ad ad

कारोबार


जेफ बेजोजको सम्पत्ति घट्दा फेरि ‘संसारकै धनी’ बने बिल गेट्स

जेफ बेजोजको सम्पत्ति घट्दा फेरि ‘संसारकै धनी’ बने बिल गेट्स

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ८:३६,

अघिल्लो वर्ष संसारकै धनी बनेका अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी जेफ बेजोज विश्वकै धनी व्यक्तिबाट ‘आउट’ भएका छन्। बिहीबार कम्पनीको सेयरमा सात प्रतिशतले गिरावट आएपछि उनी संसारकै धनी व्यक्तिबाट हटेका हुन्।

चर्चित म्यागजिन फोर्ब्सको संसारका धनीहरुको सूचीमा गत वर्ष जेफले बाजी मारेका थिए। उनको कम्पनीको सेयर बिहीबारको कारोबारमा ७ प्रतिशतले घटेको थियो।

फोर्ब्सका अनुसार यो धक्कासँगै बेजोजसँग १ खर्ब ३ अर्ब डलर सम्पत्ति रहेको छ। अमेजनको सेयर खस्किएपछि उनी संसारको दोस्रो धनीमा झरेका छन्। उनलाई माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले प्रतिस्थापन गरेका हुन्। बिलसँग १ खर्ब ५ अर्ब डलर सम्पत्ति रहेको छ।

अघिल्लो वर्ष उनले बेजोजले २४ वर्षसम्म संसारकै धनी बनेका गेट्सलाई उछिनेर संसारकै धनी बनेका थिए। तत्कालीन समयमा बेजोजको सम्पत्तिको नेट मूल्यांकन १ खर्ब ६० अर्ब डलर रहेको थियो।

यद्यपि अमेजनको सेयरकै कारण मात्रै उनको सम्पत्ति घटेको होइन। श्रीमती म्याकेन्जी बेजोजसँगको डिभोर्स पनि बेजोजलाई भारी पर्न गएको छ। डिभोर्सपछि उनले अमेजनको एक चौथाइ सेयर पूर्वपत्नी म्याकेन्जीलाई दिनुपरेको थियो। यो वर्षको सुरुतिर डिभोर्स भएको थियो।

म्याकेन्जी बेजोजसँग ३२ अर्ब ७० करोड डलर सम्पत्ति रहेको छ, जुन विश्वकै २० धनीमध्ये एकमा पर्छ।

बिहीबार मध्याह्न मात्रै अमेजनले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नेट आम्दानी २६ प्रतिशतले घटेको बताएको थियो। यसले सन् २०१७ यता पहिलोपटक नाफा घटाएको छ। बिहीबारको कारोबार बन्द भएको २० मिनेटमै अमेजनको सेयरमा नौ प्रतिशत घट्ने क्रममा प्रतिसेयर मूल्य १ हजार ६ सय २४ डलर पुगेको थियो। तर त्यसपछि केही सुधार देखिँदा पछि १ हजार ६ सय ५७ डलर पुगेको थियो।

यता कम्पनीले भने गुणस्तरीय सेवासुविधाको लागि पूर्वाधार सुधारमा जोड दिएको जनाएको छ।

त्यस्तै, बिल गेट्स सन् २०१४ यता माइक्रोसफ्ट बाहिर रहेका छन्। प्रमुखको रुपमा उनले राजीनामा दिए पनि बिल अहिले पनि माइक्रोसफ्टको बोर्ड सदस्य छन्। उनले माइक्रोसफ्टको धेरै सेयर बेचेका वा अन्यत्र लगेको बताइएको छ। उनी अहिले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहप्रमुख रहेका छन्। यो फाउन्डेसन निजी दान गर्ने फाउन्डेसनमध्येकै ठूलो हो।

बिल गेट्स सन् १९८७ देखि फोर्ब्स अर्बपतिको सूचीमा प्रवेश गरेका थिए। त्यतिबेला उनीसँग १ अर्ब २५ करोड डलर सम्पत्ति रहेको थियो। त्यस्तै बेजोज भने सन् १९९८ मा चार सय अमेरिकी अर्बपतिको सूचीमा पहिलोपल्ट अटाएका थिए।

त्यसको एक वर्षअघि मात्रै अमेजन सार्वजनिक कम्पनीमा गएको थियो। त्यतिबेला बेजोजसँग १ अर्ब ६० करोड डलर सम्पत्ति रहेको थियो। फोर्ब्स म्यागजिनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .