अपराध


एमबीबीएसका विद्यार्थीले रिसइबी साधेर वृद्धको हत्या गरेको प्रहरीको आकलन

एमबीबीएसका विद्यार्थीले रिसइबी साधेर वृद्धको हत्या गरेको प्रहरीको आकलन

सुमन सुस्केरा
माघ २३, २०८२ शुक्रबार १३:३९, विराटनगर

एमबीबीएसका विद्यार्थीले रिसइबी साधेर झापामा वृद्धको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २६ वर्षीय दीपेशकुमार सिंहले भद्रपुर नगरपालिका-१०, त्रिवेणी टोलका ६६ वर्षीय खेमराज ढकालको हत्या गरेका हुन्। ​बिहीबार साँझ आफ्नै घरमा परिवारसँग बसिरहेका खेमराजको घाँटीमा सिंहले केमिकल भरिएको सिरिन्जले प्रहार गरेको प्रहरीको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले जानकारी दिए।

सिरिन्ज आक्रमणबाट गम्भीर घाइते भएका खेमराजलाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुग्ने बितिक्कै चिकित्सकले मृत घोषणा गरेका थिए। आरोपी दीपेशलाई प्रहरीले घटना लगत्तै नियन्त्रणमा लिएको थियो। 

​प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार योजनाबद्ध रुपमा हत्या गरेको देखिएको छ। एमबीबीएसका विद्यार्थी दीपेशले बिहीबार बिहानै अवकाश प्राप्त शिक्षक खोज्नुपर्ने बहाना बनाएर खेमराजको घर पहिचान गरेका थिए। 

खेमराजकी छोरी र दीपेश एउटै कलेजका विद्यार्थी रहेको प्रहरीको भनाइ छ। केही महिना अघि दीपेशले खेमराजकी छोरीको फोटो ‘एडिट’ गरेर बदनाम गर्न खोजेका थिए। 

त्यसलाई लिएर उनीविरुद्ध धरान प्रहरीमा उजुरी परेको थियो। त्यसैलाई लिएर दीपेशले रिसइबी साधेको प्रहरीको भनाइ छ। मेडिकल ज्ञानको दुरुपयोग गर्दै सिरिन्जलाई हतियार बनाएर हत्या गरेको हुनसक्ने देखिएको झापाका डीएसपी खड्काले बताए। 

​जिल्ला प्रहरी कार्यालय, झापाले सिरिन्जमा प्रयोग गरिएको तरल पदार्थ परीक्षणका लागि प्रयोगशाला पठाएको छ। दीपेशमाथि ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान सुरु गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad