प्रवास


फिनल्यान्डमा स्थानीय निर्वाचनको सरगर्मी, यी हुन् ३ पालिकाका ३ नेपाली उम्मेदवार

फिनल्यान्डमा स्थानीय निर्वाचनको सरगर्मी, यी हुन् ३ पालिकाका ३ नेपाली उम्मेदवार

बायाँबाट क्रमश: कृष्ण रेग्मी, गोविन्द रिजाल र शेखर आचार्य


श्रवण खनाल
चैत १९, २०८१ मंगलबार १८:३७, फिनल्यान्ड

फिनल्यान्डलाई यतिबेला चुनावी रौनकले छोपेको छ। यो रौनकले यहाँका नेपालीलाई पनि निकै तताएको छ। जसको कारण हो यहाँ हुन गइरहेको स्थानीय निर्वाचनमा तीन जना नेपाली चुनावी मैदानमा उत्रिनु।

फरक फरक सहरबाट चुनावी मैदानमा होमिएका तीन नेपाली कृष्ण रेग्मी, गोविन्द रिजाल र शेखर आचार्य संयोगवश एउटै पार्टीको प्रतिनिधित्व गर्दैछन्। तिनै जना नगर सदस्य पदका प्रत्याशी हुन्। जसलाई यहाँ काउन्टी मेम्बर भनेर बुझिन्छ।

फिनल्यान्ड भन्नासाथ धेरैको जिउ काम्न थाल्छ। किनकि माइनस २० देखि ३० डिग्रीसम्म हुने चिसो, ६ महिना घामै देख्न नपाइने जस्ता कारणले यसको नाम सुन्दैमा धेरैलाई जाडो लागि सक्छ।

यही ठन्डी देशमा अहिले भने चुनावी माहोल निकै तातेको छ। ५६ लाख कुल जनसंख्या रहेको फिनल्यान्डमा झन्डै १० हजारको हाराहारीमा नेपाली रहेको अनुमान छ।

विगत २/३ वर्षमा नेपालीको सङ्ख्या ह्वात्तै बढ्नुले पनि अब नेपालीको प्रतिनिधित्व राजधानी जस्ता ठूला सहरमा हुने सम्भावना देखिन्छ। त्यसैले पनि यहाँको नेपाली समुदायमा चुनावी सरगर्मी बढेको हो।

चुनावी मैदानमा उत्रिएका तीनै जना नेपाली सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी)बाट प्रतिनिधित्व गर्छन्। यो पार्टी यहाँको चुनावअघि गरिने मत सर्वेक्षणमा सबैभन्दा लोकप्रियमा पर्न सफल भएको छ भने यसअघिको स्थानीय निर्वाचनमा दोस्रो दलको रूपमा स्थापित भएको थियो।

यद्यपि सहरअनुसार भने लोकप्रियतामा फरक छ। यो दल २०२४ मा सम्पन्न संसदीय निर्वाचनमा तेस्रो ठूलो दलको रूपमा छ। त्यतिबेला कान्छी प्रधानमन्त्रीको रूपमा चर्चित सन्ना मारिन यसै दलबाट प्रधानमन्त्री भएकी थिइन्। यद्यपि उनले आफ्नो प्रधानमन्त्रीको कार्यावधिपश्चात् दलबाट समेत राजीनामा दिइन्। हाल आन्ति लिन्द्टमान उक्त पार्टीका नेता छन्।

यो स्थानीय चुनावमा नेपालीका अलावा बङ्गाली, भारतीय लगायत अन्य आप्रवासी समुदायबाट पनि उम्मेदवार छन्। यद्यपि तीन जना नेपाली उठेका नगरपालिकामा उनीहरूका मुख्य लक्ष्य भने प्रवासी नेपाली परेका देखिन्छन्।

यहाँको निर्वाचन प्रणाली पूर्ण समानुपातिक प्रकृतिको छ, जसका कारण को चुनिन्छ भन्ने अड्कल गर्न गाह्रो हुन्छ।

पार्टीले प्राप्त गरेको मत र उक्त क्षेत्रमा रहेको कुल मतदाता सङ्ख्याको आधारमा सिट बाँडफाँट हुन्छ। त्यसपछि उच्चतम अंक प्राप्त गर्नेहरू चुनिन्छन्।

यो स्थानीय निर्वाचनको मिति १३ अप्रिललाई तोकिएको छ। यद्यपि, २ देखि ८ अप्रिलसम्म अग्रिम मतदान गर्न सकिनेछ।

नेपाल लगायत अन्य मुलुकमा रहेको दूतावासबाट पनि अप्रिल २ देखि ४ सम्ममा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।
स्थानीय चुनावका लागि फिनल्यान्डमा अर्को एउटा रोचक पक्ष पनि छ। यहाँ आई बसेको दुई वर्ष पूरा भएपछि यो चुनावका लागि यहाँ मतदाता र उम्मेदवार दुवै बन्न पाइन्छ। यस्तो व्यवस्था भएका संसारका बिरलै मुलुकमध्ये फिनल्यान्ड पनि एक हो।

को कहाँको उम्मेदवार?
कृष्ण रेग्मी: फिन्ल्यान्डको राजधानी हेल्सिन्कीबाट उम्मेदवारी दिएका छन् रेग्मीले।

१६ वर्षअघि विद्यार्थीको रूपमा फिनल्यान्ड आएका उनले यहाँको शैक्षिक क्षेत्रमा सकारात्मक परिचय बनाएका छन्।

यहाँका विभिन्न शैक्षिक संस्थाबाट एमबीए, बीएचएम, बीबीएलगायतका योग्यता हासिल गरेका रेग्मी नगरपालिकाअन्तर्गतको शैक्षिक संस्थामा शिक्षण पेशामा आबद्ध छन्।

सन् २००८ मा फिनल्यान्ड छिरेका रेग्मीले २०१० देखि नै यहाँ व्यावसायिक यात्रा सुरु गरेका थिए। यसबीचमा उनले व्यवसाय र शैक्षिक क्षेत्र बाहेक विभिन्न कम्पनीमा कामको अनुभव पनि बटुले।

युवावस्थादेखि फिनल्यान्डमा पसिना बगाएका उनले यो बीचमा आफूले भोगेका कठिनाइबाट पाठ सिक्दै समुदायको हितमा काम गर्ने बताए।

‘चुनाव जितेमा नीति निर्माण तहमा प्रभाव र नेपाली समुदायको प्रतिनिधित्व महसुस गराउनु मेरो मूल ध्येय रहनेछ,’ रेग्मी भन्छन्।

हेल्सिन्की नगरपालिकामा लगभग २ हजार नेपाली मतदाता रहेको र यसबाट एक हजार मत प्राप्त गरेको खण्डमा आफू चुनिने उनी बताउँछन्। रेग्मीको चुनावी नम्बर ९२० रहेको छ।

शेखर आचार्य: भान्ता, केराभा क्षेत्रका उम्मेदवार हुन् आचार्य। अन्य दुई नेपाली नगरपालिकाका मात्र प्रतिस्पर्धी हुन् भने आचार्य नगरपालिकाका साथै भान्ता र केराभा सामाजिक कल्याण काउन्टीको समेत उम्मेदवार हुन्।

भक्तपुरमा जन्मेका आचार्य सन् २००३ मा स्नातक सकेर थप अध्ययनका लागि अमेरिका उडे र त्यहाँबाट २००८ मा एमबीए पूरा गरे।

अमेरिकाको अध्ययन सकेर नेपाल फर्किएका आचार्य पुनः अर्को विषयमा पनि मास्टर्स डिग्री हासिल गर्ने सिलसिलामा फिनल्यान्ड आएका हुन्। त्यसपछि भने उनी यतै छन्।

उनी यहाँको गैरआवासीय नेपाली संघका अध्यक्ष समेत बनिसकेका छन्। अन्य सामाजिक क्रियाकलापमा पनि सक्रिय देखिन्छन्।

उनी उम्मेदवार बनेको भान्ता नगरपालिकामा ८ सय जति नेपाली मतदाता छन्। यसबाट ५ सय जति मत प्राप्त गरेमा आफू चुनिने उनको विश्वास छ।

आफूले जितेको खण्डमा मूलतः चार वटा मुद्दामा काम गर्ने उनी बताउँछन्। समाजमा सहज घुलमिल, आवश्यक ज्ञान र तालिम, आप्रवासीहरूको आउँदो पुस्ताका लागि विकास र सांस्कृतिक संरक्षण, सांस्कृतिक उत्सवका लागि ठाउँ। यी उनको प्राथमिक रहेका मुद्दामा हुन्।

उनको चुनावी नम्बर भान्ता नगरपालिकामा १९४ र भान्ता र केराभा सामाजिक कल्याण काउन्टीको २००८ रहेको छ।

गोविन्द रिजाल: गेवीन क्षत्रीको नामबाट फिन्ल्यान्डको सांगीतिक क्षेत्रमा चर्चा कमाएका अर्का उम्मेदवार हुन् गोविन्द रिजाल।

६७ हजार मात्र जनसंख्या रहेको फिन्ल्यान्डको सानो सहर सेइनायोकीबाट उनले तेस्रो पटक उम्मेदवारी दिएका छन्।

यस क्षेत्रमा चरिपरिचित ३४ वर्षे यी युवासँग यसअघि पनि नगर सदस्यमा काम गरिसकेको अनुभव छ। पहिलोचोटि सन् २०१७ मा उम्मेदवारी दिए तर सफल भएनन्। दोस्रो पटक २०२१ मा भने नगर सदस्यमा चुनिए। यस पटक आफू चुनिनेमा उनी आशावादी देखिन्छन्।

रिजाल १५ वर्षदेखि फिनल्यान्डमा बस्दै आएका छन्। उनले उम्मेदवारी दिएको पालिकामा आप्रवासी समूह अझ यसमा पनि अल्पविकसित मुलुकका प्रवासीको उपस्थिति अति न्यून छ।

उनी आफूले चुनाव जितेमा यसअघिको अनुभव प्रयोग गर्दै नीति निर्माणमा आफ्नो समुदायको लागि थप टेवा पुर्‍याउने बताउँछन्।

स्वास्थ्य र शिक्षा क्षेत्रको बजेट घटाइएकोमा असन्तुष्ट देखिएका उनी यसमा आफ्नो सक्दो पहल रहने बताउँछन्।

आफू विशुद्ध समाजसेवाकै लागि राजनीतिमा होमिएको पनि उनको जिकिर छ। भन्छन्, ‘यहाँ राजनीति गर्ने भनेको आफ्नो जीवन निर्वाहको काम भइसकेपछि गरिने काम हो। किनकि नगरसभामा विजयी भए पनि बैठक भत्ता बाहेक अन्य आर्थिक लाभ हुँदैन। त्यसैले यो पूर्णतः सामाजिक सेवा हो।’

विगतका निर्वाचनमा युवा मतदाता मतदानमा कम सहभागी भएको तथ्यलाई दृष्टिगत गर्दै यस पटक उनी विभिन्न फोरममार्फत युवा वर्गलक्षित चुनावी प्रचारमा खटिएका छन्।

फिनल्यान्ड आएदेखि नै विद्यार्थी संघ, रेड्क्रस लगायतका सामाजिक कार्यमा लागेका रिजाल आफ्नो राजनीतिक यात्रा युवा पिँढी र आप्रवासीका लागि सकारात्मक सन्देशको निरन्तरता हुने बताउँछन्।

भ्वाइस अफ फिनल्यान्डमा पनि भिडिसकेका रिजालको चुनावी नम्बर २८२ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad