नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पूँजीवादी र साम्यावादीहरु जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावादतर्फ उन्मुख भएको बताएका छन्।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले निबार आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश’ विषयक भर्चुअल अन्तरक्रियामा उनले पूँजीवादी र साम्यवादीहरु उपभोक्तवादमा लागेकाले काँग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद जनताप्रतिको दायित्व पूरा गर्ने मध्यमार्गी बाटो हुने दाबी गरे।
पूँजीवादीले जनताप्रतिको दायित्व राज्यसँग नहुने मान्यता राख्ने भएकाले कोरोना महामारीका बेलामा जनताप्रतिको दायित्व पूरा गर्न नसकेको उनले बताए। वरिष्ठ नेता पौडेलले साम्यवादीहरु पनि अहिले बजारीकरण र उपभोक्तावादतर्फ लागेको आरोप लगाए।
पौडेलले गाउँको विकास, गाउँको उन्नति, गाउँमा नै जनतालाई रोजगारी अनि गाउँमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु नै समाजवाद भएको उल्लेख गर्दै नेपालमा श्रमको सम्मान हुन नसक्दा नेपालीहरु विदेशिनुपरेको बताए।
काँग्रेसले पनि हलो क्रान्ति र मजदुर आन्दोलन बेलाको श्रमलाई सम्मान गर्ने संस्कृति जोगाउन नसकेको उनको भनाइ थियो। पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशिने र शहरमा जनसङ्ख्याको चाप बढ्ने अनि गाउँ रित्तो हुने अवस्थाको अन्त्य नहुने तर्क गरे।
वरिष्ठ नेता पौडेलले महाकाली सन्धिको कार्यान्वयन नहुँदा सुदूरपश्चिमको हुनुपर्ने जति विकास हुन नसकेको बताए। उनले महाकाली सन्धि गर्दा कुनै राष्ट्रघात नभएको दाबी गरे। सन्धिमा महाकाली नदीलाई अधिकांश सीमा भनेर राष्ट्रघात भएको भन्नेहरुलाई महाकालीलाई सीमा नदीमात्र भन्दा चाँदनी दोधारा कुन मुलुकमा पर्छ भनी प्रश्न गरे।
नेता पौडेलले लकडाउन खुकुलो हुन थालेकाले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने बताए। महाधिवेशन गरेर पार्टीमा व्यापक सुधार गर्न आवश्यक रहेको र पार्टी ‘भिजन’ एवं ‘मिसन’ सहितको नेतृत्वका आधारमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। रासस

प्रतिक्रिया