ad ad

कारोबार


नाडा अटो शोको स्टल दर्ता खुला, नयाँ के–के आउँदै छन्?

नाडा अटो शोको स्टल दर्ता खुला, नयाँ के–के आउँदै छन्?

अघिल्लाे नाडा अटाे शाेकाे झलक।


वसन्त अर्याल
मंसिर ३, २०७८ शुक्रबार १२:२३, काठमाडौँ

नाडा अटो शो २०२२ को लागि स्टल रजिस्ट्रेसन बिहीबारबाट खुला भएको छ। 

कोरोना महामारीका कारण २ वर्षपछि भृकुटीमण्डपमा हुनलागेको नाडा अटो शोको लागि स्टल रजिस्ट्रेसन (दर्ता) खुला भएको हो।  

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डपमा फागुन ९ देखि १४ गतेसम्म नाडा अटो शो हुने बताइसकेको छ। 

६ दिनसम्म चल्ने नाडा अटो शोमा आफ्नो स्टल राख्न चाहने अटो कम्पनीले मंसिर ६ गतेसम्म आफ्नो कम्पनी रजिस्ट्रेसन गर्नुपर्नेछ। 

नाडा अटो शोमा कम्पनी दर्ता भएपछि कुन ब्लकमा स्टल राख्ने विषयमा गोलाप्रथाबाट टुंग्याइनेछ।

कोभिड महामारीको कारण अटो शो गर्न नपाएको नाडाले ग्लोबल एक्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिस प्रा.लिलाई व्यवस्थापनको जिम्मा दिएको छ।

नाडाले हरेक वर्ष दशैँअघि नाडा अटो शो गर्दै आएको थियो। नाडा अटो शोमा वर्षभरिको कारोबारको करिब ४० प्रतिशतसम्म कारोबार हुने गरेको व्यवसायीले बताउँदै आएका छन्। तर कोभिड महामारीको कारण २०२० र २०२१ मा नाडा अटो शो नै आयोजना भएन। 

नाडाका अध्यक्ष कृष्णकुमार दुलालले दुई वर्ष हुन नसकेको अटो शोलाई ब्रान्डिङ गर्ने ऐतिहासिक अटो शो हुने बताए। 

‘कोभिडको कारण पछिल्ला दुई वर्षमा नाडा अटो शो गर्न पाएनौँ’, अध्यक्ष दुलालले भने, ‘यो पटकको नाडा शोलाई ब्रान्डिङ गर्छौँ।’

उनले नाडा अटो शोमा हेभी इक्विपमेन्टबाहेकका सबै कम्पनीको उपस्थिति रहने बताए। 

‘दुईपांग्रे र चारपांग्रे अधिकांश कम्पनीको उपस्थिति रहन्छ’, अध्यक्ष दुलालले भने, ‘अटो शोमा विद्युतीय गाडी आकर्षण हुनसक्छ।’

रेनो गाडीको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइल्स प्रालिका महाप्रबन्धक अधिर श्रेष्ठले नाडा अटो शो व्यवसायीको लागि उत्सव रहेको बताए। उनले सबै अटो कम्पनी एउटै ठाउँमा उपस्थित हुने र उपभोक्ताले प्रत्यक्ष रुपमा संवाद गर्न पाउने बताए। 

अटो शो २०२२ मा नयाँ प्रोडक्ट के हुन्छ?
नाडा अटो शो दशैँअघि हुँदा अधिकांश कम्पनीले नयाँ प्रोडक्ट ल्याउने गरेका थिए। नयाँ प्रोडक्टसँगै नयाँ स्किम समेत ल्याउने गरेका छन्। अधिकांश कम्पनीले दशैँ र तिहारमै नयाँ प्रोडक्ट ल्याएकाले नाडा अटो शोमा नयाँ मोडलका गाडी आउँछन् कि आउँदैन भन्ने अधिकांशको चासो छ। 

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २ वर्ष पछि हुनलागेको नाडा अटो शो भएकाले केही नयाँ प्रोडक्ट वा सर्भिस ल्याउने जानकारी दिएको छ।

‘२ वर्षपछि हुनलागेको नाडा अटो शोलाई आकर्षक बनाउन नयाँ केही त ल्याउँछौँ’, कम्पनीका अधिकारीले भने, ‘अहिले नै के आउँछ भन्ने टुंगो   छैन। नयाँ प्रोडक्ट वा सर्भिस ल्याउँछौँ।’

टाटाले नाडा अटो शोमा नयाँ स्किम पनि ल्याउने बताएको छ। 

हुन्डाई नेपालले नाडा अटो शोमा विद्युतीय नयाँ प्रोडक्ट ल्याउने जनाएको छ। हुन्डाईको विद्युतीय कोनाको फेस लिफ्ट मोडल आइपुग्ने कम्पनीले जनाएको छ। 

‘नाडा अटो शोमा विद्युतीय आयोनिक ५ विद्युतीय मोडलका गाडी भित्र्याउँछौँ’, मार्केटिङ एण्ड कम्युनिकेसन म्यानेजर सन्दिप शर्माले भने, ‘सप्लाई चेन सहज भए ७ सिटर अल्काजार ल्याउँछौँ।’

उनले भारतमा उत्पादन ढिलाइ हुँदा योजनाअनुसार नयाँ गाडी ल्याउन समस्या भइरहेको बताए। 

विश्वबजारमा चिप्स अभावले मागअनुसारको गाडी आयात नहुँदा दशैँ तिहारमा बुकिङ गरेका गाडी समेत डेलिभरी गर्नसकेका छैनन्। व्यवसायीहरुले अधिकांश गाडी भारतबाटै आयात हुन्छन्। दशैँ तिहारको समयमै भारतमा अत्यधिक खपत हुँदा बाहिर कम निर्यात भएका छन्। 

व्यवसायीले चाडपर्वको समयमा बुकिङ गरेकालाई २ महिनाभित्र डेलिभरी दिइसक्ने बताएका छन्। नाडा अटो शोमा बुकिङ हुने गाडीको लागि अहिलेजस्तो कुर्नु नपर्ने बताउने गरेका छन्। 

एडभान्स अटोमोबाइल्सका महाप्रबन्धक श्रेष्ठले भने रेनोले नाडा अटो शोमा नयाँ प्रोडक्ट ल्याउने सम्भावना कम रहेको बताए। उनले नयाँ प्रोडक्ट नआए पनि दशैँको समयमा भित्रिएका प्रोडक्टलाई नै शोकेस गर्ने बताए।

नाडा अटो शोमा नेपाल भित्रिएका नयाँ चिनियाँ कम्पनीका गाडी आकर्षणको रुपमा रहनेछन्। चेरी, ग्रेटवाल मोटर्स, चांगनलगायतका ब्रान्डको उपस्थिति रहनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .