ad ad

कारोबार


एनबी बैंक मर्जरः के सनराइजसँगको ८ महिनाअघिको सम्झौता नबिलसँग हुँदै छ?

एनबी बैंक मर्जरः के सनराइजसँगको ८ महिनाअघिको सम्झौता नबिलसँग हुँदै छ?

दीपक भट्ट
मंसिर २०, २०७८ सोमबार १३:८, काठमाडौँ

नेपाल बंगलादेश बैंक (एनबी) मर्जरमा जान पूर्ण तयार देखिएको छ। यसका लागि बैंकले मर्जर कमिटी नै बनाइसकेको छ। 

बैंकले मर्जरमा जान विदेशी लगानीकर्ताको तर्फबाट एम साह आलम सरवार, बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना, नेपाली सञ्चालक इन्द्रबहादुर थापा रहेको मर्जर कमिटी गठन गरेको हो। 

योसँगै एनबीसँग मर्जरमा जान दुई वाणिज्य बैंकहरु सनराइज र नबिल प्रतिस्पर्धामा देखिएका छन्। यतिमात्र होइन, सनराइजसँग गाभिन एनबीले आठ महिनाअघि सम्झौता नै गरेको खुलेको छ। 

तर अहिले नबिल बैंकले पनि चासो देखाएपछि उक्त सम्झौता ‘डिसमिस्ड’ हुने सम्भावना पनि बढेर गएको एनबी बैंक स्रोतले जनाएको छ। 

जे होस्, एनबी बैंक यिनै दुईमध्ये कुनै एकसँग गाभिनसक्ने र त्यसको लागि छिट्टै मर्जर सम्झौता हुने देखिएको छ।

एनबी बैंकको साधारणसभाले समेत मर्जरसम्बन्धी प्रस्ताव पास गरिसकेको छ। 

एनबीमा बंगलादेशको ‘इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एन्ड कमर्स (आईएफआईसी) बैंक’को करिब ४० प्रतिशत लगानी छ। 

आईएफआईसी ढाकाले उक्त सेयर बेच्ने चासो देखाएकाले पनि यो कुरा टुंग्याएर बैंकलाई मर्जरमा जान सहज हुनेछ। 

कसले किन्दै छ विदेशी लगानीकर्ताको सेयर? 
यो सेयर किन्न अहिले विशेष गरी दुई बैंकका दुई ग्रुप सक्रिय छन्। 

सनराइज बैंकमा लगानी रहेको दुगड ग्रुप र नबिल बैंकमा लगानी रहेको चौधरी ग्रुप यसको सेयर खरिद गर्न लागिपरेका छन्। 

यसको सेयर दुगड ग्रुपले लिएको खण्डमा सनराइजसँग मर्ज हुने सम्भावना छ भने चौधरी ग्रुपले लिए नबिल बैंकसँग मर्ज हुने सम्भावना रहन्छ। 

तर आईएफआईसीले सेयर खरिदबिक्री सम्झौता दुगड ग्रुपसँग नै गरिसकेको पाइएको छ। 

सनराइज बैंकका एक सञ्चालकले नेपालखबरसँग भने, ‘गत अप्रिल २ अर्थात् ८ महिनाअघि नै सेयर खरिदबिक्रीसम्बन्धी लिखित सम्झौता गरेको हो।’

त्यसपछि मात्रै गत असारमा आईएफआईसीले सेयर बिक्रीसम्बन्धी सूचना निकालेको उनको भनाइ छ। 

ती सञ्चालकले भने, ‘हामीसँग सम्झौता भएपछि मात्रै अर्थात् प्रक्रिया पूरा गर्न सेयरबिक्रीको सूचना निकालिएको थियो।’

सम्झौता गरे पनि सेयर बिक्रीमा आलटाल 
अहिले भने सेयर बिक्री गर्न आलटाल गरिरहेको छ। त्यसको सम्झौताअनुसार अघि बढ्नसकेको छैन। 

असारमा आईएफआईसीले ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर बिक्रेता राखेको थियो। यो सेयर साढे ५ अर्ब नेपाली रुपैयाँबराबरको हो। 

एनबी बैंकले यो सेयर बिक्रीका लागि असार अन्तिममा ३५ दिन म्याद राखेर सूचना निकालेको थियो।

जुन सेयर दुगड ग्रुपले किन्नको लागि लिखित सम्झौता नै भएको पाइएको छ। 

सम्झौतापछि यही सेयर खरिदको लागि नबिल बैंकले समेत चासो दिएको थियो। 

नबिल बैंकको लगानीकर्ता चौधरी ग्रुपले सेयर खरिदको लागि चासो दिएपछि त्यो सेयर अहिलेसम्म खरिदबिक्री भएको छैन। 

निर्णायक मर्जर कमिटी 
तर यस सेयर खरिदबिक्री तथा मर्जरमा अहिले निर्णायक बनिरहेको छ– एनबी बैंकको मर्जर कमिटी।  

यही कमिटीले कुन ग्रुपलाई सेयर बिक्री गर्ने र कुन बैंकसँग मर्जर गराउने निर्णय गर्न नसकिरहेको देखिएको छ।  

आईएफआईसी र दुगड ग्रुपबीच ८ महिनाअघि नै सेयर खरिदबिक्री सम्झौता भए पनि अहिले मर्जर कमिटी भने नबिल बैंकतिर रहेको देखिएको छ। नबिल बैंकको राम्रो सूचक रहेको र राम्रो स्वाप रेसियो समेत दिने आश्वासन दिएपछि मर्जर कमिटी नै नबिलतिर ढल्किएको हो। 
तर दुगड ग्रुपले पनि मर्जको ताकेता भने छोडेको छैन। 

एकातिर सिर्जना फाइनान्स प्राप्ति रद्द भएपछि सनराइज बैंकलाई राष्ट्र बैंकले चाँडोभन्दा चाँडो मर्जरमा जान दबाब बढाइरहेको छ। 

सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सहमति गत वर्ष नै रद्द भएको थियो। 

सनराइजलाई मर्जरमा जानु बाध्यता नै छ। अर्को सनराइजलाई बैंकका तातेड ग्रुप र दुगड ग्रुपबीच सञ्चालक समितिमा विवाद समेत छ। 

सोही कारण दुगड ग्रुप आफ्नो सेयर स्वामित्व बढाउन चाहन्छ। एनबीको सेयर खरिद गरेर मर्जरमा जान दुगड ग्रुपको तीव्र चाहना नै राखेको छ। त्यसअनुसारको ताकेता एनबीको मर्जर कमिटीमा पनि कायम राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .