नेपाली कांग्रेसबाट उम्मेदवार भएर निर्वाचन जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखले विद्यालय शिक्षा विधेयक संघीय संसद्को हिउँदे अधिवेशनबाटै पारित गर्नुपर्नेमा जोड दिएका छन्।
कांग्रेसको शिक्षा विभागद्वारा आयोजित 'विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार' विषयक विमर्श कार्यक्रमका सहभागीहरूले विधेयक जारी हिउँदे अधिवेशनबाटै ल्याउनुपर्ने बताएका हुन्।
कांग्रेसबाट देशभरका पालिकामा जितेका मेयर/उपमेयर र पालिका अध्यक्ष तथा उपाध्यक्षसँग केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले विधेयकका विषयमा विमर्श गरेको हो।
विभागले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव पार्टीलाई दिँदै शिक्षा विधेयकमा उनीहरूको सुझाव समेट्नका लागि विमर्श गरिएको महरको भनाइ छ।
'स्थानीय प्रतिनिधिहरूको धारणा केछ, विद्यालय शिक्षा विधेयकमा के सुधार गर्नुपर्ने छ र कांग्रेसबाट विधेयकका विषयमा बोक्नुपर्ने एजेन्डा के-के हुन् भन्ने विषयमा छलफल गर्दै सुझाव संकलन गरेका छौँ,' उनले भने, 'उहाँहरू सबैले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन जसरी पनि शिक्षा विधेयक ल्याउनुपर्नेमा जोड दिनु भएको छ।'
शिक्षा प्रणाली र यसका आयाममा विश्वव्यापी परिवर्तन भइरहेका बेला आफूहरूको नीति र प्राथमिकतामा पनि रुपान्तरण आवश्यक रहेको उनले बताए।
'राष्ट्रिय आवश्यकतामुखी एवं अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो शिक्षाका लागि नीतिमा सामयिक सुधार जरुरी छ,' महरले भने।
छलफललाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए।
राम्रो शिक्षा दिन सके समाजमा जिम्मेवार, असल नागरिक उत्पादन हुने उनको भनाइ छ। शिक्षाले नै समाजलाई परिवर्तनको बाटो लैजाने सिंहको भनाइ छ।
कांग्रेसले सदनमा थन्किएर बसेको विद्यालय शिक्षा विधेयक निर्माणका लागि निरन्तर छलफल गरिरहेको छ।
विभागले पहिलो चरणमा पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारीसँग छलफल गरेको थियो। दोस्रो चरणमा सरोकारवालासँग पार्टी मुख्यालय सानेपामा छलफल गरेको थियो।
Shares

प्रतिक्रिया