बालबालिकाले लगाएको सुन चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
भक्तपुरको भक्तपुर नगरपालिका–८ का बालबालिकालाई चकलेट तथा खानेकुरा दिएर वैशाख २७ गते साँझ साढे ६ बजेतिर कानमा लगाएको सुन चोरी भएको प्रहरीमा उजुरी परेको थियो। त्यसका आधारमा अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर, भक्तपुरको टोलीले काभ्रेको बेथानचोक गाउँपालिका–३, ढुंखर्कका २४ वर्षीय लक्ष्मण भनिने सुनिल नगरकोटीलाई पक्राउ गरेको हो।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बालबालिकाको कानमा लगाएको सुन चोरी गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। यसरी चोरी गरेको सुन काभ्रेकै बनेपामा बस्ने ३० वर्षीय सभंकर माझीलाई बेच्ने गरेको सुनाएका थिए।
उनको बयानका आधारमा माझीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जगेबुले जानकारी दिए।
उनीहरूबाट १५ लाल बराबरको सुन पनि बरामद गरिएको जगेबुले बताए। दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।
Shares

प्रतिक्रिया