कारोबार


नेपाली उद्यमीलाई दक्षिण तथा दक्षिणपूर्वी एसिया वस्तु मेलामा सहभागी हुन चीनको निम्तो

नेपाली उद्यमीलाई दक्षिण तथा दक्षिणपूर्वी एसिया वस्तु मेलामा सहभागी हुन चीनको निम्तो

नेपालखबर
भदौ २, २०७८ बुधबार १४:२६, काठमाडौँ

चीनको युनान प्रान्तमा यही अगस्ट महिनाको अन्तिममा दक्षिण तथा दक्षिणपूर्वी एसिया वस्तु मेला तथा लगानी महोत्सव २०२१ हुने भएको छ।

‘नयाँ विकासका लागि नयाँ अवसर’ नारा दिइएको उक्त महोत्सवमा प्रदर्शनकर्ता र दक्षिणपूर्वी तथा दक्षिण एसियाका तर्फबाट विभिन्न वस्तु तथा सेवा उद्यमीहरुको सहभागिता रहनेछ। 

यो कार्यक्रम चीनको दक्षिण–पश्चिममा रहेको युनान प्रान्तको राजधानी कुनमिङ्गमा अगस्ट २५ देखि २९ तारिखसम्म हुनेछ। 

कार्यक्रममा अनलाइन मार्फत सहभागिता जनाउन सकिनेछ।

हरेक विजोर वर्षमा हुने प्रादेशिक स्तरको यो महोत्सव चीन र एसियाका देशहरुबीच सम्बन्ध र व्यापार साझेदारलाई सुधार गर्न महत्वपूर्ण मानिन्छ। 

६४ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कुनमिङ्ग गुनसाङ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने यस मेलामा ३ हजार वटा प्रदर्शनी स्थलहरु राखिनेछन्। 

काठमाडौंस्थित युनान प्रान्तिय सीमापार प्रतिनिधि कार्यालयका अनुसार यो नेपाली उद्यमीहरुका लागि आफ्ना सामान चीनमा प्रवर्द्धन गर्ने सुनौलो अवसर हो। 

कार्यालयले भनेको छ, ‘मेलामा नेपाली व्यवसायीहरु पनि सहभागी हुन सक्छन् र आफ्ना वस्तु तथा परियोजनाहरु विना कुनै शुल्क चिनियाँ तथा एसियाली उद्यमीहरु माझ प्रस्तुत गर्न सक्छन्। अनलाइनमा हरेक कम्पनीका लागि आफ्ना सामान तथा परियोजनाका फोटो तथा जानकारी राख्नका लागि छुट्टै पेज उपलब्ध गराइनेछ।’

यो वर्ष मेला सञ्चालनलाई अझ व्यवस्थित बनाइएको छ। वस्तुहरुको प्रदर्शनलाई सजिलो बनाउन ती सामानहरुको कस्टम क्लियरेन्स तथा व्यापार छलफलको लागि पनि सहजीकरणको व्यवस्था गरिएको छ। 

‘हरेक उद्यमीले आफैँ आधिकारिक वेबसाइटमा गएर आफ्नो कम्पनीलाई दर्ता गर्न सक्नेछन्। आयोजकले तपाईंको कम्पनी र वस्तुको प्रकृति हेरेर उपयुक्त स्थल सुझाउनेछन्’, नेपाल–भुटान सीमापार प्रतिनिधि कार्यालयका निर्देशक लिङचेङ युले भने।

नेपालीहरु अनलाइनबाट मात्रै मेलामा सामेल हुन सक्ने भए पनि उनीहरुका वस्तु प्रदर्शन स्थलमा राख्नका लागि एजेण्टमार्फत चीन पनि पठाउन सकिने उनले बताए। 

सन् २०१५ मा स्थापना भएको यस प्रतिनिधि कार्यालयले ऊर्जा, होटल, पर्यटन, फूल व्यवसाय, कृषि लगायतका क्षेत्रमा नेपाललाई चीनका व्यापारीसँग सहकार्यका लागि सहजीकरण गर्दै आएको छ। 

नियमित महोत्सवबाहेक यो वर्ष कार्यक्रममा एसिया लिंक, सीमापार लगानी साझेदारी, सेवाको व्यापार, सीमा व्यापार, अनलाइन व्यापार लगायतका विभिन्न विषयमा छुट्टाछुट्टै प्रदर्शन तथा छलफल पनि हुनेछ। 

यस महोत्सव स्थलमा हुने कार्यक्रमहरु महामारी नियन्त्रणका सम्पूर्ण व्यवस्था साथ हुने आयोजकले जनाएको छ। 

यही पाँच दिने महोत्सवको अवसरमा तेस्रो चीन–दक्षिण एशिया सहकार्य मञ्च, १५ औं चीन–दक्षिणपूर्वी एशिया व्यापार मञ्च, आठौं चस्न–दक्षिण तथा दक्षिणपूर्वी एशिया थिंकट्यांक मञ्च लगायतका कार्यक्रमहरु पनि सञ्चालन गरिनेछन् ।

गएको डिसेम्बर महिनामा पनि युनानले चीन–दक्षिण एशिया महोत्सवको आयोजना गरेको थियो। कोभिड–१९ का कारण अनलाइनमा मात्र सीमित गरिएको उक्त मेलामा १० हजार उद्यमी व्यवसायीहरु सहभागी भएका थिए भने एक हप्तामा ५ खर्ब डलर भन्दा बढीको कारोबार भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .