समाज


प्रहरीको स्टाफ कोर्सका लागि चाहिने कोटाभन्दा आधा मात्रै डीएसपी पास (सूचीसहित)

प्रहरीको स्टाफ कोर्सका लागि चाहिने कोटाभन्दा आधा मात्रै डीएसपी पास (सूचीसहित)

नेपालखबर
चैत १९, २०८१ मंगलबार १८:२४, काठमाडौँ

नेपाल प्रहरीमा पहिलो पटक सुरु हुन लागेको स्टाफ कोर्सको प्रवेश परीक्षामा १७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) मात्रै पास भएका छन्। आगामी वैशाख ७ गतेबाट स्टाफ कलेज सुरु गर्ने तयारी छ। 

पहिलो पटक सुरु हुन लागेको कोर्सका लागि ५ जना वैकल्पिकसहित ४० जना छनोट गर्ने तयारी थियो। एक सय पूर्णाङ्कका चार वटा प्रश्न पत्रको परीक्षापछि मंगलबार प्रहरी प्रधान कार्यालयकोा मानव स्रोत विकास विभाग प्रशासन शाखाले नतिजा सार्वजनिक गरेको हो। जसमा १७ जना मात्रै उत्तीर्ण भएका हुन्। उत्तीर्ण हुनका लागि चार वटै प्रश्नपत्रमा ४० अंक ल्याउनुपर्ने थियो।

त्रिभुवन विश्व विद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालयले पुलिस लिडरसिप एण्ड स्टाफ कोर्स कार्यक्रमको प्रवेश परीक्षा अन्तर्गत प्रथम पत्र सेन्ट्रल म्यानेजमेन्ट एडमिसन टेस्ट (सीम्याट) परीक्षा चैत ७ गते सञ्चालन गरेको थियो।

उक्त परीक्षापछि छनोट भएका १११ जना भने चारवटै प्रस्न पत्रको परीक्षामा सहभागी भएका थिए। सीम्याट र द्वित्तीय पत्रतर्फका विषयहरूको प्राप्ताङ्कका आधारमा प्रवेश परीक्षा सञ्चालन बोर्डको मंगलबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। उत्तीर्ण हुने अधिकृतहरूलाई प्रहरी स्टाफ कलेज महाराजगञ्जमा सम्पर्क गर्न भनिएको छ।

प्रहरीमा पहिलोपटक स्टाफ कोर्स, सत्ता र शक्तिका आडमा बढुवा हुने दिन सकिँदै

२०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भइसकेका अधिकृतहरूले पहिलो पटक स्टाफ कोर्सका लागि परीक्षा दिएका थिए। स्टाफ कलेजको प्रवेश परीक्षामा सहभागी हुनका लागि प्रहरी निरीक्षकमा भर्ना भएको १० वर्ष पूरा हुनु पर्ने प्रस्तावित विधेयकमा व्यवस्था छ। 

अब स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनु पर्नेछ। यदि कुनै सेमेस्टरमा अनुत्तीर्ण भए जुन परीक्षामा अनुत्तीर्ण भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन पाउनेछन्। प्रस्तावित विधेयक संसद्‌बाट पारित भएर कार्यन्वयन आएमा स्टाफ कलेज पास नगर्नेहरू प्रहरी नायब महानिरीक्षक (डीआईजी) बन्न पाउने छैनन्। एसपी र एसएसपीमा पनि स्टाफ कलेज गरेका र नगरेकाको लागि छुट्टै कोटा तोकिएको छ। 

स्टाफ कलेज गरेका ६० प्रतिशत र नगरेका ४० प्रतिशत डीएसपी एसपीमा बढुवा हुनेछन्। एसपीबाट एसएसपीमा बढुवा हुँदा स्टाफ कलेज नगर्नेका लागि २० प्रतिशत मात्रै कोटा हुनेछ। तर एसएसपीबाट डीआईजी बन्ने ढोका भने स्टाफ कलेज नगर्नेहरूका लागि बन्द हुनेछ।

स्टाफ कलेजको प्रवेश परीक्षा तीन पटकसम्म दिन पाउनेछन्। तीन पटकमा पनि उत्तीर्ण हुन नसक्नेहरू स्टाफ कलेज पढ्नका लागि अयोग्य हुनेछन्। आफ्नो ब्याचबाट स्टाफ कलेजको सुरुवात गर्न लागेपछि २० जना डीएसपीले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। तर सर्वोच्च अदालतले स्टाफ कलेज अध्ययन गराउने प्रहरीको तयारीमा रोक नलगाएपछि परीक्षा अगाडि बढेको हो। अहिले सर्वोच्चमा रिट दायर गर्ने केही अधिकारीहरू पनि उत्तीर्ण भएका छन्। 

तर बढुवामा कोटा तोक्ने व्यवस्था भने ऐनमा व्यवस्था भएपछि मात्रै कार्यान्वयन गर्न सर्वोच्चले आदेश दिएको छ। यही बीचमा नयाँ प्रहरी ऐन संसद्‌बाट पारित भएर कार्यान्वयनमा आएमा स्टाफ कलेजका लागि प्रहरीले ल्याएको नयाँ व्यवस्था स्वतः कार्यान्वयनमा जानेछ।

यी हुन् स्टाफ कोर्सका लागि छानिएका डीएसपीहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad