प्रवास


पोल्यान्डमा डेढ हप्तामा ३ नेपालीको मृत्यु, स्याङजाका याम सुतेकै अवस्थामा अस्ताए

पोल्यान्डमा डेढ हप्तामा ३ नेपालीको मृत्यु, स्याङजाका याम सुतेकै अवस्थामा अस्ताए

शेरबहादुर परियार
माघ १३, २०८२ मंगलबार १६:५, मध्य युरोप

युरोपेली मुलुक पोल्यान्डमा फेरि एक नेपालीको मृत्यु भएको छ। स्याङ्जा चापाकोट- १, जिमाल्थरका ३६ वर्षीय यामबहादुर आलेको सुतेकै अवस्थामा मृत्यु भएको हो।

पोल्यान्डमै जनवरी-१० मा झापाका गोपालबहादुर लिम्बू शेर्मा र जनवरी-१६ मा कास्कीका सुमन गुरुङको मृत्यु भएको थियो। गोपालको शव गत आइतबार परिवारले नेपालमा बुझेका छन् भने सुमनको शव नेपाल पठाउने अन्तिम तयारी भइरहँदा डेढ हप्ताको बीचमा थप एक नेपालीको मृत्यु भएको छ।

रोजगारीको सिलसिलामा नेपालबाट रोमानिया आएका याम २३ महिना त्यहाँ बसेर सुन्दर भविष्य खोज्दै पोल्यान्ड आएका थिए। उनको मृत्युबारे परिवारलाई जानकारी दिइसकिएको छ।

पोल्यान्डको राजधानी वारसाबाट ९८ किलोमिटरको दूरीमा रहेको स्याड्याचा सहरस्थित ड्रोसेड कम्पनीमा एजेन्सीमार्फत उनी मासु प्रशोधन तथा उत्पादन गर्ने कम्पनीमा काम गर्थे।

गत डिसेम्बर १ तारिख फिङ्गर प्रिन्ट दिएका उनी पोल्यान्डको रेसिडेन्स कार्ड आउने प्रतीक्षामा थिए।

शारीरिक रूपमा स्वस्थ रहेका याम सोमबार राति खाना खाएर सुतेका बेला अचानक छटपटिएर खाटबाट भुइँमा खसेका थिए।

‘हाम्रो रातिको ड्युटी थियो। पोल्यान्डको समय राति ९:४५ बजे ड्युटी सकेर कोठा आएर खाना खाँदा ११ बजेको थियो। खाना खाएर लगभग १२ बजे याम दाजु र म सुत्यौँ। तर एकै छिनमा उहाँ खाटबाट तल झरेको थाहा पाएँ,’ यामसँग सँगै काम गर्ने र एउटै कोठामा बस्दै आएका सिन्धुपाल्चोक चुगाल-३ का लावाङरेन्जी लामाले नेपालखबरलाई टेलिफोन सम्पर्कमा भने, ‘अनि, एजेन्सीले हतार-हतार एम्बुलेन्स बोलायो तर डाक्टरले मृत्यु भइसकेको बताए। त्यसपछि प्रहरी आएर यामको शव, राहदानीलगायत कागजात लग्यो।’

उनको मृत्युको कारण भने नखुलाइएको लामाले बताए।

रोमानियाको एक ढुङ्गा खानीमा २ वर्ष सँगै काम गरेका लावाङरेन्जी र याम २०२५ मे २४ मा पोल्यान्ड आएर सँगै काम गर्दै थिए।

यामको मृत्युबारे नेपालखबरले पोल्यान्डसमेत कार्यक्षेत्र रहेको जर्मनीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सागर प्रसाद फुयालसँग जिज्ञासा राखेको थियो। फुयाल भन्छन्, ‘बिहानै दुःखद खबर प्राप्त भएको छ। रोजगारदाता कम्पनीसँग समन्वय गरी याम आलेजीको शव नेपाल फर्काउन तत्काल आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad