‘अहिलेको अवस्था चिन्ताजनक छ। यदि यो रोकिएन भने एक विपत्ति हुनेछ।’
कोपेनहेगनको एउटा क्याफेमा डेनिस ट्रेड युनियन फ्यागब्लडेट थ्रीएफसँग एक नेपाली युवकले भनेको वाक्यांश हो यो। थ्री एफ डेनमार्कको शक्तिशाली ट्रेड युनियन हो जसले श्रमिक हकहितको क्षेत्रमा काम गर्दछ र सरकार एवं रोजगारदातासँग श्रमिक हकहितका लागि लड्छ।
ती युवकले डेनमार्क आउने र कम तलबका थ्रीएफ क्षेत्रमा जागिर खोज्ने ठूलो संख्याका नेपाली विद्यार्थीबारे फ्यागब्लडेटसँग बोलेका छन्।
डेनमार्कमा होटल, रेस्टुराँ तथा सफाइजस्ता न्यून तलबका क्षेत्रमा गरिने कामलाई थ्रीएफ पेसाले चिनिन्छ।
पढाइसँगै दाम पनि कमाउने प्रलोभनमा नेपालीहरू संसारका विभिन्न देश जाने गरेको पछिल्लो यथार्थ हो। पहिलो रोजाइमा रहेका अमेरिका, अस्ट्रेलिया, बेलायतपछिको रोजाइ हो– युरोप।
तर, अब युरोपमा पनि सजिलो नहुने अवस्था देखिएको छ। यसको पछिल्लो उदाहरण हो, डेनमार्कले यहाँ नेपाली विद्यार्थीलाई काम गर्न नदिने नियम ल्याउने तयारी गर्नु।
नेपाली विद्यार्थी डेनमार्क आएर सस्तोमै काम गरिँदिँदा यहाँको श्रम बजार बिग्रेको निष्कर्ष निकाल्दै यहाँका आप्रवासन मन्त्रीले यस्तो नियम ल्याउने तयारी गरेका हुन्।
मन्त्रीले यो तयारी गरिरहँदा फ्यागब्लडेट थ्रीएफले डेनमार्कमा रहेका एक नेपालीसँगको कुराकानीमा फिचर लेख तयार पारेको छ। जसको उद्धरण सुरुआतमै पनि गरिसकिएको छ। जसको विस्तृत रूप प्रस्तुत गर्न सान्दर्भिक देखिन्छ–
ती नेपालीको भनाइले यहाँ रोजगारी संकटको सम्झना दिलाएको छ। सेप्टेम्बरमा डेनमार्क आएका धेरै नेपाली अझै पनि बेरोजगार रहेका छन्।
‘नेपालीहरूलाई शोषण गरिन्छ किनभने उनीहरूलाई कुनै पनि तलबमा कुनै पनि काम गर्न बाध्य पारिन्छ,’ उनी भन्छन्।
जागिर गुम्ने डरले ती नेपाली आफ्नो नाम र तस्बिर सार्वजनिक गर्न चाहँदैनन्।
नेपाली विद्यार्थी र तिनका पार्टनरले डेनमार्कमा विशेषगरी सफाइ उद्योग, होटल तथा रेस्टुराँमा जागिर पाउँछन्।
आप्रवासन तथा एकीकरण मन्त्री कायर डिब्भाड बेकले गैरसरकारी-अनुमोदित शिक्षा कार्यक्रममा रहेका विद्यार्थीलाई अब डेनमार्कमा काम गर्न वा आफ्ना पार्टनरलाई आफूसँगै ल्याउन नदिने नियम बनाउने निर्णय गरेको भोलिपल्टै ट्रेड म्यागजिन थ्रीएफले नेपाली पुरुषसँग भेट गरेको हो।
संसारको सबैभन्दा खुसी देश
प्रोफेसनल म्यागजिन थ्रीएफले केही वर्षमै नेपाली विद्यार्थीको संख्या, विशेषगरी राज्य-अनुमोदित निल्स ब्रोक कोपेनहेगन बिजनेस कलेजमा कसरी ह्वात्तै बढेको छ भन्ने कुराको खुलासा गरेपछि मन्त्रीले यो घोषणा गरेका हुन्।
२०२४ मा, १०८५ नेपाली विद्यार्थीले निल्स ब्रोक कोपेनहेगन बिजनेस कलेजमा अध्ययन सुरु गरे। २०२२ मा १९१ भएको नेपाली संख्या तेस्रो वर्ष यति पुग्नु उल्लेखनीय वृद्धि हो।
यो तथ्य डेनिस एजेन्सी फर इन्टरनेसनल इन्टिग्रेसन एन्ड रिक्रुटमेन्ट, एसआईआरईको तथ्याङ्कले देखाएको छ।
यही बीचमा धेरै नेपाली थ्रीएफ पेसामा प्रवेश गरेका छन्, जहाँ उनीहरू जागिरका लागि डेनिसहरूसँग प्रतिस्पर्धा गर्छन्।
आप्रवासन तथा एकीकरण मन्त्रालयका अनुसार, कोपेनहेगन प्रहरीले विद्यार्थीको कार्यअनुमतिको दुरुपयोग भइरहेको र नेपालीहरूको बसाइको उद्देश्य श्रम बसाइँसराइ रहेको मूल्याङ्कन गरेको छ।
आप्रवासन मन्त्रीका अनुसार प्रहरीको मूल्याङ्कनले नेपालबाट विद्यार्थी पठाउने एजेन्टहरू र डेनमार्कमा उनीहरूलाई काममा लगाउनेहरूबीच तालमेल रहेको देखाएको छ।
फ्यागब्लडेट थ्रीएफले भेटेका नेपालीले त्यो मूल्याङ्कनमा सहमतिस्वरुप टाउको हल्लाए।
‘काठमाडौँको हरेक सडकमा एजेन्सी छन्। तिनीहरूले विद्यार्थीलाई डेनमार्क गई ‘विश्वको सबैभन्दा खुसी देश’मा राम्रो जीवन बिताउन सकिन्छ भन्ने विश्वास दिलाउँछन्,’ उनी भन्छन्।
यी नेपाली युवा कोपेनहेगन र वरपरका नेपाली समुदायमा सक्रिय छन् र निल्स ब्रोकका धेरै विद्यार्थीलाई चिन्छन्।
नियम परिवर्तन गर्ने मन्त्रीको मनसायमा उनको धारणा स्पष्ट छ, ‘यो सबैको लागि राम्रो छ। यहाँ हुँदा धेरै नेपाली विद्यार्थी मानसिक रूपमा बिरामी हुन्छन्। संसारको सबैभन्दा खुसी देश भनेर चिनिने भए पनि यहाँ जीवन बिताउन कति गाह्रो छ भनेर उनीहरू निराश हुन्छन्।’
ठूलो व्यवसाय
अन्य कुराका साथै, उनले नेपाली विद्यार्थीको फेसबुक समूहहरूमा लेखिने पोस्टका बारेमा पनि धारणा साझा गरे।
व्यापार पत्रिका थ्रीएफले पनि पछिल्ला महिनामा विभिन्न समूहका पोस्टहरू पढिरहेको छ जहाँ उही पोस्टहरू आइरहेका छन्- धेरै महिनादेखि यहाँ रहेका र जागिरको खोजीमा रहेका विद्यार्थीहरूको। धेरै मानिसले लेखेका छन् कि उनीहरूलाई सामना गर्न गाह्रो भइरहेको छ।
फ्यागब्लडेट थ्रीएफले भेटेका ती नेपाली, निल्स ब्रोक कोपेनहेगन बिजनेस कलेजमा पढ्न कोपेनहेगन आउनुको सट्टा नेपालमै बसेर राम्रो जीवन बिताउन सुझाव दिन्छन्।
‘यहाँ शोषण भइरहेको छ। विद्यार्थीहरूलाई शिक्षित गर्ने इच्छा भन्दा पनि निल्स ब्रोकको यो ठूलो व्यवसाय हो। निल्स ब्रोकले आफूले भर्ना गर्ने विद्यार्थीको जिम्मेवारी लिनुपर्छ,’ उनी भन्छन्।
ट्रेड म्यागजिन थ्रीएफले आलोचनाको बारेमा निल्स ब्रोक कोपेनहेगन बिजनेस कलेजलाई सम्पर्क गरेको छ तर उनीहरूले प्रतिक्रिया दिएका छैनन्।
अन्तस्करणको बोली
ती नेपाली सन् २०१९ मा पढ्न यहाँ (डेनमार्क) आएका थिए र अहिले उपयुक्त जागिर खोज्ने प्रयासमा छन्। तर यो गाह्रो भएको उनी बताउँछन्।
अहिले उनी इनर कोपेनहेगनको एउटा फाइन-डाइनिङ रेस्टुराँमा काम गर्छन्। भान्सामा काम गर्ने उनको तयारी खाना तयार गर्नु हो।
अन्तर्वार्ताको अघिल्लो दिन उनले बिहान ९ बजेदेखि राति १० बजेसम्म काम गरेका थिए। उभिएरै गर्नुपर्ने काम, यति लामो समयसम्म गरेका कारण कुराकानीका क्रममा उनी निकै थकित देखिन्थे।
उनी श्रीमती र दुई छोराछोरीसँग कोपनहेगनभन्दा बाहिर बस्छन्।
उनले अन्तरहृदयबाट भने, ‘अब म यहाँ बस्न चाहन्नँ’।
Shares

प्रतिक्रिया