कारोबार


३ महिनामै ५ बैंकले कमाए अर्ब बढी मुनाफा, ४ वटाको घट्यो (सूची)

३ महिनामै ५ बैंकले कमाए अर्ब बढी मुनाफा, ४ वटाको घट्यो (सूची)

दीपक भट्ट
कात्तिक १५, २०७८ सोमबार १८:४०, काठमाडौँ

चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिक अवधिमा वाणिज्य बैंकहरुको नाफा उत्साहपूर्ण देखिएको छ। 

त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको नाफा बढिरहेको देखिएको हो।

नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त २७ वाणिज्य बैंकले चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भएको कारोबारको वित्तीय विवरण आज सार्वजनिक गरेका छन्। 

विवरणअनुसार २७ वटा बैंकले तीन महिनामा १८ अर्ब ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएका हुन्। 

यही तीन महिनामा गत वर्ष २७ वटा वाणिज्य बैंकहरुको खुद नाफा १४ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ रहेको थियो। 

यसअनुसार चालू आर्थिक वर्षमा वाणिज्य बैंकहरुको नाफा ३ अर्ब ५३ करोड रुपैयाँ बढेको हो। 

चालू आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकहरुमध्ये ५ वटा बैंकहरुले अर्बभन्दा बढी कमाएको देखिएको हो। 

एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक  र एनमएबी बैंकले चालू आर्थिक वर्षको तीन महिनामा १ अर्बभन्दा बढी नाफा कमाएको देखिएको हो। 

वित्तीय विवरणअनुसार एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको तीन महिनामा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। 

गत वर्ष यही अवधिमा यो बैंकको नाफा १ अर्ब २ करोड रहेको थियो।
 
नबिल बैंकले १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष १ अर्ब ३ करोड रहेको थियो। 

त्यस्तै ग्लोबल आईएमई बैंकले १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। गत आवको यही अवधिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको थियो। 

राष्ट्रिय वाणिज्य बैंकले यो अवधिमा १ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत वर्षको तीन महिनामा ८२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यो वर्षको तीन महिनामा अर्बभन्दा माथि कमाउनेमा एनएमबी बैंक पनि देखिएको छ। एनएमबी बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको हो। 

एनएमबी बैंकले गत वर्षको यही अवधिमा ७३ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। 

चारवटाको नाफा घट्यो
त्यस्तै ४ वटा बैंकको भने गत वर्षको तुलनामा नाफामा गिरावट समेत आएको देखिएको छ। 

प्राइम कमर्सियल बैंकले गत वर्ष १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएकोमा चालू आर्थिक वर्षको तीन महिनामा ९७ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ। 

त्यस्तै प्रभु बैंकको पनि नाफामा गिरावट आएको छ। प्रभु बैंकले गत वर्षको तीन महिनामा ८५ करोड रुपैयाँ नाफा गरेकोमा यो वर्ष ६३ करोड रुपैयाँमा खुम्चिएको हो। 

कुमारी बैंकको नाफामा पनि कमी आएको देखिएको छ। कुमारी बैंकले गत आर्थिक वर्षको तीन महिनामा ६० करोड रुपैयाँ नाफा कमाएकोमा चालू आर्थिक वर्षम ५४ करोडमा खुम्चिएको हो। 

नेपाल बंगलादेश बैंकको नाफामा पनि कमी आएको देखिएको छ। नेपाल बंगलादेश बैंकले गत आवको तीन महिनामा ५७ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा चालू आर्थिक वर्षको तीन महिनामा ४१ करोड रुपैयाँ आर्जन गरेको देखिएको छ। 

विवरणअनुसार चालू आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ। 

बैंकले १ अर्ब १८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने सबैभन्दा कम कमाउनेमा बैंक अफ काठमाण्डु (बीओके) देखिएको छ। बीओकेको चालू आवको तीन महिनाको नाफा २५ करोड रुपैयाँ मात्रै छ। 

कुन बैंकको कति नाफा?

बैंकको नाम ३ महिनाको नाफा (रु.) 
एनआईसी एसिया १ अर्ब १८ करोड
नबिल १ अर्ब ११ करोड
ग्लोबल आईएमई १ अर्ब ११ करोड
राष्ट्रिय वाणिज्य १ अर्ब ५ करोड
एनएमबी १ अर्ब ४ करोड
प्राइम ९७ करोड
सिद्धार्थ ९४ करोड
नेपाल इन्भेष्टमेन्ट ९२ करोड
मेगा ९१ करोड
नेपाल बैंक ७५ करोड
सिटिजन्स इन्टरनेशनल ६८ करोड
प्रभु ६३ करोड
एभरेष्ट ५७ करोड
सानिमा ५६ करोड
माछापुच्छ्रे ५६ करोड 
लक्ष्मी ५५ करोड 
कुमारी ५४ करोड
एनसीसी ५१ करोड
कृषि विकास ४८ करोड
स्ट्यान्डर्ड चार्टर्ड ४८ करोड 
हिमालयन ४५ करोड
सनराइज ४३ करोड
नेपाल बंगलादेश ४१ करोड
नेपाल एसबीआई ३७ करोड 
सिभिल २९ करोड 
सेन्चुरी कमर्सियल २७ करोड 
बैंक अफ काठमाण्डु २५ करोड

स्राेत : सम्बन्धित बैंककाे त्रैमासिक अपरिष्कृत वित्तीय विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .