युरोपेली मुलुक ग्रिसको एथेन्स विमानस्थलमा मृत्यु भएका ओखलढुङ्गाका राजकुमार राईको शव मङ्गलबार नेपाल पठाइएको छ।
ओखलढुङ्गाको मोलुङ्ग-८ घर भई ललितपुरको गोदावरी नगरपालिका-१४, थैबमा अस्थायी बसोबास गर्दै आएका ३७ वर्षीय राईको चेक रिपब्लिकबाट नेपाल जाने क्रममा मे १६ मा एथेन्स विमानस्थलको ट्रान्जिटमा मृत्यु भएको थियो।
चेक रिपब्लिकबाट नेपाल हिँडेका राजकुमार, श्रीमतीलाई ग्रिसको ट्रान्जिट पुगेर फोन गर्छु भन्थे त्यहीँ बिलाए
राजकुमारको मे १६ तारिख चेक रिपब्लिकबाट एथेन्स हुँदै १७ तारिख नेपाल आइपुग्ने हवाई टिकट थियो।
‘राजकुमार राईको शव आज कतार एयरलाइन्सको उडानबाट नेपाल पठाइएको छ,’ ग्रिससमेत कार्यक्षेत्र रहेको भियनास्थित नेपाली राजदूतावास अस्ट्रियाका प्रथम सचिव अनिल लम्सालले नेपालखबरसँग भने।
प्रथम सचिव लम्सालका अनुसार राईको शव आज ९ तारिख ग्रिसको विमानस्थलबाट कतारको दोहा हुँदै १० तारिख अपराह्न नेपाली समय ४:४५ बजे काठमाडौँ पुग्ने उडान तालिका छ। यसको जानकारी मृतकका परिवारलाई गराइसकिएको छ।
यसैबीच, मृतक राईको साली सुवेक्क्षा नेपालले परिवारको तर्फबाट शव नेपाल पठाउन सहयोग गर्ने सबैलाई आभार प्रकट गरेकी छिन्।
‘भिनाजुको शव नेपाल पठाउन सहजीकरण गरिदिनुहुने नेपाल सरकार, नेपाली दूतावास अस्ट्रियालगायत सबैलाई धन्यवाद,’ सुवेक्क्षाले नेपालखबरसँगको टेलिफोन संवादमा भनिन्।
राजकुमारको एथेन्स विमानस्थलको ट्रान्जिटमा मृत्यु भएको सूचना प्राप्त भएपछि नेपालखबरले लामो प्रयासमा उनको परिवारलाई दूतावासको सम्पर्कमा ल्याएको थियो।
सन् २०२४ डिसेम्बर १४ मा रोजगारीको सिलसिलामा नेपालबाट रोमानिया आएका राजकुमार चेक रिपब्लिक आएर अवैधानिक रूपमा काम गर्दै आएका थिए। उनको श्रीमती तथा १२ र ४ वर्षका दुई छोरी छन्।
Shares

प्रतिक्रिया