अन्तत: डेनमार्कले आप्रवासनसम्बन्धी नयाँ नियम लागू गरेको छ। आइतबार आप्रवासन मन्त्री कारे डिब्वाड बेकको घोषणसँगै यो लागू हुने भएको हो।
मन्त्री बेकको यो घोषणाले नेपाली विद्यार्थी प्रत्यक्ष प्रभावित हुने भएका छन्। नयाँ नियममा विद्यार्थीले पढाइसँगै काम गर्न नपाउने व्यवस्था गरिएको छ भने उनीहरूले डिपेन्डेन्टमा जीवनसाथी लैजान पाउने छैनन्।
नेपाली विद्यार्थीकै हकमा कुरा गर्नुपर्दा, परिवर्तित नियम उनीहरूलाई भारी पर्न सक्छ। किनकि नेपाली विद्यार्थीका सम्बन्धमा डेनिस प्रहरी र सरकारी निकायमा रहेको रेकर्ड सकारात्मक छैन।
डेनिस ट्रेड युनियन फ्यागब्लडेट थ्रिएफले निल्स ब्रोक कोपेनहेगन बिजनेस कलेजमा नेपाली विद्यार्थी कसरी ह्वात्तै बढेका छन् भन्ने बारेमा कभरेज गरेपछि उनीहरू अनुसन्धानको केन्द्रमा परेका थिए।
फ्यागब्लडेटले निल्स ब्रोकका अन्तर्राष्ट्रिय विद्यार्थीहरू, जो मुख्यतया नेपाल र बंगलादेशबाट आउने र उनीहरूले होटल तथा रेस्टुराँहरूमा सरसफाइ जस्ता थ्रिएफ क्षेत्रमा जागिर गर्ने लगायतका विषयमा उजागर गरेको थियो।
यस्ता क्षेत्रमा काम गर्ने नेपालीहरू डेनिससँग प्रतिस्पर्धा गर्ने र कम ज्यालामै काम गरिदिने प्रवृत्ति उजागर गरिएको थियो।
यस्तो कभरेजपछि नेपालीहरू प्रहरीको सुक्ष्म अनुसन्धानमा परे। कोपेनहेगन प्रहरीले कार्यअनुमतिको दुरुपयोग भइरहेको र नेपाली विद्यार्थीको बसाइको उद्देश्य श्रम बसाइँसराइ रहेको मूल्याङ्कन आप्रवासन तथा एकीकरण मन्त्रालयमा पेस गर्यो।
यति मात्र नभई नेपालबाट विद्यार्थी पठाउने एजेन्टहरू र डेनमार्कमा उनीहरूलाई काममा लगाउनेहरूबीच तालमेल समेत रहने गरेको निष्कर्ष प्रहरीबाट प्राप्त भएको आप्रवासन मन्त्रीले बताएका थिए।
यसप्रकारका मूल्यांकनपछि आप्रवासन मन्त्री बेक आप्रवासन नीतिमै परिमार्जनको निचोडमा पुगे। जसको फलस्वरुप पछिल्लो उनको घोषणा आएको हो।
परिवर्तित नियम गैरसरकारी तवरबाट अनुमोदित कलेजका विद्यार्थीमा लागू हुनेछ भने २ मे २०२५ भन्दा पहिले आवास अनुमतिका लागि आवेदन दिएका विद्यार्थीको हकमा लागू हुने छैन।
Shares

प्रतिक्रिया