अपराध


वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना पक्राउ

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना पक्राउ

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १९:११, काठमाडौँ

वीरगञ्जमा सशस्त्र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, वीरगञ्ज महानगरपालिका-१० घडिअर्वाका ४६ वर्षीय प्रमोदकुमार कानू, वीरगञ्ज-१ छप्कैयाका ३८ वर्षीय दीपराज सहनी मलाह, वीरगञ्ज-१० का २० वर्षीय कुन्जन सर्राफ, भारतको बिहारस्थित रक्सौलका ४० वर्षीय प्रभु महतो, भारतकै भागलपुर पोडियाका ३५ वर्षीय पृतमकुमार चौधरी र पर्साको विन्दवासिनी गाउँपालिका-५ का ५५ वर्षीय श्रीचन्द्रप्रसाद साहलाई पक्राउ गरिएको छ। 

उनीहरूलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले बताए। उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको डीएसपी बस्नेतले जानकारी दिए। 

गत माघ २६ गते वीरगञ्ज-१० आदर्शनगरस्थित रुन्चे मदन भनिने मदन गुप्ताको गोदाममा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको थियो। संयुक्त टोलीले छापा हान्दा उनीहरूले ढुंगामुडा गरेका थिए। 

ढुंगामुडाबाट सशस्त्र प्रहरी घाइते भएका थिए। त्यस्तै, सशस्त्र प्रहरीको गाडी पनि तोडफोड गरिएको थियो। 

सशस्त्र प्रहरीमाथि आक्रमणमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। यसमा संलग्न थप व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad