सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा ११७ वटा उद्योग स्थापनाको प्रस्ताव पेश गरिएको छ। विभिन्न प्रक्रियागत कारणले लामो समयदेखि अल्झिँदै आएको कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको काम स्थानीय सरकारको अग्रसरताले गति पाएको छ।
यहाँको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्रको काम अगाडि बढाउने क्रममा वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा राय सुझाव दिन सार्वजनिक सूचना जारी गरेको जानकारी दिए। वेदकोट नगरपालिका २ र ३ को राष्ट्रिय वनको करिब २६९।९३ हेक्टरमा औद्योगिक क्षेत्र स्थापना गरिने भएको छ।
“प्रतिवेदनमाथि राय÷सुझाव पेश गर्न मन्त्रालयले तीन दिनको समय दिएको छ”, नगरप्रमुख चन्दले भने, “सुझाव भए स्थानीय तहदेखि मन्त्रालयसम्म दिन सकिन्छ ।” दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भएको अढाइ दशकपछि स्थापनाको अन्तिम तयारीमा पुगेको चन्दको भनाइ छ।
औद्योगिक क्षेत्र स्थापनाको काम वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन, विस्तृत परियोजना प्रतिवेदन र विभिन्न कानुनी अड्चनका कारण ढिलाई हुँदै आएको थियो। स्थानीय तहको निर्वाचनपछि वेदकोट नगरपालिकाले औद्योगिक क्षेत्र निर्माणको कामलाई प्राथमिकताका साथ सुरुदेखि नै उठान गर्दै आएको छ।
“राय÷सुझाव आएपछि सरोकारवाल, विज्ञसहितको टोली बसेर छलफल गरेर अघि बढ्छ”, चन्दले भने, “त्यसपछि निर्माणको चरणमा प्रवेश हुन्छ ।” औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले प्रस्तावित क्षेत्रमा केही समयअघि सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत आयोजना गरेको थियो । औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि ३ सय ६२ आवेदन परेका थिए।
दैजी छेला क्षेत्रका स्थानीयवासीले औद्योगिक क्षेत्र स्थापनामा ढिलाई गर्न नहुने भन्दै स्थानीयबासीलाई रोजगारी, स्वास्थ्य सेवा लगायतका सुविधामा ध्यान दिनुपर्ने बताउँदै आएका छन्।रासस

प्रतिक्रिया