इच्छाराज तामाङका परिवार र उनले खोलेका कम्पनीका नाममा करिब ९९ रोपनी जग्गा रहेको खुलेको छ।
परिवारका चार जना सदस्यको नाममा १२ रोपनी र उनका कम्पनीका नाममा ८७ रोपनी जग्गा रहेको खुलेको हो।
५ अर्ब ६७ करोड रुपैयाँ ठगी आरोपमा पक्राउ परेका तामाङले आफ्नो र कम्पनीको नाममा उक्त जग्गा राखेको सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको अभियोजन पत्रमा उल्लेख छ।
तामाङले आफ्नै नाममा भने थोरै जग्गा राखेको पाइएको छ। काठमाडौंको कीर्तिपुरमा ५७.३० वर्गफिट जग्गा इच्छाराजको नाममा छन्।
छोरी प्रतीक्षाको नाममा कीर्तिपुरमा एउटा घर र करिब २ रोपनी (९७२.६ वर्ग किलोमिटर)जग्गा रहेको पाइएको छ। अर्की छोरी प्रतिष्ठाको नाममा पनि कीर्तिपुरमा नै एउटा घर र १.३२ रोपनी जग्गा रहेको छ। १२ राेपनीमध्ये बाँकी जग्गा उनकी श्रीमती सिर्जना शाक्य तामाङको नाममा रहेको उल्लेख छ।
जिल्ला सरकारी वकिल कार्यालयले इच्छाराज, उनकी श्रीमती सिर्जना र दुवै छोरीविरुद्ध मुद्दा चलाउने निर्णय गर्दै दर्ता गरेको छ। उनीहरु सबैको नाममा रहेको जग्गालगायत सम्पत्ति रोक्का आदेश दिन पनि अभियोजन पत्रमा माग गरिएको छ।
बाँकी जग्गा सिभिल होम्स प्रालि, सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीको नाममा काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा रहेको पाइएको छ। सिभिल स्टे«ट प्रालिका नाममा काठमाडौंको सुन्धारामा करिब ६ रोपनी जग्गा रहेको छ।
यी सबै जग्गा बेचबिखनमा पनि रोक लगाउने आदेश दिन माग गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले गत शुक्रबार तामाङका परिवारका चार जनासहित ४२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
उनीहरुले १ हजार ५ सय ३ जनाबाट ५ अर्ब ६७ करोड बराबरको ठगी गरेको उल्लेख छ। सिभिल सहकारीका निक्षपकर्ताको रकम फिर्ता नगरेको उल्लेख छ। प्रहरीसँगको बयानका क्रममा पनि इच्छाराजले त्योभन्दा बढीको निक्षप रकम तिर्न बाँकी रहेको स्वीकार गरेका छन्। तर त्यो रकम आफूले नभएर कम्पनीले नै तिर्नुपर्ने उनको बयानमा उल्लेख छ।
उनले विभिन्न २२ वटा कम्पनी खडा गरेर कारोबार गर्दै आएका थिए। तर ती कम्पनीका नाममा सिभिल सहकारीबाट कर्जा लिएर कारोबार गर्ने र विना धितो ऋण लाने गरेको खुलेको छ।
कम्पनी पनि आफ्नै र सहकारी पनि आफ्नै भएका कारण धितोविनै कर्जा लिएको इच्छाराजको बयान छ।
२०५७ सालमा कम्पनी स्थापना गरेका इच्छाराज २०६७ सालसम्म ती सबै कम्पनीको अध्यक्ष थिए। इच्छाराज सिभिल बैंकको समेत सञ्चालक समितिको सदस्य भएको र दुवैतिर रहन नमिल्ने भएपछि केशवलाल श्रेष्ठलाई सिभिल सहकारीको अध्यक्ष बनाएका थिए। उनी भने विशेष सुविधा लिएर सल्लाहकारमा बसेका थिए।
वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठले आफू नाम मात्रको अध्यक्ष भएको बयान दिएका छन्। उनका अनुसार सहकारीको सम्पूर्ण निर्णय र व्यवस्थापन इच्छाराजले नै गर्दै आएका थिए।
यस्तै उनले सिभिल बैंकमा संस्थापक सेयर मात्रै ४ लाख ४६ हजार ६ सय कित्ता रहेको बताएका छन्। सरकारी वकिल कार्यालयले बाँकी सम्पत्ति खोज्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई निर्देशन दिएको छ।
जग्गा तत्काल रोक्का राख्न लगाए पनि अन्य सम्पत्ति खोजी भइरहेको सरकारी वकिल कार्यालयले जनाएको छ।
सिभिल सहकारीमा करिब २१ सय जनाको बचत रहेको इच्छाराजले बताएका छन्। बैंकका अध्यक्ष श्रेष्ठले ती निक्षपकर्ताको करिब ७ अर्ब जम्मा रहेको बताएका छन्।
उनीहरुले आफ्नै खातामा रहेको रकम पनि नपाएपछि सहकारीका सञ्चालक, पूर्वसञ्चालक र कर्मचारीविरुद्ध मुद्दा दायर गरेका थिए। अनुसन्धानमा अरु पनि संलग्न देखिएपछि थप व्यक्तिविरुद्ध मुद्दा चलाउने निर्णय भएको हो।
इच्छाराजका परिवार र कम्पनीका नाममा कहाँ कति छ जग्गा?
याे पनि -
Shares
प्रतिक्रिया