प्रवास


पोल्यान्डको माजोभियच्की प्रान्तमा उत्कृष्ट बनेका सुवेदी राष्ट्रियस्तरमा पनि बने ‘सर्जन अफ दि इयर’

पोल्यान्डको माजोभियच्की प्रान्तमा उत्कृष्ट बनेका सुवेदी राष्ट्रियस्तरमा पनि बने ‘सर्जन अफ दि इयर’

शेरबहादुर परियार
मंसिर ५, २०८२ शुक्रबार १५:४, मध्य युरोप

युरोपेली मुलुक पोल्यान्डको सबैभन्दा ठूलो चिकित्सा क्षेत्रको हिप्पोक्रेट्स २०२५ को  ‘सर्जन अफ दि इयर’मा माजोभियच्की प्रान्तका विजेता डा. बोधराज सुवेदी राष्ट्रियस्तरमा पनि विजयी बनेका छन्।

हाल वारसास्थित युरोपियन हेल्थ सेन्टरको ओन्कोलोजिकल सर्जरी विभागमा कार्यरत रहेका सुवेदी वारसा क्षेत्रका लागि नेपाली अवैतनिक वाणिज्यदूत समेत हुन्।

सन् १९८९ मा छात्रवृत्तिमा अध्ययनका लागि पोल्यान्ड आएका उनले सन् १९९६ मा पोल्यान्डको भ्रोस्वाभ मेडिकल युनिभर्सिटीबाट उच्च चिकित्साशास्त्रको अध्ययन पूरा गरेका हुन्। शल्यक्रियामा लामो अनुभव भएका उनको रुचिको सेवा क्षेत्र महिलामा हुने स्तन क्यान्सर रहेको छ।

पोल्यान्डको प्रसिद्ध समाचार संस्था पोलस्का न्युजले स्वास्थ्य क्षेत्रका विभिन्न विधालाई एसएमएस भोटिङमार्फत वर्षका उत्कृष्ट छनोट गर्दछ। आयोजक संस्थाले राष्ट्रियस्तरको छनोट गर्न भोटिङका लागि (हिजो) नोभेम्बर २० तारिख राति ९ बजेसम्म तोकेको थियो।

आयोजक संस्थाद्वारा अनलाइनमा उपलब्ध अन्तिम नतिजाअनुसार विजयी भएका सुवेदीले ५२ सय ३१, दोस्रो हुने भिएचेस्लाभ ब्रिच्कोस्भीले ४६ सय ४५ र तेस्रो स्थान हासिल गर्ने माग्देलेना माजले ४२ सय ५ भोट प्राप्त गरेका छन्।

राजधानी रहेको माजोभियच्की प्रान्तको विजेता सुवेदी तथा पोल्यान्डका  अन्य १६ वटा प्रान्तबाट विजयी भएर आएका राष्ट्रियस्तरको अन्तिम प्रतिस्पर्धामा थिए।

वारसास्थित रोयल क्यासलको ग्रान्ड हलमा डिसेम्बर ६ मा सबै विधाका फाइनल विजेतालाई आयोजकको तर्फबाट पुरस्कार प्रदान गरिनेछ। सबै विधाका विजेताले नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्ने छन्।

‘मलाई यो यात्रामा साथ, हौसला तथा समर्थन प्रदान गर्ने सबैलाई धन्यवाद छ,’ सुवेदीले अन्तिम नतिजा सार्वजनिक भएपछि खुसी हुँदै नेपालखबरसँग भने, ‘यो विजय मेरा प्रिय बिरामीहरू, साथीहरू तथा सम्पूर्ण नेपाली समुदायको सहयोग र समर्थनको उपलब्धि हो। यो जित मेरा क्यान्सर बिरामीहरूलाई समर्पण गर्न चाहन्छु।’

सुवेदी थप्छन्, ‘यो सफलता नेपाल र नेपालीको गौरव हो, जसले मलाई यस क्षेत्रमा  अझ राम्रो गर्न मनोबल बढाएको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad