युक्रेनमा युद्धविरामको स्पष्ट संकेत नदेखिए केही दिनमै मध्यस्थताको प्रयास छाड्ने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चेतावनी दिएका छन्।
उनको भनाइले अमेरिका रुस र युक्रेनबीच शान्ति सम्झौता गराउन सकिनेमा विश्वस्त नरहेको देखाएको छ। रुबियोले बिहीबार पेरिसमा युरोपेली नेताहरूसँग भेटपछि शान्ति सम्झौता हुन सक्ने या नसक्ने केही दिनभित्रै खुट्याउने बताए।
‘हामी यो प्रयास हप्तौँ वा महिनौँसम्म जारी राख्ने छैनौँ,’ रुबियो भने।
अमेरिकाका अरु प्राथमिकता रहेको उनको भनाइ थियो।
‘यो गर्न सकिने काम हो कि होइन भनेर हामीले एकदमै चाँडै निश्चित गर्न जरुरी छ। म यहाँ केही दिनको कुरा गरिरहेको छु,’ उनले भने, ‘यदि यो सम्भव छैन भने हामी अघि बढ्ने छौँ।’
यसैबीच अमेरिका र युक्रेनबीच बीचमा तोडिएको खनिज सम्झौता अघि बढेको छ। बिहीबार उनीहरूले नयाँ समझदारीमा हस्ताक्षर गरेका छन्। अप्रिल २६ सम्ममा सम्झौता गर्ने उनीहरूको भनाइ छ।
त्यस्तो सम्झौताको सट्टामा युक्रेनले सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने प्रयास गरिरहेको छ। तर, हालसम्म अमेरिकाले सो प्रतिबद्धता जनाएको छैन। एजेन्सी
Shares

प्रतिक्रिया