Draft


प्रदर्शन रोक्न हङकङ विमानस्थलमा गोर्खाली सुरक्षाकर्मी तैनाथ

प्रदर्शन रोक्न हङकङ विमानस्थलमा गोर्खाली सुरक्षाकर्मी तैनाथ

नेपालखबर
भदौ ८, २०७६ आइतबार ७:१९,

सुपुर्दगी विधेयक विरोधी आन्दोलन विस्तार हुँदै गएर अन्तर्राष्ट्रिय विमानस्थलमा नै हिंसात्मक अवरोध भएपछि हङकङ सरकारले गोर्खाली सुरक्षाकर्मी परिचालन गरेको छ।

हङकङको सुरक्षा क्षेत्रमा चर्चित गोर्खालीलाई विमानस्थलमा तैनाथ गरिएको यो पहिलो पटक हो। अहिले एक सय ५० बढी गोर्खाली सुरक्षाकर्मी विमानस्थलमा अस्थायी रुपमा परिचालन भएका छन्।

हङकङमा पहिले ब्रिटिश सैनिक र पछि स्थायी बासिन्दा भएर सुरक्षागार्डका रुपमा समेत काम गर्दै आएका गोर्खाली सुरक्षाकर्मी चर्चित छन्। अध्यागमन लगायतका सरकारी अड्डा, कर्पोरेट हाउस र ठूला व्यवसायीले गोर्खाली सुरक्षाकर्मीलाई विश्वास गर्ने भएकाले हङकङको सुरक्षा क्षेत्रमा नेपालीको पहिचान राम्रो बनेको छ।

विमानस्थलमा आन्दोलनकारीको प्रदर्शन प्रहरीले समेत नियन्त्रण गर्न नसक्दा धमाधम उडान रद्द हुन थालेपछि अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने क्रममा गोर्खालीसहित स्थानीय चिनियाँ सुरक्षाकर्मी तैनाथ गरिएको हो। यो अस्थायी सुरक्षा परिचालन कहिलेसम्म हुन्छ भन्ने प्रष्ट छैन।

वर्षमा साढे सात करोड यात्रु आवतजावत गर्ने हङकङ विमानस्थल विश्वकै व्यस्तमध्येको विमानस्थल हो, जहाँ ६५ हजार कर्मचारी काम गर्छन्। समुद्रमाथि रहेको यो विमानस्थल निर्माणमा केही वर्षअघि मुख्यगरी हङकङ नेपालीलाई नै संलग्न गराइएको थियो र अहिले तेस्रो रनवे निर्माणमा पनि दर्जनौं नेपाली संलग्न छन्।

आन्दोलनकारीले अघिल्लो साता हङकङ अन्तर्राष्ट्रिय विमानास्थल चेप लाप कोक परिसरमा ५ दिनसम्म कब्जा जमाएर अवागमनमा अवारोध पुर्याएका थिए। त्यसबेला एक हजार बढी उडानहरू रद्द भएका थिए भने विमानस्थलमा केही हिंसात्मक झडप समेत भएको थियो।

विश्वको एकदमै व्यस्तमध्येको हङकङ विमानस्थल अवरुद्द भएपछि संसारभर तरंग फैलिएको थियो। हङकङ आउने विश्वभरका पर्यटक र व्यवसायीले धमाधम यात्रा रद्द गरेपछि सरकार ठूलो दबाबमा परेको थियो।

हङकङको उच्च अदालतले १४ अगस्ट, बुधबार विमानस्थलमा आन्दोलनकारीले गरेका गतिविधि गैरकानुनी ठहर गर्दै आन्तरिम आदेशमार्फत निषेधाज्ञा जारी गरेको थियो। त्यही दिनबाट विमानस्थलले अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने क्रममा स्थानीय चिनियाँसहित गोर्खाली सुरक्षाकर्मी तैनाथ गरेको हो।

हङकङ विमानास्थलमा एभिएसन सेक्युरिटी कम्पनी लिमिटेडका चार हजार एक सय भन्दा बढी सुरक्षाकर्मी छन्, जसले नियमित सुरक्षा व्यवस्था गर्दै आएका छन्।

विमानस्थलमा अस्थायी रुपमा परिचालन गरिएका करिब एक सय ५० गोर्खाली सुरक्षाकर्मी सबै यसअघि सुरक्षा क्षेत्रमा काम गरेका अनुभवी र सुरक्षा लाइसेन्स प्राप्त व्यक्ति हुन्।

गोर्खाली सुरक्षाकर्मीका सुपरभाईजरका रुपमा कार्यरत पूर्व मिस्टर हङकङ नेपाल सुशील नेवाका अनुसार सुनकोशी गोर्खा सेक्युरिटी लिमिटेड, लिजेन्ड्स गोर्खा, गोर्खा इन्टरनेशनल, मेगा स्ट्रेन्थ लगायत कम्पनी मार्फत गोर्खालीहरू विमानस्थलको सुरक्षामा खटिएका हुन्। हङकङमा नेपाली लगायत सुरक्षाकर्मी सप्लाई गर्ने कम्पनी हुन् यी।

सुशील नेवा सुनकोशी गोर्खा सेक्युरिटी लिमिटेड मार्फत विमानस्थलको सुरक्षामा खटिएका हुन्, जसलाई चिनियाँ सुरक्षाकर्मी पनि ‘ताई चे लो’ (ठूल्ठूला पाखुरा भएको मान्छे) भन्दै मायाले सम्बोधन गर्छन्।

छोटो समयमै विमानस्थल व्यवस्थापन विभागका माथिल्लो तहका अधिकारीहरूसँग राम्रो सम्बन्ध बनाएका नेवा हङकङमा आर्जन गरेको प्रतिष्ठाका कारण गोर्खालीले विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी पाएको बताउँछन्।

‘हामी गोर्खालीका पूर्खाले देखाएको इमान्दारिता, कर्तव्यनिष्ठता, मेहनत र बहादुरीले कमाएको प्रतिष्ठाका कारण अहिले हामीले यस्तो महत्वपूर्ण जिम्मेवारी पाएका हौं’, नेवाले नेपालखबरसँग भने, ‘यो अवसर त पायौं तर गोर्खालीको बिरासत थाम्न हाम्रा अगाडि ठूलो चुनौती छ।’

नेवाले गोर्खालीको नयाँ पुस्ता ‘कामचोर’ बन्दै गएकाले गोर्खाको गौरवमय इज्जत माटोमा मिल्न सक्ने खतरा रहेको बताए।

‘अग्रजले कमाएको प्रतिष्ठा कायम राख्न सक्नु नै हाम्रो सफलता हो’, उनले थपे।

लिजेन्ड्स गोर्खा ग्रुपको तर्फबाट अहिले विमानस्थलमा आफ्नो समूहको इन्चार्ज बनेका बर्दन गुरुङको भनाई पनि उस्तै छ।

‘विमानस्थल प्रशासनले अहिलेको कठिन परिस्थितिमा विश्वास गरेर नेपालीलाई पनि सुरक्षाको जिम्मेवारी दिनुको कारण हाम्रो गोर्खा ब्रान्ड नै हो’, बर्दन भन्छन्, ‘अहिलेको आन्दोलनमा नेपाली समुदाय तटस्थ रहेकाले पनि सायद गोर्खाली सुरक्षाकर्मी छनोटमा परेका हुन्।’

दैनिक तलब १७ देखि २४ हजार
अस्थायी रुपमा विमानस्थलमा खटिएका गोर्खाली सुरक्षाकर्मीको तलब भने कम्पनी अनुसार फरक फरक रहेको छ। बर्दन गुरुङका अनुसार एक जना गोर्खाली सुरक्षाकर्मीको दैनिक तलब एक हजार दुई सय (करिब १७ हजार पाँच सय रुपैयाँ) देखि एक हजार सात सय (२४ हजार सात सय रुपैयाँ) हङकङ डलरसम्म रहेको छ।

हङकङमा विभिन्न कम्पनी मार्फत यसरी काम गर्ने सुरक्षाकर्मी वा अन्य कामदारको तलब कम्पनी र सम्बन्धित कामदारको सहमती अनुसार निर्धारण गरिन्छ। अहिले विमानस्थलको हकमा पनि कम्पनीहरूले प्रति सुरक्षाकर्मी निश्चित तलब अनुसार आफुले लगेका समूहको एकमुष्ठ रकम लिन्छन्, र आफुले कमिसन खाएर कामदारलाई सकेसम्म सस्तोमा काम लगाउँछन्।

एकै ठाउँमा एउटै प्रकृतिको काम गर्दा तलब फरक फरक भएको भन्दै कतिपय गोर्खाली सुरक्षाकर्मीले असन्तुष्टी प्रकट गरेका छन्। नाम खुलाउन नचाहने नेपाली कम्पनीका एक जना अधिकारीले विमानस्थल व्यवस्थापनबाट एक जना गोर्खाली सुरक्षाकर्मीको दैनिक तलब कम्तिमा तीन हजार हङकङ डलर लिइएको बताए।

‘नेपालीले नेपालीलाई नै हो शोषण गर्ने’, तलब कम पाएको भन्दै गुनासो गर्ने एक जना गोर्खाली सुरक्षाकर्मीले भने, ‘कम्पनीहरूले आधा तलब बराबर नै कमिसन खाएको देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad