कारोबार


बजेट संशोधन गर्ने प्रतिस्थापन अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य!

बजेट संशोधन गर्ने प्रतिस्थापन अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य!

फाइल तस्बिर


नेपालखबर
साउन ३२, २०७८ सोमबार १६:१०, काठमाडौँ

चालू आर्थिक वर्षको बजेट संशोधन चलिरहँदा सरकारले त्यसलाई नटुंग्याई संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।  

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको थियो। 

सोअनुसार राष्ट्रपतिको कार्यालयले संसद् अधिवेशन अन्त्य भएको पत्र सभामुख अग्निप्रसाद सापकोटालाई पठाएपछि उनले त्यसलाई पढेर सुनाएका हुन्। योसँगै प्रतिनिधिसभाको चालू अधिवेशन आजै मध्यराति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ।  

बजेट नै मुख्य कारण 
असार २९ मा गठन भएको देउवा सरकार विभिन्न कारणले अझै विस्तार हुन सकेको छैन। सोही कारण दल विभाजन अध्यादेश ल्याएर राजनीतिक गाँठो फुकाउन संसद् अधिवेशन अन्त्यको सिफारिस भएको अनुमान गरे पनि मुख्य कारण बजेट नै भएको स्रोतको दाबी छ। 

स्रोतका अनुसार बजेट संशोधनकै लागि अधिवेशन अन्त्य भएको हो। 

पूर्ववर्ती ओली सरकारले ल्याएको बजेट संशोधन गर्न अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक तयार गरेका छन्। तर त्यो विधेयक संसदमा पेस हुँदा एमालेले ‘ह्विप’ लगाउनसक्ने र संशोधित बजेट नै पारित नहुने अवस्था आउनसक्ने भएकाले अध्यादेशबाटै बजेट संशोधन गर्न यसो गरिएको स्रोतको भनाइ छ। 

गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट ल्याएका थिए। अहिले उनको दल प्रतिनिधिसभामा प्रतिपक्षको भूमिकामा छ। 

सोही कारण सरकारले अहिले अध्यादेशमार्फत प्रतिस्थापन अध्यादेशको तयारी गरेको हो। 

अर्थ मन्त्रालयका कानुन महाशाखा प्रमुख पाराश्वर ढुंगानाले संसदीय व्यवस्थाअनुसार प्रतिस्थापन विधेयकजस्तै अध्यादेश आए पनि त्यो संसदमा पास गर्नुपर्ने बताए। 

बीचैमा सरकार परिवर्तन भएपछि अहिले चालू आर्थिक वर्षको बजेट संसदबाट पारित हुनसकेको छैन।  

बजेट आएकै चालू आर्थिक वर्षको एक महिना बितिसकेको छ भने विनियोजित कार्यक्रमहरु कार्यान्वयनमा हालको सरकारले रोकिरहेको छ। यसले अधिकांश कार्यक्रमहरु अलपत्र बनेका छन्।

पूर्ववर्ती सरकारले संविधानअनुसार जेठ १५ मै संसद नभएका कारण अध्यादेशबाट बजेट ल्याएको थियो। 

तर त्यसलाई हुबहु कार्यान्वयन नगरी संशोधन गरी पारित गराउने सरकारको तयारी छ। यसअनुसार आर्थिक अध्यादेश अर्थात् बजेट संसदमा पेश भएको छ। 

संसदमा पेश भएको ६० दिनभित्र पास हुनैपर्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन्। 

त्यसो नभए अध्यादेश स्वतः खारेज हुने उनको भनाइ छ। 

अर्थमन्त्री शर्माको सचिवालयका एक अधिकारीका अनुसार संसद अधिवेशन अन्त्यको कुरा उच्च राजनीतिक कुरा हो। 

उनले भने, ‘सरकारले के कुराको लागि संसद् अन्त्य गर्न लागेको हो, त्यो कुरा अहिले स्पष्ट छैन। तर छोटो समयको लागि अन्त्य गरेर पुनः नयाँ अधिवेशन सुरु हुन पनि सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad