प्रवास


जर्मनीको फ्रान्कफर्ट पुस्तक मेलामा नेपाली साहित्यले पनि देखायो उपस्थिति

जर्मनीको फ्रान्कफर्ट पुस्तक मेलामा नेपाली साहित्यले पनि देखायो उपस्थिति

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १६:३१, जर्मनी

जर्मनीको फ्रान्कफर्टमा अक्टोबर १५ देखि १९ सम्म चलिरहेको विश्वप्रसिद्ध पुस्तक मेलामा नेपाली साहित्यिक सिर्जनाको एक कार्यक्रमका बीच चर्चा भएको छ।

कार्यक्रममा नेपालका दुई स्रष्टा— सागर फुयाल र रमण जैसेरीले आ-आफ्ना पुस्तकका बारेमा विचार एवं प्रस्तुति दिएका थिए।

कवि तथा गीतकार सागर फुयालले आफ्ना कृति ‘अञ्जुलीमा थाप्न पाए’ र ‘आफैँलाई खोज्न मन छ’ का बारेमा बोल्नुका साथसाथै चाँडै बजारमा आउने नयाँ कृतिको तयारी भइरहेको समेत उल्लेख गरे।

फुयालले आफ्ना गीतहरूले पाएको लोकप्रियताका बारेमा पनि कार्यक्रममा जानकारी गराए।

शिव परियारको स्वरमा मिरुना मगर अभिनीत उनको गीत ‘तिमी हौ सबथोक मेरो’ सामाजिक सञ्जालमा पाँच लाखभन्दा बढी दर्शकले हेरेको उनले उक्त अवसरमा बताएका थिए। 

कथाकार रमण जैसेरीले आफ्नो कथा सङ्ग्रह ‘कथा हुन् कथा हैनन्’ का अंश वाचन गर्दै जर्मनीमा बस्ने आप्रवासी नेपालीहरूले भोग्ने वास्तविक समस्यालाई साहित्यमा कसरी उतारिएको छ भन्नेबारे कुरा गरे।

उनले अंग्रेजी वा जर्मन लेख्न सक्ने भए पनि नेपालीमा लेख्दा आत्मीयता र भावनात्मक स्पष्टता झल्किने बताए।  

कार्यक्रम प्रवासी सल्लाहकार परिषद् केल्कहाइमकी सदस्य हरप्रित कौरले सञ्चालन गरेकी थिइन्।

फ्रान्कफर्ट परिषद्की उपाध्यक्ष डा. आड्रियाना माक्सिमो दोस सान्तोसको उपस्थितिमा भएको कार्यक्रममा लेखकहरूले आफ्ना प्रकाशित रचनाबाट नेपाली र अंग्रेजी दुवै भाषामा अंश वाचन गरेका थिए।

हरेक वर्ष दुई लाखभन्दा बढी श्रष्टा र पाठक सहभागी हुने फ्रान्कफर्ट पुस्तक मेलामा नेपाली लेखकहरूको सहभागिता दुर्लभ मानिन्छ ।

यस वर्षको सहभागिता सम्भव गराउन २० वर्षदेखि जर्मनीमा नेपाली समाज नामक संस्थामार्फत सक्रिय शिव अधिकारीले समन्वय गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad