प्रवास


एमालेनिकट प्रवास संगठनका नेता सुवेदीमाथि जातीय विभेदको आरोप

एमालेनिकट प्रवास संगठनका नेता सुवेदीमाथि जातीय विभेदको आरोप

शेरबहादुर परियार
जेठ २२, २०८२ बिहिबार २२:२४, वारसा (पोल्यान्ड)

युरोपेली मुलुक पोल्यान्डमा लामो समयदेखि बसेका प्रज्वल सुवेदीले दलित समुदायलाई लक्षित गरेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै विभिन्न संघसंस्थाले कारबाहीको माग गरेका छन्।

सुवेदी नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च, पोल्यान्डका सचिवालय सदस्य एवं पूर्वसचिव हुन्। नेपालमा उनको घर सुनसरी जिल्ला हो।

उनले पोल्यान्डमै वैदेशिक रोजगारीमा रहेका विक थरका एक युवकलाई जातीय भेदभावजन्य शब्द प्रयोग गरी ह्वाट्सएपमा मेसेज पठाएकाले कारबाही हुनुपर्ने भन्दै युरोपमा क्रियाशील दलित समुदायको संगठन नेपाल उत्पीडित जातीय समाज, युरोपले आज एक विज्ञप्ति प्रकाशित गरेको छ।

समाजका अध्यक्ष अर्जुन सुनारद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुवेदीले सुन्न र उल्लेख गर्नै नसकिने खालका अश्लील शब्दहरू प्रयोग गरी सिंगो दलित समुदायलाई जातीय भेदभावका साथै अपमानित गर्ने काम गरेको उल्लेख छ।

युरोपजस्तो सभ्य समाज र मानव अधिकारको उच्च प्रत्याभूति हुने ठाउँमा समेत जातीय विभेदजस्तो जघन्य आपराधिक गतिविधि गर्ने सुवेदीको कार्यले समग्र दलित समुदायको अपमान गरेको महसुस भएको भनिएको छ।

उनलाई पोल्यान्डस्थित सामाजिक संस्था एनआरएनए तथा सम्बद्ध अन्य संगठनले अविलम्ब कारबाही गर्नुपर्ने समाजको माग छ। अन्यथा कानुनी कारबाहीमा जाने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

सुवेदीले भने यसबारे कुनै प्रतिक्रिया नदिने बताए। उनीमाथि लागेको आरोपबारे नेपालखबरको प्रश्नमा उनले भने, ‘यस विषयमा मेरो केही भन्नु छैन।’ 

युरोपमा जातीय भेदभाव तथा लैंगिक हिंसालाई अत्यन्त संवेदनशील र मानव अधिकारविरुद्धको गम्भीर अपराध मानिने हुँदा कठोर सजायको व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad