रोमानियाको राजधानी बुखारेस्टमा नेपालीहरूको राहदानी नवीकरणका लागि सञ्चालन गरिएको घुम्ती शिविर सम्पन्न भएको छ।
राहदानी विभाग, काठमाडौँको समन्वयमा जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले शिविर सञ्चालन गरेको हो।
बुखारेस्टस्थित चौतारी रेस्टुरेन्टमा मार्च २७ बाट सुरु भएको शिविर मार्च ३१ मा सम्पन्न भएको हो।
राजदूतावासका प्रथम सचिव रन्जन यादवको नेतृत्वमा तृतीय सचिव दिपेन्द्रप्रसाद साह तथा राहदानी विभाग काठमाडौँका अधिकृतहरू आनन्द चुवाई सुवेदी र सुवास मगरको संयुक्त टोलीले ५ दिनसम्म राहदानी नवीकरण तथा कन्सुलर सेवा प्रदान गरेको थियो।
घुम्ती शिविरमा १ हजार ३ सय ९१ जना सेवाग्राहीले राहदानी नवीकरणका लागि प्रि-इनरोलमेन्ट फारम बुझाएका छन्। साथै १० जनाले अधिकृत वारेसनामा प्रमाणीकरण लगायतका कन्सुलर सेवा लिएको दूतावासले जनाएको छ।
रोमानियामा निर्धारित समयमा सफलतापूर्वक शिविर सम्पन्न भएको जर्मनीस्थित नेपाली राजदूतावास बर्लिनका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले जानकारी दिए।

शिविर सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्ने रोमानियाका नेपाली संघसंस्था, स्वयंसेवक, पत्रकार, कर्मचारी सबैलाई दूतावासको तर्फबाट कार्यवाहक राजदूत फुयालले धन्यवाद दिए।
उनले नेपालखबरसँग भने, ‘दूतावासले आगामी दिनमा पनि नेपाली समुदायसँग यस्तै समन्वय र सहयोगको अपेक्षा राखेको छ।’
घुम्ती टोली सञ्चालनका लागि दूतावासले रोमानियामा क्रियाशील नेपाली संघसंस्था तथा तेन्जिङ लाक्पा शेर्पा, नरेश गिरी, फुर्साङ लामा, तिलबहादुर गुरुङ, गोमादेवी थापामगर, गौरीमान लिम्बू, सागर क्षेत्री, युवराज लामिछानेलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको थियो।
५० हजार बढी नेपाली कामदार रहेको रोमानियामा हाल नेपालको कुनै पनि औपचारिक कूटनीतिक संयन्त्र छैन। त्यहाँ रहेका नेपालीले राजदूतावास स्थापना गर्न नेपाल सरकारसँग लामो समयदेखि निरन्तर माग गर्दै आएका छन्।
Shares

प्रतिक्रिया