पोर्चुगलले श्रम आप्रवासनसम्बन्धी सम्झौता कार्यान्वयन गर्न सक्नेतर्फ यहाँका एक उच्च अधिकारीले संकेत गरेका छन्।
डिसेम्बरको सुरुमा सरकारले रोजगारदाताहरूको छाता संगठनसँगको छलफलमा एक कर्पोरेट प्रोटोकलको प्रस्ताव गरेको थियो जसको उद्देश्य हस्ताक्षरित रोजगार सम्झौता भएका विदेशी नागरिकलाई भर्ना गर्ने कार्यलाई तीव्र बनाउनु थियो।
यही सम्झौतालाई आगामी हप्ताहरूमा कार्यान्वयन गर्न सकिने पोर्चुगलका मिनिस्टर अफ द प्रेसिडेन्सीले बताएका हुन्।
मिनिस्टर अफ द प्रेसिडेन्सी भन्नाले एक उच्च पदस्थ सरकारी अधिकारीलाई बुझाउँछ जसले प्रत्यक्ष रूपमा राष्ट्रपतिलाई रिपोर्ट गर्छ।
प्रायः कार्यकारी शाखाभित्रका प्रमुख कार्यहरू समन्वय गर्ने, प्रशासनिक मामिलाहरूको निरीक्षण गर्ने र राष्ट्रपतिको कार्यालय र यसका एजेन्डा व्यवस्थापन गर्ने जिम्मेवारी यस पद सम्हाल्ने व्यक्तिको हुन्छ।
‘यस सम्झौताको कार्यान्वयन प्रशासनिक निकायहरूद्वारा गर्न सकिने र गरिनुपर्ने भएकोले म आगामी हप्ताहरूमा यसको कार्यान्वयनमा कुनै बाधा देख्दिनँ’, मिनिस्टर अफ द प्रेसिडेन्सी एन्टोनियो लेइटाओ अमारोले भनेका छन्।
यो सम्झौता कार्यान्वयन प्रशासनिक निकायहरूद्वारा लागू गरिने र सरकार सम्झौताको हिस्सा नरहने समेत लेइटाओले बताएका छन्।
रोजगार सम्झौताको अस्तित्व, यात्रा, स्वास्थ्य बीमा, व्यावसायिक प्रशिक्षण, भाषा शिक्षण दायित्व, आवासमा पहुँच जस्ता आप्रवासन प्रतिबद्धतामा पनि रोजगारदाता संघसंस्था नै जिम्मेवार रहने पनि उनले स्पष्ट पारेका छन्।
Shares

प्रतिक्रिया