ad ad

कारोबार


हट्दैछ महामारीको कुहिरो, उकुसमुकुसबाट उठ्दैछ ‘चन्द्रागिरि’ (भिडिओ)

हट्दैछ महामारीको कुहिरो, उकुसमुकुसबाट उठ्दैछ ‘चन्द्रागिरि’ (भिडिओ)

महाप्रबन्धक अभिषेक विक्रम शाहका अनुसार स्वास्थ्य मापदण्ड पालना गर्दै चन्द्रागिरि हिल्स रिसोर्ट सञ्चालनमा आएको छ (तस्बिर र भिडिओः बिक्रम राई)


बसन्त अर्याल/विक्रम राई
भदौ १९, २०७८ शनिबार ७:३५, काठमाडौँ

छिनछिनमै बादलको घुम्टो ओढ्ने चन्द्रागिरिले एकैछिनमा घामको न्यानो स्पर्श गर्छ। कहिले घाम कहिले पानी यस्तै छ काठमाडौंको चन्द्रागिरिको जिन्दगानी।

वर्षा ऋतुकाे समय। ​हरक्षण बदलिरहने मौसम यहाँको विशेषता हो। 

समुद्री सतहदेखि २५ सय मिटर उचाइमा रहेको चन्द्रागिरि प्रकृतिसँग रमाउनेका लागि उत्कृष्ट र काठमाडौंको सहरी कोलाहलबाट ‘रिफ्रेस’ हुन चाहनेका लागि नजिकको गन्तव्य हो।

व्यावसायिक घराना आईएमई ग्रुपले त्यहाँको धार्मिक तथा ऐतिहासिक महत्वसँग आधुनिक सुविधालाई जोडिदिएको छ। 

आईएमई​ ग्रुपअन्तर्गतको चन्द्रागिरि हिल्स लिमिटेडले त्यहाँसम्म पुग्न केबलकारको व्यवस्था गरेको छ। यसले घण्टौँ उकालो चढ्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ। 

चन्द्रागिरिमा भालेश्वर महादेवको मन्दिर निर्माण भएको छ। 

स्वस्थानीमा उल्लेख भएको सतीदेवीको अंग (निधार) पतन भएको हुनाले उक्त मन्दिरमा भालेश्वर महादेवको पूजा गर्ने चलन छ। पहिलेदेखि नै स्थानीयहरु होलीको समयमा पाठपूजा गर्न जान्थे।  

धार्मिकमात्र होइन, चन्द्रागिरिको ऐतिहासिक महत्व पनि छ। दुई शताब्दीअघिको नेपाल एकीकरण अभियानसँग चन्द्रागिरिको आफ्नै साइनो जोडिएको छ। 

नजिकै उभिएको तत्कालीन राजा पृथ्वीनारायण शाहको शालिकले यसको झझल्को दिन्छ। भनिन्छ, तत्कालीन राजाले यहीँबाट पहिलोपटक काठमाडौं उपत्यकाको अवलोकन गरेका थिए। 

यसबाहेक चन्द्रागिरि भन्ज्याङ कुनै बेला उपत्यका प्रवेश गर्ने नाकाकै रुपमा थियो। यही नाकाबाट उपत्यकामा पहिलोपटक बोकेरै गाडी ल्याइएको पाइन्छ। 

चन्द्रागिरिबाटै सगरमाथा–अन्नपूर्ण 
सहरकै नजिक हुनु र आधुनिक सुखसुविधाको उपलब्धताले चन्द्रागिरि पछिल्लो समय स्वदेशी र विदेशी पर्यटकको केन्द्रका रुपमा विकास भएको छ।

चन्द्रागिरि हिल्स रिसोर्टको समेत सुविधा हुँदा त्यहाँ गएर रात नै बिताउन चाहनेले बिहान र बेलुकाको सूर्योदय र सूर्यास्तको मजा लिन पाउँछन्। 

यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्णसम्मका हिमाल अवलोकन गर्न सकिन्छ। ​

उकुसमुकुसबाट उठ्दैछ चन्द्रागिरि
आधुनिक संरचना निर्माणसँगै चर्चित बनेको चन्द्रागिरि कोभिड संक्रमण महामारीको चपेटामा प¥यो। 

संक्रमणको पहिलो लहर सकिएसँगै बौरिन के थालेको थियो, दोस्रो लहरले फेरि थला पा¥यो। 

अहिले कोरोनाविरुद्धको खोप अभियानसँगै पुनः चहलपहल बढ्नथालेको छ। 

बुधबार मात्रै नेपालमा खोप लगाउनेको संख्या १ करोड नाघेको छ भने काठमाडौं उपत्यकामा गत वैशाख १६ देखि लागू निषेधाज्ञा पनि हटेको छ। 

योसँगै चन्द्रागिरि रिसोर्ट पनि सञ्चालनमा आएको चन्द्रागिरि हिल्सले जनाएको छ। 

‘स्वास्थ्य मापदण्ड पालना गर्दै चन्द्रागिरि रिसोर्ट फेरि सञ्चालनमा आएको छ’, कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले नेपालखबरसँग भने।

निषेधाज्ञा हटेसँगै केबलकार पनि नियमित सञ्चालनमा आउने उनले जानकारी दिए। 

कोरोना संक्रमणको जोखिम क्रमशः कम हुँदै जाँदा र खोप अभियानले तीव्रता पाउँदा महामारीको समयमा बाहिर निस्किन नपाएका मानिसहरु रिसोर्टमा पुग्नथालेको उनी बताउँछन्। 

चन्द्रागिरि रिसोर्टमा पर्याप्त खुल्ला ठाउँ भएकाले कोभिड सर्ने जोखिम अत्यन्तै कम रहेको उनको भनाइ छ। 

‘रिसोर्टमा काम गर्ने सबै कर्मचारीले कोभिड खोप लगाइसकेका छन्’, शाह भन्छन्, ‘यहाँ आउने कसैलाई कर्मचारीबाट कोरोना सर्ने डर छैन। पर्यटक सुरक्षित रहनुहुन्छ।’

‘अब आम्दानी बढ्छ’
निषेधाज्ञाको समयमा चन्द्रागिरि​ रिसोर्ट​ बन्दप्रायः थियो। अहिले ४० देखि ५० प्रतिशत अकुपेन्सीले खर्च व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ। 

अब महामारीले उग्र रुप नलिए चन्द्रागिरिले धेरैभन्दा धेरै अतिथिलाई स्वागत गर्नेछ। यसले यसको व्यवसाय पनि माथि उठाउनेछ। 

शाहले भने, ‘चन्द्रागिरि पूर्णरुपमा चलेपछि मात्रै आम्दानी बढ्छ। अहिले बाँच्ने प्रयास गरिरहेका छौँ।’

कोभिडको समयमा धेरै होटलले कर्मचारीलाई विदा दिए पनि चन्द्रागिरि रिसोर्टले आलोपालोमा काम लगाइरहेको छ।  

‘महामारीको समयमा कर्मचारीलाई निकाल्नुपरेको छैन’, उनले भने। 

पाँचतारेसरहकै आकर्षक प्याकेज 
सरकारले हालै चन्द्रागिरि रिसोर्टलाई ‘डिलक्स रिसोर्ट’को मान्यता दिएको छ। रिसोर्टमा पाँचतारे होटलस्तरकै सुविधा पाइन्छ। बाल्कोनीसहितका डिलक्स, सुइट रुम, स्पा, स्मिङ पुललगायतका सुविधा छ। 

‘रिसोर्ट भनेको कस्तो हो चन्द्रागिरिको अनुभवपछि थाहा हुन्छ’, शाहले भने, ‘यहाँबाट काठमाडौं उपत्यकाको मात्रै नभई सगरमाथादेखि अन्नपूर्णसम्मका हिमाल देख्न सकिन्छ।’

हाल घरभन्दा बाहिर कोभिडबाट सुरक्षित रही रिफ्रेस हुन चाहनेका लागि चन्द्रागिरि उपयुक्त रहेको शाह बताउँछन्। 

स्वच्छ हावा पानीमा रमाउनेहरुको लागि अहिले ९ हजारको प्याकेज छ। जसमा केबलकार, कोठा र ब्रेकफास्ट पाइन्छ। 

रिसोर्टमा १०० वटा रुम रहेका छन्। शुक्रबार र शनिबार राम्रै अकुपेन्सी हुन्छन्। ‘रुम मेनटेन’ गर्न कोठामा पर्यटक नभए पनि बत्ती, एसी सधैँ चालू रहन्छ।

चन्द्रागिरिमा साना कार्यक्रम गर्नको लागि समेत हल र ब्यान्क्वेटको सुविधा छ।

फराकिलो ठाउँ, ठूला हल रहेको हुँदा महामारीका बेला समेत साना कार्यक्रम गर्न समस्या नरहेको शाहको भनाइ छ। 

निषेधाज्ञा हटे पनि अझै एक/डेढ वर्ष अन्तर्राष्ट्रिय पर्यटक आउने आशा छैन। 

सोही कारण कम्पनीले आन्तरिक पर्यटकले नै धान्न सकिने उपाय खोजी गरिरहेको छ। 

२ वर्ष आन्तरिक पर्यटकले धान्न सके त्यसपछि पर्यटन क्षेत्र नै ‘बुम’ हुने शाहको विश्वास छ। 

‘यसमा सरकारले पनि सहयोग गर्नुपर्छ। पर्यटन क्षेत्रका सबैलाई भ्याक्सिन लगाउनुपर्छ’, उनले भने, ‘सरकारले ५ वर्षसम्मको मास्टर प्लान बनाउनुपर्छ। त्यसअनुसार व्यवसायीले योजना बनाउँछन्।’

भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .