ad ad

Draft


जहाँ मनमनै होइन, चिच्याएर ‘वर’ मागिन्छ

जहाँ मनमनै होइन, चिच्याएर ‘वर’ मागिन्छ

कृष्ण दर्नाल
कात्तिक २०, २०७६ बुधबार ११:३०,

हिन्दू धर्मानुसार मन्दिरमा गएर भगवानसँग मनमनै ‘वर’ माग्नु नौलो होइन तर यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ।

जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती तालको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने यहाँको पुरानो चलन हो। तीन दिनसम्म चल्ने मेला कात्तिक २४ गतेबाट सुरु हुँदैछ।

सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग चिच्याएर वर माग्ने धार्मिक मेला प्रत्येक वर्षझैँ यो वर्ष पनि आइतबारबाट सुरु हुँदैछ। सत्यवती ताल क्षेत्रमा बाजेबजै दुवैको मन्दिर रहे पनि विशेष गरी बजैसँग चिच्याएर वर माग्दा पूरा हुने धार्मिक विश्वास छ।

सत्यवती बज्यैले कानले सुन्दिनन् भन्ने जनविश्वास छ। त्यसैले पुस्तौँदेखि चिच्याएर वर माग्ने गरिएको हो । वर माग्न र सत्यवती माईको दर्शन गर्न जानेले बाँस र पातीको लिंगोसँगै लिएर जान्छन्। सोही लिंगोलाई तालको छेउमा गाडेर पूजा गर्ने चलन रहेको सत्यवती ताल विकास समितिका अध्यक्ष तिलबहादुर गाहाले बताए।

सत्यवतीमा पूजाअर्चना गर्दा मागेको पूरा हुने भएपछि यहाँ बली चढाउने भीड लाग्ने र चिच्याएर वर माग्ने कारण चहलपहल बढ्दै गएको अध्यक्ष गाहाले बताए। उनका अनुसार यसपालि पूजा गर्ने जोग परेको दाबी छ। कात्तिक महिनामा बालाचतुर्दशी परेकोमा जोग परेको भन्ने चलन छ। ‘पहिला पहिला रातिको समयमा नै पूजा हुने चलन रहेको थियो। पछिल्ला वर्ष श्रद्धालु भक्तजनका सहजताका लागि दिनमा समेत पूजा हुन थालेको छ’, अध्यक्ष गाहाले भने।

सत्यवती मन्दिर विकास समितिको आयोजनामा हुन लागेको तीन दिने धार्मिक मेलाका अवसरमा देश तथा विदेशबाट झण्डै तीन लाख पर्यटक आउने विश्वास गाउँपालिकाको अध्यक्ष ओमबहादुर घर्तीको छ।

मेला भर्न जिल्लाभित्रका साथै गुल्मी, रुपन्देही, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, चितवन, काठमाडौँ, दाङ, पोखरासहित भारतको गोरखपुर, गोन्डा, लखनउ, नौतनहवाबाट पनि भक्तजन आउने बताइएको छ।

सत्यवती तालको महत्व

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले सत्यवती ताल क्षेत्र महत्वपूर्ण छ । पहाडको उच्च भागमा रहेको ताल क्षेत्र सधैँ चिस्यान रहने हुँदा शीतल हावाका लागि पर्यटक त्यहाँ पुग्न रुचाउने गर्दछन्। वन, वातावरण र जैविक विविधताको हिसाबले यस क्षेत्रको महत्व रहेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिए।

सीमसार क्षेत्रमा दुर्लभ

चार रोपनी क्षेत्रफलमा फैलिएको सत्यवती ताल क्षेत्र सीमसार क्षेत्रमा रहेको दुर्लभ तालका रुपमा रहेको पाइन्छ। चुरे र सीमसार क्षेत्रमा कमै मात्रामा ताल हुने र त्यसमध्येकै यो एउटा महत्वपूर्ण ताल रहेको छ। तालको छेउमा बाजेबज्यैको मन्दिर छ। तालको वरिपरि पर्यटकका लागि व्यवस्थित गोरेटो बाटो पनि छ।

कसरी गर्ने पूजा?
ताललाई तीन पटक घुम्दै वर माग्नुपर्छ। स्थानीय संस्कृतिअनुसार चिच्याएर वर जसले माग्छ, उसलाई पूरा हुने विश्वासका साथ चिच्याउने गर्छन्। त्यसपछि तालको छेउमा बाँसको लिङ्गो गाडेर पूजा गर्ने चलन छ।

त्यहाँ पूजा गरी बज्यैको मन्दिरमा दर्शन गरी टीका ग्रहण गर्न सकिने मन्दिरका सचिव लालबहादुर दर्लामी बताए। मन्दिर नजिकै पूजा गर्ने स्थान तोकिएको छ। त्यहाँ बलि चढाउने चलन पनि छ। बोका, पाथी, हाँस, राँगा चढाउने चलन रहिआएको छ । परेवालाई उठाउने चलन पनि रहेको सचिव दर्लामीले बताए।

कसरी पुग्ने ताल?

रुपन्देहीको बुटबल उपमहानरपालिका क्षेत्रबाट आउनेलाई दोभानको झुम्सा पानीमिलबाट पूर्व दिशातर्फ पैदल हिँड्नुपर्ने हुन्छ। करीब ६ किलोमिटर उकालो यात्रा सकेपछि सत्यवती क्षेत्रमा पुग्न सकिन्छ। सत्यवती क्षेत्रमा उकालो हिँड्नु पर्दैन। झम्सादेखि करीब दुई घण्टामा सत्यवती पुग्न सकिन्छ।

पाल्पाको तानसेन हुँदै सत्यवती ताल पुग्न करीब दुई घण्टा लाग्छ। पाल्पा तानसेन सडकको चौबीस माइलबाट करीब दुई घण्टा उकालो यात्रा गरेपछि सत्यवती ताल पुगिन्छ। मेला अवधिभर यातायातको साधन सञ्चालनमा समितिले रोक लगाएको छ। भक्तजनका कारण बाटोमा भीड हुने भएकाले यातायातका साधन सञ्चालनमा रोक लगाएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .