लोक तथा दोहोरी गायक पशुपति शर्मा युरोपेली मुलुक पोल्यान्ड आइपुगेका छन्।
नेपाली नयाँ बर्षको अवसर पारेर आयोजित साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन उनी पोल्यान्ड आएका हुन्।
गायक शर्मालाई आयोजकको टोलीले राजधानीस्थित चोपिन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो।
'म पोल्यान्ड आइसकेको छु। यहाँ रहनुभएका सबै नेपाली कार्यक्रममा आउनुहोस् है, रमाइलो गर्नुपर्छ,' पोल्यान्ड अवतरण भएपछि विमानस्थलमा शर्माले भने।
एनआरएनए तथा गुल्मी समाजको संयुक्त आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोल्यान्डको सहकार्यमा आज अप्रिल २० मा कार्यक्रम हुन लागेको हो।
कार्यक्रम आयोजक गुल्मी सेवा समाज पोल्यान्डका अध्यक्ष विजय खरेल (बिजु)का अनुसार कार्यक्रम पोल्यान्डको राजधानी वारसास्थित बैंक क्लबमा आज स्थानीय समय साँझ ६ बजेबाट सुरु हुनेछ।

कार्यक्रममा गायक पशुपति शर्मा सँगै स्थानीय कलाकारको प्रस्तुति रहनेछ भने साथमा नृत्य तथा गायन प्रतियोगिता पनि हुने इनास पोल्यान्डका अध्यक्ष विबेक पौड्यालले बताए।
उनका अनुसार प्रतियोगितामा विजयी हुनेले आगामी मे १६ र १७ मा डेनमार्कमा हुने युरोप स्तरीय दशौं एकल नृत्य तथा सातौं एकल गायन प्रतियोगितामा पोल्यान्डको तर्फबाट प्रतिनिधित्व गर्नेछन्।
शर्मा पछिल्लो समयमा नेपालका व्यस्त गायक हुन्। मेला, महोत्सवदेखि विदेशसम्मका साङ्गीतिक कार्यक्रममा उनको उच्च माग छ।
कार्यक्रमको सिलसिलामा हाल युरोप यात्रामा रहेका उनले फिनल्यान्ड, स्विडेन, बेल्जियम, स्पेन, डेनमार्क, ग्रिसको कार्यक्रम सम्पन्न गरिसकेका छन् भने आज पोल्यान्डमा प्रस्तुति दिनेछन्।
पोल्यान्डपछि नर्वे, माल्टा र फ्रान्समा उनको साङ्गीतिक कार्यक्रम तय भएको छ।
Shares

प्रतिक्रिया