अस्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्तीका अवसरमा ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्।
अस्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेनलगायत सबै राज्यका प्रमुख सहरमा कार्यक्रम आयोजना गरी यहाँका नेपालीले पृथ्वीनारायण शाहको सम्झना गरेका हुन्।
सिड्नीको ग्रानभिलस्थित नेपालीहरूको लोकप्रिय रेस्टुरेन्ट 'फ्लेभर्स अफ नेपाल' मा पृथ्वीनारायण शाहको योगदानबारे संगोष्ठी सम्पन्न गरियो।
विगतमा वर्षमा खुला पार्कमा मनाउने गरिएको पृथ्वी जयन्ती यसपटक मौसमका कारण रेस्टुरेन्टको इभेन्टहलमा मनाइएको अस्ट्रेलियास्थित नेपाली कम्युनिटी प्लाटफर्म नेपालीपेजका मदनमणि अधिकारीले जानकारी दिए।
पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेर सुरु गरिएको कार्यक्रममा युवा अभियन्ता तथा व्यवसायी दीपक पौडेलले भने, 'नेपालका राष्ट्र निर्माताका बारेमा वादविवाद आवश्यक छैन।'
केही राजनीतिक दलले इतिहास मेटाउने दुष्प्रयास गरेको आरोप उनले लगाए।
एनआरएन अभियन्ता डिला खरेलले नेपाली भएर अस्ट्रेलियामा शिर उठाएर हिँड्न सक्ने अवस्था बन्नु नै ठूलो विषय भएको बताए।
अस्ट्रेलियाका नेपाली पत्रकार हेमन्त काफ्लेले इतिहास बिर्सिंदा भविष्य पनि अन्धकारमा पर्ने उल्लेख गर्दै पृथ्वी जयन्ती मनाउनुपर्ने बताए।
पृथ्वीनारायण शाहको योगदानले नेपाली बन्न पाएको भन्दै उनले कृतज्ञता व्यक्त गरे।
उनले भने, ‘यतिखेर अनेक वाद, दल र सिद्धान्तका आधारमा विभाजित भइरहेको क्षणमा ३०० वर्षअघि हामी कसरी एक परिवार जसरी मिलेर देश र परिचय निर्माणमा जुटेका थियौँ भन्ने सम्झन आजको दिनले झकझक्याउँदछ।'
कार्यक्रममा अर्का युवा अभियन्ता धर्वेन्द्र यादवले राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपाल र नेपालीको पहिचान भएको धारणा राखे।
विश्वमा नेपाली भनेर चिनिन पाएका कारण पृथ्वी जयन्तीलाई अस्ट्रेलियामा ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाउने गरिएको आयोजक कमिटीका मदनमणि अधिकारीले बताए।
कार्यक्रममा सिड्नीका सामुदायिक अगुवाहरू यम धिताल, राजेश केसी, बिजे शाहलगायतले पृथ्वीनारायणको योगदानबारे चर्चा गरेका थिए।
अस्ट्रेलियाको नेपाली कम्युनिटी प्लाटफर्म नेपालीपेजले अस्ट्रेलियामा रहेका करिब दुई लाख नेपालीलाई जोड्छ।
नेपालीपेजले अस्ट्रेलियाका नेपालीलाई काम, घर, कोठा तथा करिअर र व्यवसाय विकासमा समेत सहयोग पुर्याइरहेको छ।
Shares

प्रतिक्रिया