिनै देशमा विद्युत् बिक्री गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि उनले जानकारी गराए सरकारले देशको भौतिक एवं मानवीय विकासका लागि बाह्य र आन्तरिक लगानी बढाइरहेको हुँदा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा छिट्टै पूरा हुने मन्त्री पुनले आशा व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad