कारोबार


जाजरकोट–डोल्पा सडक यही महिना सम्पन्न हुने, विभागलाई हस्तान्तरणको तयारी

जाजरकोट–डोल्पा सडक यही महिना सम्पन्न हुने, विभागलाई हस्तान्तरणको तयारी

नेपालखबर
असार ४, २०७६ बुधबार ११:३६,

 नेपाली सेनाले जाजरकोट–डोल्पा सडक आयोजना सडक विभागलाई हस्तान्तरण गर्ने भएको छ। आफूले जिम्मा लिएको उक्त सडकले यसै महिनाभित्रै पूर्णता पाउने बताउँदै आयोजना नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत विभागलाई यसै महिना हस्तान्तरण गरिने सेनाले जनाएको छ।

जाजरकोटको पासागाडदेखि दुनैसम्मको ११८ किलोमिटर सडक आयोजना सफलतापूर्वक निर्माण पूरा गरेर आयोजना नै विभागलाई हस्तान्तरण गर्न लागिएको सडक निर्माण कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिए। तत्कालीन विषम परिस्थिति र भौगोलिक विकटता भए पनि सरकारले सेनालार्इ दिएको जिम्मेवारी पूरा गर्दै डोल्पालीको भाग्यरेखाका रुपमा रहेको उक्त सडक आयोजना पूरा गरी विभागलाई हस्तान्तरण गर्न लागिएको उनले बताए। उनले भने, ‘सडक निर्माणको क्रममा थुपै्र चुनौती व्यहो¥यौँ, विकासको मुख्य पूर्वाधारको रुपमा रहेको सडक निर्माणमा दिनरात खटिँदै ज्यान हत्केलामा राखेर सरकारले सेनालाई दिएको जिम्मेवारी पूरा गरेको छ।’ अहिले सुँपानी–दुनै सडकखण्डको १४ दशमलव ३ किमी सडकको सुधार भइरहेको छ।

सो खण्डमा पर्ने कालागौँडा भीर र लामालोटे भीरलगायत सात भीर छिचोलेर सुधार अन्तिम चरणमा पुगेको छ। यसै महिनाभित्र कार्य सम्पन्न गरिने कार्यदल प्रमुख पहाडीले बताए। आयोजनाको दुनैसम्मको ट्रयाक खुलाउने काम गत मंसिर ४ मा सम्पन्न भइसकेको छ। सुँपानी–दुनै खण्डको ट्रयाक खुलाउने काम तत्कालिन जिल्ला बिकास समिति खुलाइएको थियो ।यस खण्डको सडकको चौडाइ साँघुरो भएकाले सेनाले सुधार गरेको हो । डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्दै नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्न यो सडकको निर्माण थालनी गरिएको हो । रणनीतिक महत्व बोकेको सो सडक २०६५ सालमा जाजरकोटको पासागाडदेखि निर्माण सुरु गरेर डोल्पा सदरमुकाम दुनैसम्म सडक जोड्नका लागि काम थालनी गरिएको थियो। सुरुको दुई वर्ष रेखाङ्ककन विवाददका कारण निर्माण अवरुद्ध भएको थियो । रेखाङ्कन पुनःनिर्धारण भएपछि २०६६ सालदेखि निर्माणले तीव्रता पाएको थियो ।

जाजरकोट–डोल्पा सडक आयोजनाको दुनैसम्मको ट्रयाक खोल्ने कार्य पूरा गरेर गत मङ्सिर ४ गते त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने त्रिपुराकोट अर्निचौरमा सडक उद्घाटन गरिएको थियो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलद्वारा प्रधानसेनापति पूर्णचन्द्र थापा र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको उपस्थितिमा यातायात सञ्चालनमा ल्याएर सडकको उद्घाटन गरिएको थियो । “डोल्पालीले सडक पुग्ला भनेर कल्पनासमेत गरेका थिएनन् तर सेनाले जिम्मा लिएर निर्माण कार्य पूरा गरेपछि दुनैसम्म नै जीप, ट्रयाक्टरलगायतका सवारी साधनहरु गुड्न थालेका छन्”, त्रिपुरासुन्दरी – १ का दुर्गाप्रसाद देवकोटाले भने, “नेपाली सेनाले जिम्मा नलिएको भए डोल्पासम्म मोटर पुग्ने सम्भावना नै थिएन, सडक पुगेपछि बजार भाउ सस्तिएर सर्वसाधारणलाई राहत मिलेको छ।’

एक दर्जन पुल आवश्यक
जाजरकोट–डोल्पा सडकको ट्रयाक खुलाउने काम सम्पन्न भए पनि पुल निर्माणको अभावमा खण्ड–खण्डमा यातायात सञ्चालन भइरहेको छ। जाजरकोट–डोल्पा सडकअन्तर्गत पर्ने राडीज्युला, तल्नुबगर, हरियापानी, सुँपानी, छलगाड, चुँगाड, रुपगाड लगायत एक दर्जन ठाउँमा पक्की मोटरेवल पुल निर्माण गर्न आवाश्यक छ। रकुम–जाजरकोट–डोल्पामा पर्ने उक्त स्थानमा चार झोलङ्गे पुल रहेका छन्।

भेरी नदीमा मात्रै आवाश्यक छ पक्की पुलमध्ये रिम्ना र चिसापानीमा पुल निर्माण भइसकेकाले राडिज्युला, तल्लु, हरियापानी र सुँपानीमा चार पुल निर्माण गर्न अझै बाँकी छ। सडकलाई बीचमा पर्ने सानाठुला नदीले टुक्राइदिएकाले ठाउँठाउँमा गाडी परिवर्तन गरेर यात्रा गर्नुर्ने बाध्यता कायमै छ।

‘कालोपत्रे र पुल बनाइदेऊ’
पहिलो चरणको ट्रयाक खुलाउने काम सेनाले सम्पन्न गरिसकेकाले सडकको स्तरोन्नतिका लागि डोल्पालीले सरकारसँग माग गरेका छन्। दोस्रो चरणमा कार्यअन्तर्गत पक्की पुल र कालोपत्रेका लागि आवश्यक बजेट व्यवस्थापन गरी काम थालनी गर्न सरकारसमक्ष डोल्पालीको माग छ । आयोजनाको पुल निर्माणलगायत कालोपत्रेसमेतको स्तरोन्नति कार्य तत्कालै थालनी गर्न सहजता होस् भनेर नै सडक हस्तारण गर्न लागिएको कार्यदल प्रमुख पहाडीले बताए।

दुनै हुँदै उपल्लो डोल्पा धो, तिन्जे हुँदै तिब्बती नाका मोरिम जोड्ने सडकखण्ड निर्माणको जिम्मा पनि नेपाली सेनालाई दिइएमा छिटो सडक जोडिने डोल्पालीको विश्वास छ । आव २०७६÷७७ को नीति तथा कार्यक्रम र बजेटमा जाजरकोट –डोल्पा सडकको स्तरोन्नतिका लागि व्यवस्था गरी बजेट नछु्ट्याएको भन्दै डोल्पालीले असन्तुष्टि व्यक्त गरेका छन्।

विगतमा छिञ्चु–जाजरकोट सडकखण्डको ट्रयाक खोल्ने कार्य सेनाले पूरा गरेसँगै विश्व बैंकको सहयोगमा सरकारले सो सडकमा पुल निर्माण र कालोपत्र गर्ने कार्य सम्पन्न गरेको थियो। सोहीअनुसार नै जाजरकोट–डोल्पा सडकको पुल निर्माण र कालोपत्रे गर्ने काममा आवश्यक बजेट व्यवस्थापनमा ध्यान पु¥याइनुपर्ने माग गरिएको छ । तत्कालीन सशस्त्र द्वन्द्वका समयमा सल्ली बजारमा प्रथम पटक निर्माण आधार खडा गरेर अगाडि बढ्दै सेना छिञ्चु–जाजरकोट र सल्ली बजार–चौरजहारी सडकको निर्माण पूरा गर्न सफल भएको थियो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad