युरोपेली मुलुक पोल्यान्डमा मृत्यु भएका स्याङ्जाका यामबहादुर आलेको परिवारलाई सम्बन्धित कम्पनी लगायतले आर्थिक सहयोग गरेका छन्।
आले काम गर्ने पोल्यान्डको स्याड्याचास्थित ड्रोसेड कम्पनी तथा ईएसटी पोलस्का (प्रालि) एजेन्सीले २ लाख ३४ हजार ४२९ रुपैयाँ ५३ पैसा वेस्टर्न युनियनमार्फत मृतककी श्रीमती दिलमाया थापा मगर आलेको नाममा सहयोग रकम पठाएको हो।
जर्मनीको नेपाली राजदूतावास तथा नेपाली अवैतनिक वाणिज्यदूतावास वारसाले यामबहादुर काम गर्ने कम्पनी तथा एजेन्सीसँग परिवारलाई आर्थिक सहयोगका लागि विशेष पहल गरेका हुन्।
यसैगरी, नेपाल मगर संघ शाखा पोल्यान्डले यामबहादुरको श्रीमतीको नेपाल बैङ्क लिमिटेड सुन्तलेटार शाखामा रहेको खातामा १ लाख १८ हजार ६२४ रुपैयाँ ६० पैसा आर्थिक सहयोग गरेको छ।
साथै, यामबहादुर काम गर्ने कम्पनी ड्रोसेड र चिवोस्की कम्पनी लगायतमा कार्यरत नेपालीहरूद्वारा संकलित २ लाख ९५ हजार ६९६ रुपैयाँ मृतक आलेको श्रीमतीको नाममा रहेको सोही बैङ्क खातामा पठाइएको हो।

मृतक यामबहादुरको श्रीमतीको नाममा सम्बन्धित कम्पनी लगायतले पोल्यान्डबाट पठाएको ६ लाख ४८ हजार ७५० रुपैयाँ १३ पैसा आर्थिक सहयोग रकम प्राप्त भएको परिवारले पनि जनाएको छ।
‘रोजगारदाता कम्पनी, यामजी काम गर्ने कम्पनीका नेपाली साथीहरूलगायत यस्तो दुःखको समयमा आर्थिक सहयोग गर्ने सबैलाई परिवारको तर्फबाट धन्यवाद,’ संस्थागत सहजीकरण गरेको नेपाल मगर संघ शाखा पोल्यान्डका अध्यक्ष नवराज राना मगरले नेपालखबरसँग भने।
रोमानियाको एक ढुङ्गा खानीमा २ वर्ष काम गरेर यामबहादुर २०२५ मे २४ मा पोल्यान्ड आएका थिए। जनवरी २७ मा सुतेकै अवस्थामा मृत्यु भएका उनको शव फेब्रुअरी १९ तारिख नेपाल पुगेर परिवारले सद्गत गरिसकेको छ।
Shares

प्रतिक्रिया