मिनियापोलिसमा भएको हत्याको विरोधमा अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन हुँदा प्रहरीसँग झडप समेत भएको बीबीसीले जनाएको छ।
प्रदर्शनकारीले जर्ज फ्लोइडको हत्यामा न्यायको माग गर्दै ह्वाइट हाउसको बाहिर विरोध प्रदर्शन गरेका छन्। साथै मिनेसोटा, न्यू योर्क, एटलान्टा र अरू क्षेत्रमा हिंसात्मक प्रदर्शन भएको जनाइएको छ।
हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका एकजना पूर्व प्रहरी डेरेक चौविनलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ।
गोरा जातिका चौविनले ४६ वर्षीय काला जातिका फ्लोइडको घाँटी थिचेको फूटेज सार्वजनिक भएको थियो।
यस घटनामा चौविन र थप तीनजना प्रहरीहरूलाई उक्त काण्डका कारण यस अघि नै सेवाबाट बर्खास्त गरिएको थियो।
चौविनलाई सोमवार पहिलोपटक मिनियापोलिसस्थित एक अदालतमा उपस्थित गराइने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस घटनालाई भयानक भन्दै आफूले फ्लोइडका परिवारसँग कुराकानी गरेको बताएका छन्।
हत्याविरुद्धको प्रदर्शनपछि मिनेसोटामा स्थिति गम्भीर छ। मिनियापोलिस र सेन्ट पल शहरमा शुक्रवार र शनिवार बेलुका ८ देखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ।
प्रदर्शनकारीले कर्फ्यु तोड्दै सडकमा टायर बालेको बताइएको छ। एजेन्सी
Shares

प्रतिक्रिया