राजनीति


परशुराम बस्नेतको अभिव्यक्तिले एमाले विराटनगरको अधिवेशन तनावपूर्ण,  बाउन्सर परिचालन

परशुराम बस्नेतको अभिव्यक्तिले एमाले विराटनगरको अधिवेशन तनावपूर्ण,  बाउन्सर परिचालन

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १५:२२, काठमाडौँ

नेकपा एमाले विराटनगर महानगरको अधिवेशन सुरू भएको  छ। नगर अधिवेशनको सुरुवात मै केही विवादहरू देखिएको छ। 

उद्घाटनकै क्रममा मञ्चमा रहेका नेकपा एमालेका नेता विनोद ढकाललाई एमाले विराटनगर महानगरका इन्चार्ज परशुराम बस्नेतले अवैधानिक नेतृत्व भनेपछि विवाद भएको थियो। 

वक्ता बोलाउने क्रममा जिल्ला अध्यक्ष अजम्बर राईले बोलेपछि नगर कमिटीका इन्चार्ज बस्नेतलाई बोल्न दिएको थियो। लगत्तै प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा बोलेका थिए। 

कार्यक्रमका प्रमुख अतिथि शेरधन राईले विनोद ढकाललाई बोल्न नदिएको विषयमा इन्चार्ज बस्नेतलाई सोधेका थिए। जवाफमा बस्नेतले अवैधानिक नेतृत्वलाई बोल्न नदिएको भन्ने जवाफ दिएपछि स्टेजमा रहेका ढकालले वैध र अवैध कसरी हुन्छ भन्दै प्रश्न गरेका थिए। 

विवादपछि एमाले नेता विनोद ढकाल मञ्च छोडेर दर्शकसँगै बसेका थिए।

केहीबेरको भनाभन पछि ढकाल स्टेजबाट माला खोल्दै दर्शकदीर्घामा आएर बसेका थिए। केन्द्रीय सल्लाहकार परिषद् सदस्यीय रहेका ढकाल गत असाेजमा भएकाे प्रदेश अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए।

अवैधानिक नेतृत्व भनिएको विषयलाई लिएर केहीबेर कार्यकर्ताहरूबीच हल्लाखल्ला भएको थियो। बिनोद ढकालको पहिला नै बोल्ने लिस्टमा नाम राखिएको थियो। पछि बस्नेतले नाम काटिदिएको नेकपा एमालेका एक नेताले जानकारी दिए।

यसैबीच नेकपा एमालेको महानगर कमिटीको दोस्रो अधिवेशनमा स्वयंसेवकको नाममा बाउन्सर ल्याएर राखिएको भन्दै कार्यकर्ताले आलोचना गरेका छन्।

कार्यक्रम स्थलमा केही रातो पोशाकमा देखिएका बाउन्सरहरू राखिएको भन्दै त्यसलाई तुरुन्त हटाउनुपर्ने जिल्ला कमिटीका पदाधिकारीहरूले नै बताउँदै आएका छन्। बाउन्सर ल्याउने काम उनै बस्नेतले गरेको नेताहरूको आरोप छ। कार्यक्रममा सहभागी कुनै नेता तथा कार्यकर्ताले ती बाउन्सरहरुलाई नचिनेको बताएका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटीका इन्चार्ज शेरधन राईले १० वर्ष पछाडि परेको विराटनगरलाई विकास गर्ने गरी एमालेले योजना अघि सार्नुपर्ने बताएका छन्।

 उनले भने, ‘अबको चुनावमा एमालेको नेतृत्वले जित्ने गरी अहिलेको नेतृत्वले आफ्ना योजना कार्यक्रमहरु अघि सार्नुपर्छ।’ लोकतान्त्रिक पद्धतिका नाममा पछिल्लो समय मोरङमा भएको विभिन्न  गतिविधिहरु ठिक नभएको राईको भनाइ छ।

उनले सर्वसम्मत नेतृत्व चयन गर्ने कुरा केन्द्रीय लाइन भएको समेत उल्लेख गरे। हिजो जिल्लामा भएका कुराहरुलाई महानगर तथा वडाहरूसम्म लिएर जान खोजिएको भन्दै उनले असन्तुष्टि जनाए ।

स्वयंसेवकको नाममा बाउन्सर ल्याएर राखिएको भन्दै कार्यकर्ताले आलोचना गरेका छन्।

नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले पार्टीको केन्द्रीय नीति र नेतृत्वमा समस्या नभए पनि अधिवेशनको बेला नेतृत्व चयनका विषयलाई लिएर असन्तुष्टिहरू आउनु सामान्य भएको बताए । 

असन्तुष्टिलाई नेतृत्वले मिलाएर लिएर जानुपर्ने उनको भनाइ छ। ‘नीति र नेतृत्वमा समस्या छैन’, उनले भने ‘अधिवेशनमा ङ्यार्रर ङुर्रर भइरहन्छ। यसलाई मिलाएर लग्नुपर्छ।’

‘निर्वाचनमा हार्न वा जित्न सकिन्छ तर देखाईदिन्छु भन्ने हुँदैन’  खतिवडाले भने। त्यस्तै केन्द्रीय सदस्य जीवन घिमिरेले सबैले स्वीकार गर्ने नेतृत्वलाई चयन गरेर जानुपर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad