अपराध


विवाहेतर सम्बन्धको शंकापछि हत्या,  ‘हरियो साडी’ ले खोल्यो रहस्य

विवाहेतर सम्बन्धको शंकापछि हत्या,  ‘हरियो साडी’ ले खोल्यो रहस्य

सुमन सुस्केरा
चैत ११, २०८२ बुधबार १८:२७, विराटनगर

एक अर्काप्रतिको शंका र पारिवारिक कलहले कस्तो भयानक रूप लिन सक्छ भन्ने एउटा ह्दयविद्वारक उदाहरण विराटनगर महानगरपालिका वडा नम्बर १५ को घटनाले सबैलाई त्रसित बनाएको छ। 

चैत ५ गतेको मध्यरात, जब संसार निदाएको थियो। ३२ वर्षीय कोमल कुमारी साहको आफ्नै घरको ओछ्यानमा बीभत्स हत्या भयो। हत्यारा अरू कोही नभएर उनकै श्रीमान् ३५ वर्षीय रोशन साह थिए। रोशनले कोमलकै साडी र गलबन्दी प्रयोग गरी घाँटी कसेर उनको प्राण लिएको प्रहरी समक्ष स्वीकार गरेका छन्।

साहले श्रीमतीको विवाहेतर सम्बन्ध रहेको आशंकामा हत्या गरेको अनुमान गरिएको छ। श्रीमतीले अन्य व्यक्तिसँग टिकटक बनाउने तथा फोटो खिच्ने गरेको देखेपछि श्रीमतीमाथि साहले शंका गरेको बताइएको छ। यद्यपी बुधवार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी हत्याको कारण खुलाएन।

घटनाबारेमा  जानकारी दिँदै प्रहरीले यसलाई फिल्मी शैलीको हत्याको संज्ञा दिएको छ। हत्या गरेपछि अपराध लुकाउन रोशनले गरेको योजनाबद्ध प्रयास र हत्या विवरणले यस्तो देखाएको प्रहरीले जनाएको छ। 
जिल्ला प्रहरी कार्यालय मोरङका  डिएसपी लीलाराज लामिछानेका अनुसार, चैत ६ गतेको झिसमिसे बिहान, करिब १२ बजेतिर उनले कोमलको शवलाई हातखुट्टा बाँधेर तन्नामा पोको पारे। त्यसपछि उक्त शवलाई प्रदेश १–०२–००३ ह ५७०७ नम्बरको सिटी सफारीमा राखेर घरबाट करिब ४ किलोमिटर पूर्व विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिकैको एउटा कल्भर्ट मुनि फालिदिए।

 
सिसिटिभी र मानिसहरूको नजरबाट बच्न उनले अप्ठ्यारो बाटो रोजेको प्रहरीले जनाएको छ। शव कुहिएपछि पनि नगन्हाओस भनेर उनले छाला फ्याक्ट्री र फोहोर फालिने क्षेत्र रोजे। उनले यस्तो ठाउँ रोज्नुको नियतबारे विश्लेषण गर्दै प्रहरीले भनेको छ,‘शव गन्हाए पनि कसैले शङ्का नगरुन्।’
त्यसपछि आफूमाथि शङ्काको सुई नपरोस् भनेर रोशनले नाटकको अर्को अध्याय सुरु गरे। उनी कोमलको माइती पुगेर केही नभएझैँ बस्ने गर्थे। उल्टै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा ‘श्रीमती हराएको’ भन्दै खोजीका लागि निवेदन दिएको प्रहरीले जनाएको छ। 
तर, सत्य धेरै दिन लुक्न सकेन।

चैत १० गते बेलुका ६ बजेतिर स्थानीयले कल्भर्ट मुनिको नालीमा शङ्कास्पद पोको देखेपछि प्रहरीलाई खबर गरे। तत्तकाल इलाका प्रहरी कार्यलय रानीका प्रमुख कविन राईको नेतृत्वमा प्रहरी शव देखिएको स्थानमा पुगेको थियो। घटनास्थल पुगेको प्रहरीले शव निकालेर पहिचानका लागि कोमलका बुबा–आमालाई बोलाएको थियो। मृतकको शरीरमा भएको चुरा, औँठी र विशेष गरी उनले सधैँ लगाउने ‘हरियो साडी’ देखेपछि माइती पक्षले त्यो शव कोमलकै भएको पुष्टि गरेको डिएसपी लामिछानेले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रोशन साहले श्रीमतिको हत्या गरेको स्वीकार्न मानेका थिएनन्। राती ७ः०० बजे पक्राउ परेका साहले प्रहरीको अनेक प्रयत्नपछि भोलिपल्ट बिहान करिब २ः०० बजेतिर मात्र आफ्नै घरमा श्रीमतीको हत्या गरेको र दाजु दिपेन्द्र शाहको सहयोगमा शव व्यवस्थापन गरेको स्वीकार गरे। रोशन र उनका दाइ दिपेन्द्रलाई जिल्ला प्रहरी कार्यालय मोरङले बुधवार नै जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको छ। इलाका प्रहरी कार्यलय रानीले थप अनुसन्धान गरिरहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad