Draft


हङकङका रेल स्टेसनमा पनि गोर्खा सुरक्षाकर्मी परिचालन

हङकङका रेल स्टेसनमा पनि गोर्खा सुरक्षाकर्मी परिचालन

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ११:५९,

हङकङका आन्दोलनकारीले पछिल्लो समय रेलवे स्टेसनमा समेत प्रदर्शन गर्ने क्रममा तोडफोड र आगजनी गर्न थालेपछि गोर्खा सुरक्षाकर्मी परिचालन गर्न थालिएको छ।

सुरुमा करिब दुई सय गोर्खा सुरक्षाकर्मी परिचालन गर्ने योजना अन्तर्गत बिहिबार परिक्षणका रुपमा केही नेपाली रेल स्टेसनहरुमा तैनाथ भएका छन्। हङकङको रेलवे स्टेसनमा गोर्खा सुरक्षाकर्मी संभवतः पहिलो पटक परिचालन भएका हुन्।

आन्दोलनकारीले प्रदर्शनको निशाना हढकङ अन्तर्राष्ट्रिय विमानस्थललाई बनाएपछि त्यहाँ आवागमन व्यवस्थित गर्न एक महिनाअघिबाट नेपाली गोर्खा सुरक्षाकर्मी परिचालन गरिएको थियो। विमानस्थलमा पहिलो पटक करिब सय जना गोर्खा सुरक्षाकर्मी परिचालन भएका हुन्।

विमानस्थल र अहिले रेलवे स्टेसनमा समेत परिचालन गरिएका गोर्खा सुरक्षाकर्मी हङकङमा स्थायी बसोबास गर्दै आएका नेपाली नै हुन्, जो कुनै समय ब्रिटिश गोर्खा सैनिक वा तिनका सन्तानका हैसियतमा हङकङ आएका थिए।

हङकङमा खासगरी निर्माण र सुरक्षा क्षेत्रमा नेपालीको सेवा विश्वसनीय र भरपर्दो मानिन्छ। सरकारी अड्डा, कर्पोरेट हाउस र ठूला व्यावसायीको सुरक्षामा गोर्खाली ब्राण्ड कहलिएको छ। हङकङमा स्थायी रुपमा बसोबास गर्ने करिब ४० हजार नेपालीमध्ये अधिकांश अझै पनि निर्माण, सुरक्षा र होटल रेष्टुरेन्ट क्षेत्रमा काम गर्छन् भने विस्तारै व्यवसायतर्फ उन्मुख हुने संख्या पनि बढिरहेको छ।

हङकङको मेट्रो रेलका मुख्य कार्यकारी याकूब चक पुईले सिङ ताओ दैनिकसँग रेलवे स्टेसनलाई व्यवस्थित गर्न सहयोग पुर्याउन गोर्खालीहरु परिचालन गर्न लागिएको खुलाएका छन्।

रेलवेमा सुरुमा १००–२०० गोर्खाली सुरक्षाकर्मी परिचालन गर्न लागिएको उनले बताए। जसले रेलवे स्टेसनका कार्डबाट पैसा तिरेर भित्र बाहिर गर्न सकिने मेसिनमा पैसा नतिरि आवातजावत गर्न खोज्ने अनधिकृत यात्रीहरुको रखवारी गर्नेछन्। आवश्यकता परे उनीहरूले त्यस्ता यात्रु पक्राउ गर्न समेत सक्नेछन्।

केही महिनायता आन्दोलनकारीले रेल सेवामाथि प्रदर्शनको निशाना बनाएपछि कतिपय यात्रुले पैसा तिर्ने अक्टोपस कार्ड ट्याप नगरी ढोकामा प्रवेश गर्ने र निस्कने गरेको रेलवेका अधिकारहिरूले जनाएका छन्।

त्यसरी अनधिकृत रुपमा यात्रा गर्न खोज्ने यात्रुकोको संख्या बढेपछि नियन्त्रण गर्ने योजना अन्तर्गत विशेष सुरक्षा टोली खटाउने क्रममा गोर्खाली सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो।

मुख्य कार्यकारी याकुबका अनुसार आन्दोलनकारीले ५० एमटीआर स्टेसन र २५ लाइट रेल स्टेसनमा तोडफोड गरि एक करोड हङकङ डलरभन्दा बढी मूल्य बराबरको क्षति गरिदिएका छन्।

तोडफोड भएका पार्टपूर्जाहरूको मर्मत गर्ने र अपुग पार्टपूर्जाहरु निर्माता कम्पनीबाट मगाइएको छ।

तोडफोड भएका कतिपय पार्टपूर्जाहरु प्रतिस्थापित हुन नसक्ने भएकाले केही त्यस्ता रेलवे स्टेसनहरु बन्द नै गर्नु पर्ने बाध्यता रहेको उनले बताए।

हरेक वर्ष चिनियाँ चाड ‘मिड औटम’ (मुन केक) को रातभर रेल सेवा उपलब्ध हुँदै आएकोमा यसपाली आन्दोलनकै कारण उक्त सेवा रद्द गरिएको छ।

रेल सञ्चालकको यो निर्णयप्रति धेरै यात्रुले असन्तुष्टि जनाएका छन्। हङकङमा मेट्रो रेल यात्राका लागि सबैभन्दा भरपर्दो, सुरक्षित र सस्तो साधन मानिन्छ। दैनिक लाखौं यात्रु रेलमा यत्रा गरिरहेका हुन्छन्।

केही सातायता मात्र दर्जनौं स्टेसनमा प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गरेका छन्, जसले गर्दा समय अगावै रेल सेवा बन्द हुने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad