लद्दाखको गलवान क्षेत्रमा भारत–चीनबीच भएको हिंसात्मक सैन्य झडपमा चीनतर्फ भएको क्षतिबारे भारत सरकारबाट पहिलो प्रतिक्रिया आएको छ।
भारतका एक जना केन्द्रीय मन्त्री जनरल भिके सिंहले चीनतर्फ ४० जना सैनिकको मृत्यु भएको दाबी गरेका छन्।
‘यदि हामीले २० जना सैनिक गुमायौं भने उनीहरू (चीन) तर्फ दुई गुणाभन्दा बढी मारिए’, भारतको द हिन्दुले पूर्व जनरल तथा हालका केन्द्रीय मन्त्री सिंहलाई उधृत गरेको छ, ‘चीनले नम्बर लुकाउँछ, सन् १९६२ को युद्धमा पनि हताहतीको संख्या स्वीकार गरेको थिएन।’
भारत–चीन सीमा विवाद चर्किंदै जाँदा गलवान क्षेत्रमा गत सोमबार भएको हिंसात्मक सैन्य भिडन्तमा मारिने सैनिकको संख्यामा फरक फरक दाबी आइरहे पनि भारतको केन्द्र सरकारको तर्फबाट चीनतिर भएको क्षतिबारे कुनै प्रतिक्रिया आएको थिएन।
भारततर्फ २० सैनिक मारिएको सार्वजनिक भएपनि चीनतर्फ कति मारिए भन्ने खुलेको छैन। चीनतर्फ पनि सेना मारिएको आशंका गरिएपनि चीनले यसबारे केही बताइरहेको छैन।
भारतीय सेनालाई उधृत गर्दै आएको चीनले भिडन्तको क्रममा नियन्त्रणमा लिएका १० जना भारतीय सैनिकलाई तीन दिनपछि छोडेको खबरको बेइजिङले खण्डन गरेको थियो। बेइजिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भिडन्तमा भारतीय सैनिक नियन्त्रणमा नलिएको बताएका थिए।
चीनले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा भारतीय सेना घुसेपछि भिडन्त भएको बताउँदै आएको छ भने भारतीय पक्षले चिनियाँ सेनाकै कारण झडप भएको बताइरहेको छ।
बेइजिङले गलवान क्षेत्र चीनको भाूभाग रहेको दोहोर्याएपछि दिल्लीले चाहिँ त्यसलाई ‘अतिरिन्जित र अस्थिर’ दाबी भनेको छ।
शुक्रबार भएको सर्वदलीय बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘चिनियाँ सेना भारतीय भूभागमा नघुसेको’ स्पष्टीकरण दिएका थिए, जसले दिल्लीमा विवाद निम्त्याएको छ।
गलवान क्षेत्रमा भएको भिडन्तपछि मोदीले चीनको सीमा क्षेत्रका भारतीय सेनाका हवाई अखडामा लडाकु विमान र सैन्य संख्या वृद्धि गरेका छन्।

प्रतिक्रिया