हरेक चार वर्षमा हुने फिनल्यान्डको स्थानीय निर्वाचनमा राजधानी हेल्सिन्कीका साथै अन्य २ नगरपालिकामा नेपालीमूलका उम्मेदवार निर्वाचित भएका छन्।
विजयी उम्मेदवारहरू कृष्ण रेग्मी, शेखर आचार्य र गोविन्द रिजाल एउटै पार्टी (सोसिअल डेमोक्रेटिक-एसडीपी) बाट चुनावी मैदानमा होमिएका थिए। जुन यो निर्वाचनमा पहिलो दल बन्न सफल भएको छ।
कुल ८२ सदस्य चुनिने हेल्सिन्की नगरपालिकामा एसडीपीको पोल्टामा २१ सिट परेको थियो जसमा ८६५ मतसहित पन्ध्रौँ नम्बरमा पर्न कृष्ण सफल भए। फिनल्यान्डमा पूर्ण समानुपातिक निर्वाचन पद्धति छ।
यसैगरी ६७ सदस्य रहने भान्ता नगरसमितिमा पनि उक्त पार्टीले २१ सदस्य पाएकोमा ४२० मत ल्याएर शेखर आचार्य पनि पन्ध्रौँ नम्बरमै छानिएका छन्।
शेखर भान्ता नगर सदस्यको अलावा भान्ता र केराभा समेटिएर बनेको कल्याणकारी क्षेत्रका लागि समेत चुनिएका छन्।
६९ सदस्यीय उक्त कल्याणकारी समितिमा पनि एसडीपीको भागमा २१ सदस्य परेको छ जसमा ५६७ मतका साथ शेखर १६औँ नम्बरमा पर्न सफल भएका छन्।
कृष्ण र शेखर पहिलो प्रयासमै नगर सदस्य निर्वाचित भएका हुन्।
यसैगरी सेइनायोकी नगरपालिकाबाट चुनाव लडेका गोविन्द रिजाल पनि २१३ मत ल्याएर चौथो नम्बरमा चुनिएका छन्। उनी भने यो सहित दोस्रो पटक निर्वाचित भएका हुन्। ५१ सदस्यीय सेनाइयोको नगरसमितिमा एसडीपीको भागमा ८ सदस्य परेको थियो।

स्थानीय चुनावका लागि फिनल्यान्डमा एउटा रोचक पक्ष छ। यहाँ आई बसेको दुई वर्ष पूरा भएपछि जुनकुनै देशका नागरिक पनि मतदाता र उम्मेदवार दुवै बन्न पाउँछन्। यस्तो व्यवस्था भएका संसारका बिरलै मुलुकमध्ये फिनल्यान्ड एक हो।
विजयी तीनै जनाले अब नगरपालिकामा गठन हुने विभिन्न विशेष समितिमा रहेर काम गर्ने छन्। तीनै जनाले आप्रवासी र त्यसमा पनि विशेषत: नेपाली आप्रवासीको हितमा एजेन्डाहरू तयार पार्ने बताएका छन्।
स्थानीय चुनावमा नेपाली उम्मेदवारले पाएको यो शतप्रतिशत सफलतासँगै यहाँ रहेका झन्डै ११ हजार नेपाली उत्साहित देखिएका छन्।
नव निर्वाचित सदस्य शेखर आचार्यको यहाँको सरकारी टेलिभिजनमा प्रसारित ‘कसरी चुनावमा धेरैभन्दा धेरैलाई मतदानमा सहभागी गराउन सफल भएको’ भन्ने भनाइ नेपालीमाझ निकै प्रचारमा आएको छ।
अझ थप संयोग के पनि जुर्न गयो भने यो उत्सव नेपाली नयाँ वर्षकै दिन पर्न गयो। विजयी उम्मेदवारहरू र निर्वाचनमा महत्त्वपूर्ण भूमिका निभाउने सहभागी तथा मतदाताहरू नयाँ वर्षको शुभकामनासहित विजयोत्सवमा रमाइरहेका देखिन्थे।
Shares

प्रतिक्रिया