युरोपेली मुलुक पोल्यान्डमा स्व. राजा वीरेन्द्रको सम्झनामा एक दिवसीय फुटबल प्रतियोगिता हुने भएको छ। पोल्यान्डका नेपाली युवाहरूको क्लब द ब्रदरहुडको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।
सेभेन ‘ए’ साइडमा हुने सातौँ संस्करणको यो फुटबल प्रतियोगिताका लागि टिम दर्ता आगामी डिसेम्बर १९ सम्म गर्न सकिने बताइएको छ।
क्रिसमसको बिदालाई सदुपयोग गर्दै डिसेम्बर २५ मा पोल्यान्डको राजधानी वारसास्थित डोमिनिका मेरिलिनेगोमा रहेको वारसा फुटबल सेन्टरको मैदानमा खेल हुनेछ। आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ।
प्रतियोगितामा फिनल्यान्ड लगायतका अन्य युरोपियन मुलुकका नेपाली फुटबल टिमको सहभागिता रहने आयोजक क्लब द ब्रदरहुडका संयोजक मुकुल बोहोराले जानकारी दिए।

‘गत वर्षको छैटौँ संस्करणमा पोल्यान्डबाट १६ भन्दा बढी नेपाली फुटबल टिमको सहभागिताले क्लबलाई थप हौसला बढाएको छ। पोल्यान्ड र अन्य युरोपियन मुलुकमा बस्ने नेपालीहरूबीच खेलकुदको माध्यमबाट एकता, सहकार्य र भाइचारा अभिवृद्धिमा मद्दत गर्नु नै प्रतियोगिताको उद्देश्य रहेको छ’, बोहोराले भने।
प्रतियोगितामा प्रथम हुने टिमले ७ हजार ज्लौटी (२ लाख ७० हजार रुपैयाँ) सँगै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय हुने समूहले ३७ सय ७७ ज्लौटी (रु १ लाख ५० हजार) तथा तृतीय हुनेले २७ सय ७७ ज्लौटी (१ लाख १० हजार रुपैयाँ) तथा मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिनेछ।
सन् २०१८ देखि हरेक वर्ष द ब्रदरहुड फुटबल क्लबले पोल्यान्डमा राजा वीरेन्द्र स्मृति फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ।
Shares

प्रतिक्रिया