न्युयोर्क सिटी मेयरद्वारा घोषणा गरिएको मिथिला संस्कृति तथा फेस्टिभल दिवसका अवसरमा यहाँ ‘आर्ट फर एसडिजिजः मिथिला हेरिटेज कार्यशाला, प्रदर्शनी र पुरस्कार २०२५’ कार्यक्रम आयोजना गरेको छ।
मिथिला सेन्टर युएसएले अपन फाउन्डेसनको सहकार्यमा न्युयोर्क तिब्बती सेवा केन्द्रमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विभिन्न समुदायका ४० भन्दाबढी बालबालिकाको सहभागिता थियो। बालबालिकाले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य १५ मा आधारित रहेर ‘जीवन र प्रकृति’ विषयमा आयोजित सिर्जनात्मक कला कार्यशालामा उत्साहपूर्वक भाग लिएका थिए। प्रसिद्ध मिथिला कलाकार एससी सुमनले बालबालिकालाई कलामार्फत वातावरणीय सन्देशहरू व्यक्त गर्न सहजीकरण गरेका थिए।
कार्यक्रममा सहभागी सबै बालबालिकालाई न्युयोर्क राज्यसभा सदस्य स्टीवन रागाकोतर्फबाट प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ। यस्तै, लोककलामार्फत मिथिला सम्पदाको प्रवद्र्धन गरेको भन्दै कलाकार सुमनलाई र मिथिला सम्पदाको सौन्दर्यलाई जीवन्त तस्बिरमा उतार्ने फोटोग्राफर राज काफ्लेलाई पनि विशेष सम्मान गरिएको थियो।
सहभागी बालबालिकाले कोरेका तीन कलाकृतिका लागि रश्मी गिरी, तेञ्जिन ल्हाजे किङ्गा र अष्टिन शाहलाई उत्कृष्ट छनोट गरिएको थियो। तीनै जनालाई ट्रफी, प्रमाणपत्र र उपहार प्रदान गरिएको मिथिला सेन्टर युएसएका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अमितप्रताप शाहले जानकारी दिए। उनले यस्तो कार्यक्रमले मिथिला सांस्कृतिक सम्पदाको संरक्षणका साथै नयाँ पुस्तालाई विश्वव्यापी विकास लक्ष्यहरूमा संलग्न गराई महत्वपूर्ण सन्देश प्रवाह भएको बताए।
कार्यक्रममा न्युयोर्क सिटी मेयर कार्यालयका दक्षिण एशियाली समुदाय समन्वयकर्ता सुकरानी धनपुतले मेयरद्वारा जारी गरिएको मिथिला संस्कृति दिवसको आधिकारिक घोषणापत्र प्रस्तुत गर्दै आयोजक टोलीको कामको उच्च प्रशंसा गरे। त्यस्तै, न्युयोर्क राज्यसभा सदस्य स्टीवन रागाको कार्यालयका समुदाय निर्देशक दोल्मा लामाले कार्यक्रमप्रति समर्थन जनाउँदै सम्मानपत्र प्रदान गरे।
न्युयोर्क तिब्बती सेवा केन्द्रका कार्यक्रम निर्देशक तेञ्जिङ छिरिङले यस्तो अन्तरसंस्कृति कार्यक्रम आफ्नै केन्द्रमा आयोजना हुन पाउँदा गौरव महसुस भएको बताए।
कार्यक्रममा प्रमुख कलाकार सुमनले प्रवासी बालबालिकासँग आफ्नो ज्ञान बाँड्न र संस्कृतिप्रति जागरुक गराउन महत्वपूर्ण अवसर प्रदान गरिएको भन्दै आयोजकलाई धन्यवाद दिए। कार्यक्रम संयाजक प्रज्ञा पन्थीले बालबालिकाले कार्यशालाबाट कला र दिगो विकास लक्ष्यको ज्ञान प्राप्त गरेको बताए।
कार्यक्रममा कलाकारहरू एससी सुमन, प्रतीक रायमाझी, शिवाङ्गी सिंह, सुभाद्री सुभा र राखी कर्णका जैविक विविधता, प्रकृति र वातावरणीय चेतनाबारेका मिथिला चित्रकलाको प्रदर्शनीसमेत गरिएको थियो। रासस
Shares

प्रतिक्रिया