प्रवास


रास्वपा प्रवास विभाग पोल्यान्डको अधिवेशन डिसेम्बर २४ मा, भिसा समस्याले प्रवक्ता झा पाएनन् आउन

रास्वपा प्रवास विभाग पोल्यान्डको अधिवेशन डिसेम्बर २४ मा, भिसा समस्याले प्रवक्ता झा पाएनन् आउन

शेरबहादुर परियार
पुस ४, २०८२ शुक्रबार १५:३०, मध्य युरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास संगठन प्रवास नेपाली सम्पर्क विभाग पोल्यान्डको नेतृत्व चयनका लागि अधिवेशन हुँदैछ।

२४ डिसेम्बरमा राजधानी वारसास्थित हिमालयन यति रेस्टुरेन्टमा हुने अधिवेशनको उद्‌घाटनका लागि रास्वपाका प्रवक्ता मनिष झालाई प्रमुख अतिथि बनाइएको थियो।

तर, झा आउने कार्यक्रम अन्तिममा स्थगित भएको पोल्यान्ड सम्पर्क विभागले जनाएको छ।

भिसासम्बन्धी विशेष कारणले (भिसा इस्यु डेट) गर्दा प्रवक्ता झा आउन नसक्ने सूचनामार्फत पोल्यान्ड सम्पर्क विभागले जानकारी गराएको छ।

रास्वपा प्रवास नेपाली सम्पर्क विभाग पोल्यान्डका सचिव विशाल खतिवडाले नेपालखबरलाई बताएअनुसार भिसाकै कारणले झा प्रत्यक्ष उपस्थित हुन नसक्ने भएका हुन्।

‘प्रवक्ताज्यू कार्यक्रमलाई सम्बोधन गर्न पोल्यान्ड आउने तयारी थियो। सबै संघसंस्थालाई त्यही अनुसार पत्राचारसमेत गरिसकिएको हो। तर, भिसाको कारणले उहाँ अधिवेशनमा आउन नसक्ने हुनु भयो,’ खतिवडाले भने, ‘भौतिक उपस्थित हुन सक्ने अवस्था नरहे पनि प्रवक्तालगायत रास्वपाका केन्द्रीय नेताले भर्चुअल माध्यमबाट अधिवेशनलाई सम्बोधन गर्नुहुनेछ।’

झाले नेपालस्थित जर्मनी दूतावासमा भिसाका लागि आवेदन दिएका थिए। जनवरीमा हुने सपथ ग्रहण समारोहमा भने झा पोल्यान्ड आउन सक्ने खतिवडाको भनाइ छ।

अधिवेशनको तयारी पूरा भइसकेको उनी बताउँछन्। ‘क्रिसमसको बिदा पनि परेको छ, यही बेलामा कार्यक्रम भएकोले उपस्थिति भव्य रहने देखिन्छ,’ खतिवडाले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad