राजनीति


फर्केर हेर्दा : एमालेको नवौं महाधिवेशनमा कसले कति मत ल्याए?

फर्केर हेर्दा : एमालेको नवौं महाधिवेशनमा कसले कति मत ल्याए?

नेपालखबर इन्फोग्राफिक्स


सागर न्यौपाने
मंसिर २, २०७८ बिहिबार १९:१, काठमाडौँ

नेकपा एमाले यतिबेला दसौँ राष्ट्रिय महाधिवेशनको संघारमा छ। यो महाधिवेशनले अध्यक्षसहित १५ पदाधिकारी निर्वाचित गर्दैछ।

नवौँ महाधिवेशनमा १४ पदाधिकारी थिए। त्यसबेला २८ नेताले उम्मेदवारी दिएका थिए। 

वरिष्ठ नेता माधवकुमार नेपालको समूहबाट उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्यले जितेका थिए। 

यस्तै उपमहासचिवमा घनश्याम भुसालले जितेका थिए। सचिव पदमा पनि नेपाल समूहकै गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्यले जितेका थिए।  

दसौँ महाधिवेशनमा आइपुग्दा माधव नेपाल छैनन्। तर, उनकै टिमका १० नेताहरु अझै एमालेमै छन्। उनीहरु दसौँ महाधिवेशनमा पनि उम्मेदवारी दिन आन्तरिक रणनीति बनाउँदैछन्।

उपाध्यक्ष रावल, भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य रघुजी पन्त पदाधिकारीमा उठ्ने तयारीमा छन्। 

नवौं महाधिवेशनबाट उपाध्यक्ष जितेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सचिव जितेका योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्यले अहिलेसम्म मुख खोलेका छैनन्।

उनीहरु अहिले अध्यक्ष ओलीसँग निकटता बढाइरहेका छन्। शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनिन् भने आचार्य पनि प्रदेश १ को मुख्यमन्त्री भएर बाहिरिइसकेका छन्। 

असार २७ को सहमति अनुसार एमाले २०७५ जेठ २ मा फर्केको भन्दै उपाध्यक्ष ज्ञवालीलाई कर्णाली प्रदेशको इन्चार्जमा फर्काइयो। यस्तै भट्टराई प्रचार विभाग प्रमुखमा कायम भए।

चितवनमा मंसिर १०–१२ सम्म हुने महाधिवेशनले पदाधिकारी १५ र २ सय ३५ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ।

अध्यक्ष, वरिष्ठसहित ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित केन्द्रीय सदस्य निर्वाचन गर्ने भएकाले यिनै नेताहरु उम्मेदवार बन्ने सम्भावना छ। 

महाधिवेशनमा सहभागिताका लागि देशभरबाट १९ सय ९९ प्रतिनिधि चयन क्रम अन्तिम अवस्थामा पुगेको छ।

यिनै प्रतिनिधिले एमाले हाँक्ने नयाँ नेतृत्व चयन गर्छन्। यही महाधिवेशनले देखाउनेछ, एमालेमै रहेर पनि शक्तिशाली बन्न नसकेका दस नेताहरुको शक्ति।

महाधिवेशनसम्म पुग्दा दस नेताहरु एकै ठाउँ हुने सम्भावना कमजोर हुँदै गएको छ। उनीहरुबीचमै एकरुपता नहुँदा यस्तो देखिएको हो। 

त्यसैले एमालेको दसौँ महाधिवेशनबाट आउने टिमबारे धेरैलाई चासो छ। 

सुरुमा नवौँ महाधिवेशनमा कसले कति मत ल्याएका थिए पहिला त्यसबारे चर्चा गरौँ।

नवौं महाधिवेशनमा अध्यक्षसहित ५ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ५ सचिव निर्वाचित भएका थिए।

नवौं महाधिवेशनबाट एमालेको अध्यक्षमा केपी शर्मा विजयी भएका थिए। 

माधवकुमार नेपाललाई ४३ मतले पराजित गर्दै ओली विजयी भएका थिए।

अध्यक्षमा ओलीले १ हजार ४७ मत पाउँदा नेपालले १ हजार ३ मत पाएका थिए। तर, दसौँ महाधिवेशनमा ओलीलाई चुनौति दिने नेपाल एमालेमा छैनन्। 

असोज १५–१७ मा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनबाट अध्यक्ष ओलीले नयाँ कार्यकालका लागि आफूलाई निर्विरोध बनाउने संकेत गरिसकेका छन्। 

उनको योजनालाई उपाध्यक्ष भीम रावलले चुनौती दिने प्रयास गर्न सक्छन्। रावलले पनि गृहजिल्ला अछाममा पुगेर अध्यक्षमा उठ्न कार्यकर्ताले सुझाव दिएको बताइसकेका छन्। 

२०७१ असार १९–२५ मा काठमाडौँमा भएको नवौँ महाधिवेशनमा उपाध्यक्ष पदमा चुनाव उठेका रावलले तेस्रो लोकप्रिय (११४३) मतसहित जिते। 

अहिले एमालेबाट अलग भएका वामदेव गौतम पनि उपाध्यक्ष बनेका थिए। उनले चौथो लोकप्रिय ११२४ मत पाएका थिए। 

यस्तै उपाध्यक्षमै युवराज ज्ञवालीले १ हजार ६२, अष्टलक्ष्मी शाक्यले १ हजार ४७ र विद्या भण्डारीले ११०० मतसहित जितेका थिए।

भण्डारी अहिले दोस्रो कार्यकाल राष्ट्रपति पदमा रहेकी छन्। सुरेन्द्र पाण्डेलाई ६ मतले हराउँदै ईश्वर पोखरेल महासचिव बनेका थिए।

पोखरेलले एक हजार ३६ मत पाउँदा पाण्डेले १०३० मत पाए। यसैगरी उपमहासचिवमा घनश्याम भुसालले १ हजार ९७ मत ल्याएर विजयी भए। 

अर्का उपमहासचिवमा विष्णु पौडेलले १ हजार ८२ मत ल्याएर जिते।

एमालेको नवौं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर सचिव पदमा गोकर्ण विष्ट निर्वाचित भएका थिए।

उनले १२७० मत पाएका थिए। यस्तै अर्का सचिव प्रदीप ज्ञवालीले ११५५ मत ल्याएर जितेका थिए।  

योगेश भट्टराई १ हजार ८५, पृथ्वीसुब्बा गुरुङ १ हजार २९ र भीम आचार्यले १ हजार ३५ मत ल्याएर सचिवमा जितेका थिए।

त्यसबेला सचिवमा वेदुराम भुसाल (९९७), विष्णु रिमाल (९९७), रघुवीर महासेठ (९२८) परशुमेघी गुरुङ (१०१५) र केशवलाल श्रेष्ठ (९२२) मत ल्याएर पराजित भए। 

उपमहासचिवमा धर्मनाथ शाह (९२३), राजेन्द्र पाण्डे (१०३१), प्रदीप नेपाल (१००८) र किरण गुरुङ (९९५) मत ल्याएर पराजित भए।

त्यसमध्येका माधव नेपाल, पाण्डे र प्रदीप नेपालले एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन्। 

यस्तै सचिवमा पराजित वेदुराम भुसाल पनि एकीकृत समाजवादीको महासचिव बनेका छन्।

आठौं महाधिवेशनमा अध्यक्ष जितेका झलनाथ खनाल पनि एमालेमा छैनन्। 

अहिले छानिएका महाधिवेशन प्रतिनिधि हेर्दा नवौँ महाधिवेशनमा राम्रो मत ल्याएका (दस नेता) ले फेरि त्यसैगरी मत ल्याउने सम्भावना कम देख्छन् रघुजी पन्त।

‘कतिपय ठाउँहरुमा जसरी चयन गरिएको छ, सर्वसम्मतिको नाममा जे लादिएको छ, त्यसमा साथीहरुले असन्तुष्टि जनाउनुभएको छ,’ पन्तले नेपालखबरसँग भने, ‘त्यो ठीक भएको छैन, सुदूरपश्चिम, लुम्बिनी र देशका अरु स्थानमा हामीमाथि निषेधको राजनीति भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .