कारोबार


पोखरा विमानस्थलको काम छिटो सक्न अर्थमन्त्रीको ताकेता

पोखरा विमानस्थलको काम छिटो सक्न अर्थमन्त्रीको ताकेता

नेपालखबर
कात्तिक २८, २०७८ आइतबार १२:५०, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सकाउन ताकेता गरेका छन्। 

उनले यसको लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि ढिलाइ नहुने वचन समेत दिए।

निर्माणाधीन विमानस्थलको शनिवार निरीक्षण गर्ने क्रममा मन्त्री शर्माले भने, ‘काम छिटो सकेर उडान सञ्चालन गर्नको लागि सरकारको तर्फबाट के काम गर्नुपर्नेछ त्यसमा कुनै ढिलाइ हुँदैन। निर्माणकर्ताहरुले पनि तीव्र गतिमा काम अघि बढाउनुप¥यो।’ 

उनले सरकारले कुनै नीतिगत निर्णय गरिदिनुपर्ने भए वा बजेट व्यवस्था गर्नुपर्ने भए त्यसको व्यवस्थापन सरकारले गर्ने बताउँदै त्यसका लागि काम चाँडो सक्नुपर्ने बताए।  

आगामी २०७९ असार मसान्तसम्म कार्य सम्पन्नता म्याद रहेको विमानस्थल निर्माणको भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ६७.७० प्रतिशत भएको आयोजनाले जनाएको छ । 

विमानस्थल निर्माणको क्रममा विभिन्न समस्याहरु पनि देखिएका छन् । ल्याण्डिङ्ग एप्रोचमा पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडाको ४० मिटर हाईट कटान गर्नुपर्नेछ । वन मन्त्रालयको झन्झटिलो प्रक्रियाको कारण उक्त काममा ढिलाई भइरहेको आयोजनाको गुनासो छ । त्यसको लागि बल्ल वातावरणीय प्रभाव मूल्याङ्कनको काम सुरु भएको छ । 

यस्तै आयल निगमले हवाई इन्धन भण्डारण (आयल डिपो) निर्माणको काम पनि सुरु गरेको छैन । विमानस्थलबाट करिब २ कि.मि. उत्तरमा रहेको ल्याण्डफिल साईड स्थानान्तरणको काम सुरु हुन नसक्दा उडान संचालनमा ‘बर्ड ह्याजार्ड’ को समस्या देखिएको छ ।  

‘आइकाओ क्याटागोरी’ को पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का चाइना सीएएमसी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले पाएको छ । करिब २ सय १६ मिलियन अमेरिकी डलर लागत रहेको आयोजना निर्माणको लागि २०१४ मई २२ मा नागरिक उड्डयन प्राधिकरण र सीएएमसीबिच सम्झौता भएको हो। 

चाइना एक्जिम बैंकको ऋण सहयोगमा बन्न लागेको विमानस्थलमा तीनवटा अन्तर्राष्ट्रिय र आठ वटा आन्तरिक विमानहरु पार्किङ्ग गर्न सकिने बनाइएको छ । विमानस्थल निर्माणको लागि वि.सं. २०३२ सालमै ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। पछि ७९३ रोपनी थप गरी विमानस्थलको कुल क्षेत्रफल ३८९९ रोपनी रहेको छ।

निरीक्षणको क्रममा स्थानीयले विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान संचालन गर्न संघीय सरकारका अर्थमन्त्रीसँग माग गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad