प्रवास


पोल्यान्डको प्रान्तीय उत्कृष्ट सर्जनमा नेपाली विजयी, बोधराज सुवेदी बने ‘सर्जन अफ दि इयर’

पोल्यान्डको प्रान्तीय उत्कृष्ट सर्जनमा नेपाली विजयी, बोधराज सुवेदी बने ‘सर्जन अफ दि इयर’

डा बोधराज सुवेदी


शेरबहादुर परियार
कात्तिक २१, २०८२ शुक्रबार ११:५४, पोल्यान्ड

युरोपेली मुलुक पोल्यान्डको सबैभन्दा ठूलो चिकित्सा क्षेत्रको हिप्पोक्रेट्स २०२५ को प्रान्तीय ‘सर्जन अफ दि इयर’ मा डा बोधराज सुवेदी विजयी बनेका छन्।

सुवेदीले पोल्यान्डको राजधानी वारसा क्षेत्रसमेत पर्ने माजोभियच्की प्रान्तबाट सयभन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरेका हुन्।

पोल्यान्डको प्रसिद्ध समाचार संस्था पोलस्का न्युजले स्वास्थ्य क्षेत्रका विभिन्न विधालाई एसएमएस भोटिङमार्फत वर्षका उत्कृष्ट छनोट गर्दछ। आयोजक संस्थाले प्रान्तीयस्तरको छनोट गर्न भोटिङका लागि (हिजो) नोभेम्बर ६ तारिख राति ९ बजेसम्म तोकेको थियो।

तोकिएको निर्धारित अन्तिम समयको अनलाइनमा उपलब्ध नतिजाअनुसार विजयी भएका सुवेदीले २२ सय ९३ र दोस्रो स्थान हासिल गर्ने राफल ग्रोस्कीले १५ सय ८६ मत प्राप्त गरेका छन्।

माजोभियच्की प्रान्तको विजेता सुवेदी तथा अन्य १६ वटा प्रान्तबाट विजयी भएर आएकाबीच राष्ट्रियस्तरको २०२५ को ‘सर्जन अफ दि इयर’का लागि अन्तिम प्रतिस्पर्धा हुनेछ।

आगामी डिसेम्बर ६ मा राष्ट्रियस्तरका विजयी घोषणासहित समापन कार्यक्रम राजधानी वारसास्थित रोयल क्यासलको ग्रान्ड हलमा भव्य समारोहबीच हुनेछ। समापन समारोहमा सबै विधाका फाइनलका विजेताले पुरस्कार प्राप्त गर्नेछन्। 

‘मलाई यो यात्रामा साथ, हौसला तथा समर्थन प्रदान गर्ने सबैलाई धन्यवाद छ,’ सुवेदीले खुसी हुँदै नेपालखबरसँग भने, ‘यो उपलब्धि मेरो व्यक्तिगत परिणाम मात्र होइन, सम्पूर्ण नेपाली समुदायको गौरव तथा सबैको अटुट समर्थन र विश्वासको प्रतिफल हो। आगामी चरणमा हुने अन्तिम प्रतिस्पर्धामा पनि तपाईँहरूकै आशीर्वादका साथ प्रस्तुत हुने प्रतिबद्धता जनाउन चाहन्छु।’

नेपालीमूलका पोलिस नागरिक सुवेदी वारसा क्षेत्रका लागि नेपाली अवैतनिक वाणिज्यदूत समेत हुन्। पोल्यान्डको भ्रोस्वाभ मेडिकल युनिभर्सिटीबाट उच्च चिकित्साशास्त्रको अध्ययन पूरा गरेका उनले सन् २०२४ को ‘सर्जन अफ दि इयर’को माजोभियच्की प्रान्तबाट दोस्रो स्थान हासिल गरेका थिए।

शल्यक्रियामा लामो अनुभव हासिल गरेका उनी वारसास्थित युरोपियन हेल्थ सेन्टरको ओन्कोलोजिकल सर्जरी विभागमा कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad